‘कामीको छोरी’ भन्दै भाडामा कोठा नदिने घरबेटीविरुद्ध जाहेरी दर्ता

जातीय विभेद गर्दै कोठा भाडामा दिन नमान्ने एक घरबेटीविरुद्ध प्रहरीमा उजुरी परेको छ । इमेज टेलिभिजनकी उकाली–ओराली कार्यक्रमकी प्रस्तोता रुपा सुनारले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उजुरी दर्ता गरेकी हुन् । 

उजुरी दर्ताका लागि आज मध्याह्न १२ बजे नै उनी प्रहरी कार्यालय पुगेकी थिइन् । तर, प्रहरीले सुरुमा उजुरी दर्ता गर्न मानेको थिएन । अन्ततः ४ः५० बजे जाहेरी दर्ता गर्न सफल भएको रुपाले बताएकी छिन् । 

रुपाले केही समयअघि बबरमहलमा सरस्वती प्रधानको घरमा कोठा पक्का गरेकी थिइन् । कोठा भाडामा दिने पक्का भएपछि घरबेटीले जात सोधेकी थिइन् । उनले सुनार भनेपछि कोठा भाडामा दिन अस्वीकार गरेको रुपाको भनाइ छ । 

घरबेटीले ‘घरमा आमा हुनुहुन्छ, तिमीहरूलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै फर्काइदिएको रुपाको भनाइ छ । रुपाले उनले बोलेको अडियोसहित प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् । 

दिनभर प्रहरीले अडियो पुष्टि गर्ने आधार के हो ? भन्दै जाहेरी दर्ता गर्न अस्वीकार गर्दै आएको थियो । अन्ततः जाहेरी दर्ता गराउन सफल भएको रुपाको भनाइ छ । 

कोठा खोज्न जाने क्रममा एकजना साथीले भनेपछि उनी प्रधानको घरमा पुगेकी थिइन् । कोठा दिन तयार भइसकेपछि प्रधानले थरबारे सोधेकी थिइन् । त्यही क्रममा उनले आफू कामीको छोरी हुँ भनेपछि प्रधान केही बोलिनन् ।
 
फोन नम्बर मागिन् र केहीबेरमा फोन गरेर कोठा नदिने कुरा सुनाइन् । उक्त कुरा सुनाएपछि राति नै रुपाले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । 



भिडियो सार्वजनिक गरेसँगै उक्त घटनाले चर्चा पाएको थियो । नेपालको कानुनले जातीय विभेद गर्न प्रतिबन्ध गरेको छ । 

जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०८६ ले जातीय विभेद गरेको खण्डमा तीन महिनादेखि पाँच वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । 



  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १८:२९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया