कोरोना असर : रेकर्डिङ स्टुडियोमा पुगेनन् सर्जक, हरायो तीज गीतको रौनक
कलाकार भन्छन् : जीवन रहे योजनाहरु अर्को वर्ष बनाउँला

२ वर्ष अघि यो समय निक्कै व्यस्त रहन्थे स्टुडियो । रेकडिस्टहरुलाई खाना खाने फुर्सद हुँदैनथ्यो । गायक–गायिकाहरुको व्यस्तता उस्तै । म्युजिक भिडियो छायांकन स्थलमा देखिन्थे रातै सारीमा महिलाहरु । अवस्था सामान्य भएको भए यो मौसम हुने थियो तीज गीत रेकर्डिङ र म्युजिक भिडियो निर्माणको । 

तर, यतिबेला समयले अर्कै गति समातेको छ । मानिसहरु आँखामा मृत्युको भय बोकेर बाँचिरहेका छन् । यो समय कलाकारहरुको ध्यान पनि जीवन रक्षामा केन्द्रित भएको छ । उनीहरु तीज गीतको चटारोमा छैनन् । उनीहरुलाई आफूसँगै आफूलाई सेलिब्रेटी बनाउने वर्गको जीवन रक्षाका लागि केही गर्नुछ । 

अधिकांश सेलिब्रेटी भन्छन्, ‘हामीलाई सेलिब्रेटी बनाउने वर्गलाई जोगाउन सकियो भने तीज अर्को वर्ष पनि आउँछ । अर्को साल मज्जाका गीत निकालौँला । म्युजिक भिडियो निर्माण गरौँला ।’

तीजको सिजनमा गायिका राधिका हमालको व्यस्तता निक्कै बढेर जान्थ्यो । उनको यो व्यस्तता अघिल्लो वर्षदेखि नै पातलियो । विश्व कोरोना महामारीको चपेटामा प¥यो । नेपालमा पनि यसको असर देखियो । देशव्यापी लकडाउन गरियो । राधिकाले तीज गीतका लागि बनाएका योजना थन्किए । 

उनलाई लागेको थियो अर्को वर्ष त अवस्था सहज हुन्छ । तर, यो वर्ष पनि वैशाख नलाग्दै सुरु भएको निषेधाज्ञा अझै खुलेको छैन । खुलिहाले पनि अवस्था जोखिमपूर्ण नै छ । त्यसैले यो तीजका लागि राधिकाले उति साह्रो योजना बनाएकी छैनन् । २०७६ सालको तीजको अवसरमा तीजका १३ भाकामा स्वर भरेकी हमालको आफ्नै गीत बजारमा ल्याउने योजना थियो । भन्छिन्, ‘जीवन रहे योजनाहरु अर्को वर्ष बनाउँला । अहिले स्थिति सहज छैन ।’ 

‘अहिले हरेक काम ठप्प हुँदा संगीत क्षेत्र पनि धराशयी भएको छ । आफू बाँच्ने र आफ्नालाई बचाउनु नै ठूलो भएको छ । त्यसैले यो वर्ष गीतमा लगानी गर्न भनेर छुट्याएको रकम सेवाका लागि छुट्याएकी छु । तीजसम्म स्थिति राम्रो भएछ भने पोहोरकै गीतले काम चलाउनुपर्छ’, हमाल भन्छिन् । 



तीज गीतका साथै लेखन र म्युजिक भिडियोमा पनि सक्रिय कलाकार हुन् पशुपति शर्मा । समय अनुकूल भएको भए उनी यतिबेला कि तीज गीतका भाका बुन्दै हुन्थे, कि टुक्का जोड्दै हुन्थे । धेरैजसो समय त स्टुडियोमा नै गीतमा लय हाल्दै हुन्थे । तर, कोरोना कहरका कारण जिन्दगी नै सहज भएन । गीत संगीतका सपना, योजना झन् कसरी सहज हुन्थे । त्यसैले पशुपतिले पनि यो साल त्यति धेरै योजना बनाएका छैनन् । 

गायक तथा मोडल दुर्गेश थापाले भने तीजका केही गीतको योजना बनाएर काम गरिरहेका छन् । उनले ‘बीच्च बीच्चमा ४’ र ‘बीच्च बीच्चमा ५’ ल्याउने तयारी गरिरहेको बताए । तर, उनलाई पनि थाहा छैन अवस्था कहिले सामान्य बन्छ र गीत रेकर्डिङ गर्ने । कसरी म्युजिक भिडियो निर्माण गर्ने । 



उनलाई असारदेखि अवस्था सामान्य हुन्छ, निषेधाज्ञा खुल्छ भन्ने लागेको थियो । अवस्था उनले सोचेको जस्तो सहज भैसकेको छैन । यो फुर्सदको समयमा आफूले एरेन्जको काम सिकिरहेको दुर्गेशले बताए । ‘अहिले घरमा बसेर अनलाइनमा एरेन्जको काम सिकिरहेको छु’ उनले भने, ‘आफ्नो गीतमा कस्तो खालको म्युजिक सिर्जना गर्ने भनेर सिकिरहेको छु ।’ 

हरेक वर्ष जस्तै तीज गीतका थुप्रै योजना थिए गायिका जानकी तारमी मगरका पनि । तीज गीतबाटै चर्चामा आएकी मगरले यो वर्ष नाच्ने खालको गीत रेकर्ड गर्ने योजना बनाएकी थिइन् । मगरको यो योजना अघिल्लो वर्षबाटै थन्किएर बसेको छ । म्यूजिक भिडियोमा धेरै तामझाम नगरेपनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर गीत रेकर्ड गर्ने कि भन्ने उनको योजना अझै बाँकी नै छ । 

अर्की गायिका काव्य आचार्यले पनि तीजमा राम्रै संख्यामा गीत रेकर्ड गर्ने सोचेकी थिइन् । उनले तीज गीतको म्युजिक भिडियो निर्माणका लागि भनेर रकम समेत छुट्टाएकी थिइन् । तर, अब यो अवस्थामा गीत रेकर्ड नगर्ने उनले बताएकी छन् । भन्छिन्, ‘यो जोखिमपूर्ण समयमा झन जोखिम मोलेर गीत रेकर्ड गर्नु, म्युजिक भिडियो निर्माण गर्नुको खासै अर्थ छ जस्तो लाग्दैन । जीवन रहेछ भने हाम्रा रहर र योजना त फेरि पनि बनिहाल्छन् ।’

प्रत्येक वर्ष २ वटा तीज गीत रेकर्ड गराएर म्युजिक भिडियो निर्माण गर्दै आएका गीतकार हुन्– हरि बिष्ट । उनले हरेक वर्ष तीज गीतको रेकर्डिङदेखि म्युजिक भिडियो निर्माणसम्ममा करिब ६ लाख रुपैयाँ खर्च गर्थे । यो वर्ष भने उनी तीज गीत नगर्ने सोचमा छन् । बिष्टले अघिल्लो वर्ष पनि तीज गीतका लागि खर्च हुने ६ लाख रुपैयाँ बराबरको विभिन्न ठाउँमा पुगेर राहत वितरण गरेका थिए । 

बिष्ट भन्छन्– ‘यतिबेला मान्छेहरू रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको छ । कोरोनाले मात्रै होइन, असारको पहिलो दिनबाटै सुरु भएको बाढी पहिरोले धेरै मानिसलाई घरबारविहीन बनाएको छ । त्यसैले मैले यो वर्ष तीज गीतका लागि खर्च हुने रकम अप्ठ्यारोमा परेका आफ्ना श्रोता दर्शकको लागि केही गरौँ भनेर सोचिरहेको छु ।’ 

ताला झुन्डिएका छन स्टुडियोका दैलोमा 
रेकर्डिङ स्टुडियो ‘म्युजिक बैंक नेपाल’का कृष्ण पुनको पनि कथा त उही हो । अवस्था सामान्य भएको भए अहिले स्टुडियोमा गीत रेकर्डिङ गराउनेको घुइँचो हुन्थ्यो । ‘रेकर्डिङपछि मिक्सिङ र इडिटिङ सकेर गीत बजारमा पठाउने चटारो हुन्थ्यो । गीत रेकर्डिङको तयारी अलि अघिबाटै सुरु भइसकेको हुन्थ्यो । रेकर्डिङपछि पनि भिडियो सुटिङ गर्दा त समय लाग्थ्यो । लकडाउन थपिँदै जाँदा यसपटक गीत संगीतको काम पनि ठप्प हुने भयो’, पुन बताउँछन् ।

यता, बबरमहलको प्रिज्म रेकर्डिङ स्टुडियोमा यतिबेला ८० प्रतिशत तीजका गीत रेकर्ड भइरहेका हुन्थे । यो वर्ष त्यस्तो चाप छैन । स्टुडियोका सञ्चालक बिबि अनुरागी भन्छन्, ‘अघिल्लो वर्ष यतिबेला मेला, महोत्सवलाई लक्षित गरी गीत रेकर्डिङको काम सुरु भएको हुन्थ्यो । तर, यो वर्षमा मेरो हातमा आएका केही गीत पनि कुसंस्कार, विकृति र कोरोना विशेष मात्रै छन् । हातमा भएका गीत पनि गर्ने नगर्ने टुङ्गो छैन । तर, संगीत र एरेन्जको काम भने गरिरहेको छु ।’

राजकुमार बगरले अनामनगरमा सञ्चालन गर्दै आएको त्रिवेणी रेकर्डिङ स्टुडियोमा ताला झुण्डिएको छ । गीत संगीत रेकर्ड गर्ने अवस्था छैन । अवस्था सहज हुँदा उनको स्टुडियोमा मात्रै वर्षमा २२ वटासम्म तीजका गीत रेकर्ड हुन्थे । तीजको सिजनमा बगरले अघिल्लो वर्ष पनि स्टुडियो बन्द नै गरेका थिए । भन्छन्, ‘स्टुडियो खोलेर पनि के गर्नु, कोही आउँदैनन् ।’ वर्षमा २० देखि २२ वटा तीजका गीत रेकर्ड हुने उनको स्टुडियोमा यो वर्ष एउटा गीतका लागि पनि कुरा आएको छैन ।

फुर्सदमा कलाकार
एक सिजनमा तीजको म्युजिक भिडियोमा नृत्य गरेर झण्डै १० लाख कमाउँथिन्– मोडल करिश्मा ढकाल । उनको यो कमाइ अघिल्लो वर्षबाटै घट्यो । यो वर्ष पनि करिश्मा फुर्सदमा छिन् । उनलाई सहज अवस्थामा सुटिङ गर्दाको झल्कोले सताइरहेको छ । परार साल मात्रै करिब ६० वटा तीज गीतको म्युजिक भिडियोमा देखिएकी ढकाल भन्छिन्, ‘सुटिङ त एकदम धेरै मिस हुँदोरहेछ । यतिबेला हामी एकदमै व्यस्त भइन्थ्यो । घर बस्ने समय हुँदैन थियो । दिनमा ३÷४ वटा गीतको सुटिङ हुन्थ्यो ।’

निर्देशक शंकर बिसी पनि यतिबेला रातै सारीमा नाच्दै गरेका दिदीबहिनी सम्झिरहेका छन् । तीज गीतका अधिकांश म्युजिक भिडियो निर्देशनमा देखिने शंकर कयौँ गीतमा आफैं नाच्थे । एक वर्षमा कम्तीमा पनि ६० वटा म्युजिक भिडियोको काम गर्ने शंकरले परार मात्रै ८० गीतको म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरेका थिए । 

डेढ महिनाको अवधिमा शंकरको झण्डै १५/१६ लाख कमाइ हुन्थ्यो । करिश्मालाई जस्तै उनलाई पनि सुटिङको झझल्कोले सताएको छ । भन्छन्, ‘माहोल सामान्य भएको भए यतिबेला म रातै सारी लाएका ५०÷६० जना डान्सरसँग नाच्दै हुने थिएँ ।’ अवस्था सामान्य नहुँदा पनि केही कलाकारहरूले कुरा भने गरिरहेको उनको भनाइ छ । 

कोरियोग्राफर पवित्रा आचार्यलाई अहिलेको समयमा भ्याइनभ्याइ हुन्थ्यो । तर, यो वर्ष सुख्खा छ । उनलाई आशा थियो, असार लागेपछि निषेधाज्ञा खुल्नेछ । पहिलाको जस्तो रौनक नभएपनि केही गीतका म्युजिक भिडियोमा काम गर्न पाइने छ । केही गीतका भिडियोका लागि कोरियोग्राफी गर्दै पठाउँदै गरेकी पवित्रा पुनः निषेधाज्ञा थपिएपछि निराश छिन् । 

  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार ११:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया