के हो पोष्ट कोभिड ? लक्षण देखिएमा यसरी गरौँ समाधान

कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुको संख्या बिस्तारै ओरालो लाग्दै गर्दा पोष्ट कोभिडका बिरामीहरु भने बिस्तारै बढ्न थालेका छन् । कोरोना भाइरसको पहिलो लहरमा भन्दा दोस्रो लहरको कोभिडका संक्रमित बढी देखिए । दोस्रो लहरको कोभिडको लक्षण पहिलो भन्दा घातक पनि देखियो । मृत्यु हुने तथा गम्भीर हुने बिरामीको संख्या पनि बढी देखियो ।

हाल कोभिडका बिरामीको संख्या घट्दै गए पनि अस्पतालहरुमा उस्तै उस्तै लक्षण बोकेर आउने बिरामीको संख्या बढेको चिकित्सकहरु बताउँछन् । पोष्ट कोभिड अर्थात ‘पोष्ट एक्युट कोभिड–१९ सिन्ड्रोम’को लक्षण बिरामी अनुसार फरकफरक हुन्छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डाक्टर शेर बहादुर पुनका अनुसार पोष्ट कोभिडको असर कोरोना भाइरसको संक्रमणले निकै गाह्रो बनाएको आइसियू अथवा भेन्टिलेटरमा नै पुगेका बिरामीलाई देखिने सम्भावना बढी हुन्छ । 

पुनले भने ‘जो बिरामी कोभिडबाट अत्यन्तै सिकिस्त भएका थिए, जसलाई श्वासप्रश्वास कै समस्या भएको थियो अथवा घरमा नै बसेर कोभिड भनेर एकिन नभएको तथा सन्चो भएका बिरामीलाई पोष्ट कोभिडको लक्षण देखिन्छ ।’ उनले थपे, ‘पोष्ट कोभिडका बिरामीलाई एकै किसिमको लक्षण देखिन्छ भन्ने छैन ।’

अस्पतालमा पोष्ट कोभिडको जस्तै लक्षण लिएर आउने बिरामी बिस्तारै बढ्न थालेको पनि उनी बताउँछन् । पुन भन्छन्, ‘पोष्ट कोभिड सरुवा अथवा कोभिड जस्तो होइन । यसमा कोभिडको जस्तै लक्षण देखा पर्छन् तर यो कोभिड जसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भने होइन ।’ 

पुनका अनुसार पहिलो लहरको कोरोना संक्रमण पश्चात पनि अस्पतालमा पोष्ट कोभिडका बिरामी आएका थिए । भर्ना भएर डिस्चार्ज भइसकेका बिरामी फेरि चारदेखि पाँच हप्ता भित्र अन्य किसिमका रोगको लक्षण बोकेर अस्पताल आएका थिए । डा. पुनले हिजो आज पोष्ट कोभिडका लक्षण तथा समस्या लिएर आउने एक दर्जन जति व्यक्तिहरुसँग कुराकानी गरेका थिए । जसले विभिन्न किसिमका रोगका लक्षणहरु बोकेर आएका थिए । 



उनका अनुसार विदेशमा कोभिड केयर सेन्टर भनेर खोलेको पाइन्छ । पोष्ट कोभिडका बिरामीले कोसँग के परामर्श लिने भन्ने कुरा अन्योलमा रहेकाले पनि मानिसहरु अतालिने गरेको डा. पुनको भनाइ रहेको छ । 

नेचर जर्नलमा प्रकाशित एक लेखअनुसार अमेरिकामा लगभग ३२ प्रतिशत मानिसमा पोष्ट कोभिडको लक्षण देखिएको थियो । यस्तै अन्य देशहरुमा पनि पोष्ट कोभिडका बिरामीहरु देखिएको पाइन्छ । यस्तो अवस्थामा नेपालमा पनि पहिलो लहरदेखि नै यस्ता बिरामीको संख्या रहेको बताउँछन् डाक्टर पुन । 



कस्ता लक्षणहरु देखिन्छन् त पोष्ट कोभिडका बिरामीमा ?
पोष्ट कोभिडका बिरामीमा अत्यधिक मात्रामा थकान महसुस हुने, मांशपेशी कमजोर हुने, जोर्नी दुख्ने, जिउ तातो भएको महसुस हुने, हल्का खोकी लाग्नु, छाती दुख्ने, मुटुको धड्कन बढ्नु, झस्किनु, डिप्रेसन भएको जस्तो हुनु, टाउको दुख्नु, कान बजेको जस्तो अथवा कृत्रिम आवाज सुनिने, पेट दुख्ने, कपाल झर्ने, मृगौलामा समस्या देखिने जस्ता समस्याहरु देखिन सक्छन् ।

कोभिड–१९ का बिरामीलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले फोक्सोको समस्या पनि देखिन सक्ने डाक्टर पुन बताउँछन् । पुन भन्छन्, ‘कोरोना भाइरसको असर शरीरको कुनै एउटा अंगमा मात्र पर्छ भन्ने हुँदैन । जुनसुकै अंगमा पनि पोष्ट कोभिडको लक्षण देखा पर्न सक्छ ।’

डाक्टर पुनका अनुसार पोष्ट कोभिडका बिरामीलाई अत्याधिक मात्रामा परामर्शको जरुरी पर्दछ । बिरामीमा देखिने लक्षण, निको हुनका लागि लाग्ने समयका विषयमा मानिसलाई बुझाउन सक्नुपर्छ । कुनै रोगको लक्षण देखा परेर अस्पताल आएका व्यक्तिमा चेक गर्दा रिपोर्ट नर्मल आउने कारणले पनि मानिसमा अन्योलता बढेको उनी बताउँछन् । 

कति समयमा निको हुन्छ त पोष्ट कोभिड?
जनस्वास्थ्यविद् बाबुराम मरासिनी भन्छन्, ‘पोष्ट कोभिडको लक्षण ५ देखि ६ महिनाभित्र कम हुने तथा हराएर जाने गर्छ ।’ उनी भन्छन्, ‘आत्तिनु पर्दैन । कोरोना संक्रमण भएको केहीलाई मात्रै यो समस्या देखिने हो । त्यसमा पनि अलि सिकिस्त भएर निको भएका बिरामीलाई यो लक्षणहरु देखिने हो ।’ 

मरासिनीका अनुसार पोष्ट कोभिडको लक्षण ५ देखि ६ महिना भित्र आफै मथ्थर हुँदै जान्छ । तर, कोही कसैमा यस्ता समस्या आएमा अस्पताल पुग्न तथा चिकित्सकको परामर्श लिन उनको सुझाव छ । पोष्ट कोभिडले शरीरको जुनसुकै अंगमा पनि समस्या देखिने तथा मानसिक समस्या पनि उत्पन्न हुनसक्ने भएकाले सजग रहन उनले आग्रह गरे । 

लामो समयसम्म अक्सिजनको कमीका कारण तथा अस्पतालमा कोरोनाले सिकिस्त बनाएका बिरामीलाई पोष्ट कोभिडको समस्या देखिने मरासिनी बताउँछन् । उनी भन्छन्, ‘पोष्ट कोभिड कोभिड जस्तो सरुवा रोग होइन । यो रोग त हो तर दीर्घकालीन समयसम्म दुःख दिने भन्ने खालको समस्या हालसम्म देखा परेको छैन । र, यो रोग एकदेखि अर्को व्यक्तिमा सर्दैन ।’

  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १५:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया