कोरोना कहरबीच मुगलान जाने बढे

भारतमा कोरोना संक्रमण कम हुँदै गएपछि एक महिना अगाडि नेपाल फर्किएकाहरू पुनः मुगलान जान थालेका छन् । स्वदेशमा बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल हुन थालेपछि बालबच्चा बोकेर पुनः मुगलान पलायन हुन बाध्य भएका हुन् ।

‘भारतमा कोरोना महामारी फैलिएपछि एक महिना पहिला घर आएको थिएँ’, अछाम घर भएका कविन्द्र साउदले भने, ‘आफ्नो देशमा रोजगारी छैन, आय-आर्जन गर्ने कुनै पनि बाटो छैन । पेट पाल्न र बालबच्चा पाल्नकै लागि भए पनि फेरि भारत जान लागेको हुँ ।’

यो महामारीमा ज्यानको जोखिम मोलेर भारत पलायन हुने उनी एक्ला होइनन् । कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाका भएर दैनिक २ सयदेखि ३ सयको संख्यामा नेपालीहरू रोजगारीका लागि भारत जाने गरेका छन् । कैलाली भजनीका पवन विक पनि आफ्नो पाँच जनाको परिवारसहित भारतको जयपुर जान नाकामा पुगेका थिए । घरमा खान लाउनकै समस्या भएपछि उनी पनि कोरोना कहरकै बीच भारत जान लागेका हुन् ।

‘यहाँ कमाउने कुनै बाटो छैन, इन्डियामा केही न केही काम गरेर बालबच्चा पालिहालौँला’, विकले भने, ‘यहाँ बसे रोगले भन्दा पहिला भोकले मरिने हो ।’ भारतमा कोरोना बढेर स्थिति भयावह भएपछि ज्यान जोगाउन स्वदेश फर्किएका नेपालीहरू अहिले धमाधम भारत जान थालेका छन् । स्वदेशमा बिहान बेलुकाको छाक टार्न समेत मुस्किल हुन थालेपछि उनीहरू पुनः रोजगारीकै लागि भारत जान थालेका हुन् ।

नेपालमा निषेधाज्ञा पूर्ण रूपमा नखुले पनि महँगो भाडा तिरर सीमा नाकासम्म पुग्छन् । जेठ महिनामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट १३ हजार ११८, गड्डाचौकीबाट ३ हजार ७६३ र बैतडीको जुलाघाट नाकाबाट २६७ गरी १७ हजार १४८ जना नेपालीहरू भारत पलायन भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट ठूलो संख्यामा नेपालीहरू भारत जाने गरेका बताए ।

पछिल्लो दुई साताको तथ्यांक हेर्ने हो भने भारतबाट भित्रिने नेपालीहरूको तुलनामा नेपालबाट भारत जानेको संख्या बढेको छ । उनले भने, ‘कञ्चनपुरको दक्षिणी सीमानाका गौरीफन्टाबाट ठूलो संख्यामा नेपालीहरू भित्रिरहेका छन् ।



भारत जानेको संख्या पनि उच्च छ ।’ त्यस्तै एक महिनामा भारतबाट २२ हजारभन्दा बढी नेपालीहरू भित्रिएका छन् । जेठ महिनामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट १७ हजार ८७०, गड्डाचौकीबाट ३ हजार ७४७, बैतडीको जुलाघाट नाकाबाट ३९७ र दार्चुलाको पुलघाट नाकाबाट ३१७ गरी २२ हजार ३३१ जना नेपालीहरू भारतबाट भित्रिएका छन् ।

गौरीफन्टा नाकामा राखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउदले गौरीफन्टा नाकाबाट जेठ महिनामा १७ हजार ८७० नेपाली भित्रिए पनि ती मध्ये ५ हजार २८४ अर्थात् ३० प्रतिशतको मात्र कोरोना परीक्षण हुन सकेको बताए ।



नाकामा भारतबाट भित्रिने सबैको परीक्षण हुन नसक्दा र आइसोलेसनको व्यवस्था नहुँदा कोरोना गाउँगाउँ पुगेको छ भने, डेढ महिना लामो निषेधाज्ञापछि पनि कोरोना नियन्त्रण हुन सकेको छैन । त्यस्तै प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ल्याएको कोरोना लक्षित युवा स्वरोजगार कार्यक्रम प्रभावहीन हुँदा महामारीको जोखिमकै बीच नेपालीहरू भारत पलायन हुन बाध्य छन् ।

एक महिनादेखि सीमामै निःशुल्क खाना

दोस्रो चरणको कोरोना महामारीमा मानवीय क्षति धेरै भएको छ । सुदूरपश्चिममा ५ सय बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सीमा नाकामा पहिलो चरणको कोरोना महामारीको जस्तो भिड नलागे पनि भारतबाट आउनेहरू नियमित आइनै रहे । यस्तै गरी पछिल्लो समय भारत जानेहरू समेत बढेका छन् ।

वैशाख १६ गतेदेखि देशव्यापी भएको निषेधाज्ञाले गर्दा धेरै मानिस घरभन्दा बाहिर निस्कन छोडे । होटल व्यवसाय बन्द भए भारतबाट आउनेहरू भोकै गन्तव्यमा पुग्ने अवस्था आइपुगेपछि धनगढीका युवाहरूले सीमामा नै खानाको मेस सञ्चालन गरेका थिए । विभिन्न व्यक्तिहरू तथा संघ संस्थाको सहयोगमा उनीहरूले निरन्तर निःशुल्क खाना खुवाइरहेका छन् । रोयल कोल्याबोरेटिभ नामक युवाको समूहले खाना खुवाइरहेको हो ।

कोल्यावोरेटिभका अध्यक्ष गजेन्द्र शाहीले सीमामा पुग्नेहरूलाई खानादेखि पानीसम्म निःशुल्क खुवाइरहेको बताए । एक महिनामा ७ हजारभन्दा बढीलाई निःशुल्क खाना खुवाइएको उनले बताए । ‘एक महिनादेखि १७/१८ जनाको युवा टिम घरभन्दा बाहिर बसेर निःशुल्क खाना खुवाइरहेका छौँ’, उनले भने, ‘निषेधाज्ञामा सबैतिर बन्द भएपछि विभिन्न संघ संस्थाको सहकार्यमा खाना खुवाइको हो ।’ यसले गर्दा भारतमा आउने र जानेहरू भोकै बस्नु नपरेको उनले बताए ।

  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १७:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया