निरन्तरको वर्षासहितको पहिरोले मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ । चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने स्थानमा मर्स्याङ्दी नदीमा पहिरो खस्दा बहाव पूर्णरुपमा थुनिएको छ ।
पहिरो खसेर मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुलसमेत जोखिममा परेको छ । निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको सतह थप बढ्नसक्ने भएकाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा माटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । माथिबाट झरेको पहिरो, ढुङ्गा माटो र काठ दाउराले मर्स्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ ।
नदी थुनिए सँगै चामेको पारिपट्टिको भाग डुबानमा परेको छ । सिङ्गो चामे बजार जोखिममा परेको प्रशासनले जनाएको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिज समेत कटान गरेको छ ।
थुनिएको नदी नेपाली सेनामार्फत बम विस्फोट गराएर खुलाउने तयारी गरिएपनि पानी निरन्तर परिरहेकाले समस्या उत्पन्न भएको प्रशासनले जनाएको छ । प्रशासनले चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।