महाकाली नदीकाे सतह बढ्याे : आसपासका वस्ती डुबानमा

महाकाली नदीमा बढेको पानीको सतहले खतरा संकेत गरेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा साता दिनदेखि निरन्तर वर्षा भइरहेको छ । 

भारतसँगको सीमा क्षेत्रमा दार्चुला हुँदै कञ्चनपुर भएर बग्ने नदीमा पानीको बहाव बढ्दा आसपासका बस्ती जोखिममा परेका छन् । दार्चुलाको महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई सचेतना अपनाउन भनिएको छ । 

शुक्रबार राति दार्चुलामा नदीको सतह बढ्दा कञ्चनपुरको नदी आसपासको बस्ती जोखिममा परेको छ । महाकाली नदीमा पानीको सतह बढेसँगै आसपासका खोलानाला र निर्माणाधीन चार लेनको पक्की पुलका संरचनामा क्षति पुगेको छ । महाकाली नदीमा पानीको बहाव बढेसँगै भीमदत्त नगरपालिका-१२ ऐरीस्थित नदी थुनिएर १०/१२ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

उक्त नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी गाउँ पसेको हो । नदीको बाढीले निर्माणाधीन पुल नजिकका बाँधमा समेत कटान सुरु गरेको छ । अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ ।
 
भीमदत्त-१३ का वडाध्यक्ष लालबहादुर शाहीले सडक भत्किएपछि आवातजावत बन्द गरिएको जनाए । गड्डाचौकीदेखि महाकाली नदीको पुलसम्म ६ लेनको पक्की सडक निर्माणाधीन छ । सडक भत्किएपछि  बस्तीमा बाढी आउने त्रास बढेको छ । महाकालीमा पानीको बहाव बढेपछि नदी किनारका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ । बाटोसम्म पानी भरिएपछि स्थानीयको आवतजावत रोकिएको छ ।

भीमदत्त-९ मा पर्ने खल्लासहित टुँडीखेल र मुसेट्टी महाकाली नदी किनारमा छन् । तीन बस्तीमध्ये मुसेट्टी र खल्लामा महाकाली नदीको बाढी बस्तीमा पस्ने खतरा हुन्छ ।

यसैबीच महाकाली नदीमा पानी प्रवाह बढेपछि दोधारा चाँदनी नगरपालिकामा पनि जोखिम बढेको छ । नदीको प्रवाहले जोगबुडा नदी थुनिएर शान्ति टोल डुबानमा परेको छ । यसै गरी कुतियाकवरमा पनि बाढी पस्ने चिन्ता बढेको छ ।



सन्धिमै समस्या हुँदा हरेक बर्ष डुबान

 वि.सं. २०५२ माघ २९ मा भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर र शारदा ब्यारेजबाट सिँचाइका लागि हिउँदमा ८०० र बर्खायाममा दुई हजार ३५० क्युसेक पानी पाउनुपर्ने हो  । तर अहिले शारदा ब्यारेजबाट मुस्किलले हिउँदमा १५० र वर्षायाममा ६५० क्युसेक मात्र पाइन्छ ।



टनकपुर ब्यारेजबाट पानी ल्याउन नेपाल र भारत दुवैले नहरको संरचना नै बनाएका छैनन्  । जसले गर्दा सन्धि भएको झन्डै २६ वर्ष पुग्न लाग्दा पनि नेपालले सम्झौताअनुसार पानी पाउन सकेको छैन । उल्टै वर्षायाममा करोडौं जनधनको क्षति हुने गरेको छ ।

हिउँदमा वनबासा पुलका सबै ढोका बन्द गरेर शारदा ब्यारेजबाट पूरै पानी लैजाँदा महाकाली नदी सुक्खा हुन्छ । वर्षायाममा भने सबै ढोका खोलिदिन्छ  । जसले गर्दा महाकाली नदीले कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडा नम्बर ११, १२ र १३ तथा महाकाली नगरपालिका वडा नम्बर ९ र १० का बस्तीहरू डुबानमा पर्छन् ।

महाकाली नगरपालिका-१ का अध्यक्ष अर्जुनदत्त भट्ट भन्छन्, ‘हिउँदमा पुरै पानी लैजान्छन् । वर्षामा धेरै पानी आउँदा महाकालीका ढोका खोलिदिन्छन्, हामी डुब्छौँ ।’ 

विपद् पूर्व तयारी पर्याप्त नहुँदा सुदूरपश्चिम प्रदेशमा बर्सेनि विपद्बाट करोडौं रुपैयाँ बराबरको क्षति हुने गरेको छ । 
 

  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १९:५२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया