को हुन् इरानको राष्ट्रपतिमा निर्वाचित इब्राहिम रइसी ?

इरानका प्रधानन्यायाधीश इब्राहिम रइसी राष्ट्रपति पदमा निर्वाचित भएका छन् । कट्टरपन्थी विचारधाराका रइसीले हसर रुवानीको स्थानमा अब इरानको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न लागेका हुन् । शनिबार आएको मत परिणाम अनुसार रइसी नयाँ राष्ट्रपतिका लागि निर्वाचित भएका हुन् । 

इरानका वर्तमान प्रधानन्यायाधीश रहेका ६० वर्षीय रइसीले आगामी अगस्टमा मात्रै राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् । अहिलेका राष्ट्रपति रुहानीको कार्यकाल अगस्टसम्म रहेकाले राष्ट्रपतिमा निर्वाचित भएपनि रइसीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका छैनन् । 

इरानमा सबैभन्दा उच्च पद अर्थात सुप्रिम लिडर अयोतुल्लाह अली खामेनीको उत्तराधिकारीको रुपमा रइसीले सत्तारोहण गर्न लागेका छन् । ८२ वर्षीय खामेनीपछिको सुप्रिम लिडर रइसी बन्नसक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले लेखेका छन् । 

रइसी सैय्यद समुदायका हुन् । उनी पैगम्बर मोहम्मदका वंशजका रुपमा रहेका छन् । उत्तरपूर्वी इरानको मसादमा जन्मिएका रइसीले १५ वर्षको उमेरदेखि नै खामेनीसहितको टोलीसँग शिक्षा लिन सुरु गरेका थिए । 

सिया मुसलमानहरुको धार्मिक आस्थाको सहर मसादमा जन्मिएका रइसीले मदरसामा आधारभूत धार्मिक शिक्षा लिएका थिए । राष्ट्रपतीय निर्वाचनका दौरान उनको औपचारिक शिक्षाको विषयमा विभिन्न प्रश्नहरु पनि आएका थिए । 

तर, रइसीले आफूले मदरसा शिक्षाका अतिरिक्त कानुनमा विद्यावारिधि गरेको बताएका थिए । उनलाई विपक्षीहरुले चुनावका दौरान कक्षा ६ सम्म मात्रै औपचारिक शिक्षा लिएको व्यक्ति भएको प्रचार गराएका थिए । 



सन् १९७९ को क्रान्तिभन्दा केही वर्षअघि रइसी कोमको एक शक्तिशाली मदरसामा प्रवेश गरेका थिए । जसमार्फत इरानमा गणतन्त्र ल्याउने क्रान्तिमा होमिएका रइसीले मोहम्मद रेजा शाह पल्लवीको शासन अन्त्य गर्दै सुप्रिम लिडर अयोतुल्लाह रुहोल्लाह खोमेइनीलाई स्थापित गर्नका लागि योगदान गरेका थिए । 

क्रान्तिपछि रइसीले दक्षिण-पश्चिमी इरानको मस्जिद सोलेमनको कार्यालयमा अभियोजकको रुपमा काम सुरु गरेका थिए । त्यसको ६ वर्षसम्म रइसीले विभिन्न अदालतमा अभियोजकको रुपमा काम गरे । सन् १८८५ मा रइसी इरानको राजधानी तेहरानमा उपअभियोजकको रुपमा नियुक्ति लिएर स्थानान्तरित भए । 



चार उम्मेदवारलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका रइसीमाथि मानवअधिकार विरोधीको पनि ट्याग लगाइने गरेको छ । उनी ८ वर्षे इरान-इराक युद्धको अन्त्यपछि गठन भएको स्वघोषित मृत्यु आयोगको सदस्य रहेका थिए, जसले हजारौँ राजनीतिक कैदीहरुको बेपत्ता तथा गोप्य फाँसीको विषयमा हेरेको थियो । 

रइसी पहिलो इरानी राष्ट्रपति बन्न लागेका छन्, जो अमेरिकी प्रतिबन्धको निशानामा परिरहेका छन् । एम्नेस्टी इटरनेसनलले रइसीलाई मानवता विरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने बताउँदै आएको छ । 

सन् १९८९ मा खामेनी इरानको सुप्रिम लिडर भएसँगै रइसीको न्यायिक क्षेत्रमा उकालो यात्रा जारी रह्यो । उनी तेहरानका अभियोजक बन्दै निगरानी संस्थाको प्रमुखको रुपमा कार्यरत रहे । पछि उनी २०१४ सम्म एक दशक सह-महान्यायधिवक्ताको रुपमा कार्यरत रहे ।

त्यसअघि उनी सन् २००६ मै विशेषज्ञ सभामा दक्षिण खोरासानबाट निर्वाचित भएका थिए । विशेषज्ञ सभाले इरानमा खामेनीको निधनपछि सुप्रिम लिडरको छनोट गर्ने कार्यभार पाएको छ । रइसी अझै उक्त सभाको सदस्य रहेका छन् । 

सन् २०१४ मा रइसी इरानको महान्यायाधिवक्ता बन्न पुगे । २ वर्षसम्म उनी सोही पदमा कार्यरत रहे । मार्च २०१९ यता रइसी इरानको प्रधानन्यायाधीशको भूमिकामा रहेका छन् । रइसीका श्रीमती र २ छोरी छन् । 

रइसी सन् २०१७ मा पहिलोपटक राष्ट्रपतिको उम्मेदवार बनेका थिए । उक्त चुनावमा उनी वर्तमान राष्ट्रपति हसन रुहानीको निकटतम प्रतिद्वन्द्वी बन्न पुगेका थिए । राष्ट्रपतिको निर्वाचनमा पराजित भएका रइसीलाई सुप्रिम लिडर खामेनीले प्रधानन्यायाधीश बनाएका थिए । 

  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १५:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया