निषेधाज्ञामा पाँच हजार परिवारलाई सहुलियतको खाद्यान्न

कोरोना महामारीका कारण लागु भएको निषेधाज्ञाको अवधिमा ५ हजार १०० परिवारले सहुलियतको खाद्यान्न पाएका छन् । यस अवधिमा ५ हजार १०० परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयले जनाएको छ । 

खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडको बागमती प्रदेश प्रमुख ज्ञानु थापाले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको बुँदा नं. ५५ मा उल्लेख भए बमोजिम उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको र सो निर्णय अनुसार जेठ २१ गतेदेखि असार ४ गतेसम्म पाँच हजार एक सय परिवारलाई २० प्रतिशत सहुलियतमा खाद्यान्न बिक्रि गरेको बताए । 

हालसम्म सहुलियत दरमा १ हजार ४०५ क्विन्टल चामल, ३० क्विन्टल सिमी, २२ क्विन्टल गहुँ उपलब्ध गराइएको थापाले बताए । कम्पनीले यस अवधिमा ८७ लाख २४ हजार ३२५ रुपैयाँ रकम बराबरको खाद्यान्न बिक्रि गरेको पनि थापाले जानकारी दिए । 

कम्पनीले काठमाडौं उपत्यकाको चक्रपथ सेरोफेरो र आसपाससम्म खाद्यान्न सामग्रीको होम डेलिभरी पनि गर्दै आएको थापाले जानकारी दिए । कम्पनीले गर्ने होम डेलिभरी सेवामा भने छुट नदिइने उनले स्पष्ट पारे । 

खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले गत मंसिरदेखि चैत्रसम्म करिब २ लाख ७७ हजार क्विन्टल धान किसानसँग किनेको र सोही धानलाई कुटी चामल विभिन्न दुर्गम जिल्लामा पुर्याउनेदेखि काठमाडौंमा बिक्रि वितरण गरिएको थापाले बताए । 





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १७:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया