मकवानपुरका गाउँमा निषेधाज्ञाको पालना नहुनुमा प्रहरी नै दोषी
भन्छन्– जिल्लाको निर्देशन मान्नैपर्छ भन्ने छैन

बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको बजार क्षेत्रमा प्रहरीले सक्रियता देखाए पनि अन्य स्थानीय तहमा भने प्रहरीको सक्रियता शून्यप्रायः देखिएको छ । विभिन्न एकाइमा नेतृत्व सम्हालेका प्रहरी अधिकारीमा दायित्वबोध नभएपछि सर्वसाधारणले आलोचना गरेका छन् । जनधनको सुरक्षामा खटिएका प्रहरीहरुले ‘जागिरे मनोवृत्ति’ देखाएको भन्दै उनीहरुको आलोचना हुने गरेको हो । 

मनहरीमा चर्को गुनासो 

मकवानपुरको मनहरी गाउँपालिकामा खटिएका प्रहरीले प्रशासनले जारी गरेको निर्देशन नै नटेरेको देखिन्छ । प्रशासनले मनहरी बजार क्षेत्रका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाबारे सर्वसाधारणलाई सचेत गराउनुपर्ने दायित्व बोकेका प्रहरीले नै यसको बेवास्ता गर्दै आएका छन् । गत सातादेखि नै दिनभर मनहरी बजारका होटल लज, कपडा पसल र अन्य व्यवसाय निर्बाध रुपमा चलिरहेका थिए । 

‘स्थानीय ठाउँमा बसेपछि हामी एकदम लचक भएर कुरा गर्छौं, जिल्लाबाट जारी भएको निर्देशन सबै मान्नैपर्छ भन्ने पनि छैन,’ इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत एक प्रहरी भन्छन्, ‘हामी हाकिमसा’बले दिएको आदेश जे हो त्यही आधारमा हिँड्ने हो ।’ 

मनहरीमा विगत सात वर्षदेखि होटल सञ्चालन गरिरहेका एक होटल व्यवसायी भन्छन्, ‘हाम्रो होटलमा लकडाउन, निषेधाज्ञा केही लाग्दैन, मनहरीको पुलिसलाई रक्सी–मासु दिने नै हामी हो ।’ ती व्यवसायीका अनुसार इलाका प्रहरी कार्यालय मनहरीको टोलीले स्थानीय ट्याक्टर सञ्चालक र क्रसर व्यवसायीसँग कमिसनको ‘डिल’समेत सोही होटलबाट गर्ने दाबी गरेका छन् । 

स्थानीयबासीले भने मनहरीमा प्रहरीले कुनै पनि सक्रिय भूमिका नदेखाएको भन्दै गुनासो गरेका छन् । स्थानीयले मनहरी प्रहरीलाई ‘डमी’ प्रहरीको संज्ञा दिएका छन् । प्रहरीले निषेधाज्ञाको कार्यान्वयनमा कुनै भूमिका खेलेको देखिँदैन । प्रहरी कार्यालयअगाडि नै स्थानीय युवा विनाहेलमेट मोटरसाइकल स्टन्ड, ट्रिप्पर, ट्रकहरुमा ओभरलोड हुँदा पनि प्रहरी मौन देखिन्छ । 
 
अन्य पालिकाकामा पनि उस्तै निष्क्रियता



मनहरी क्षेत्रमा मात्रै नभई मकवानपुरका अन्य स्थानका प्रहरी पनि खासै सक्रिय रहेको देखिँदैन । बजार क्षेत्रबाहिर रहेका इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीहरुले अपराध नियन्त्रणमा भूमिका निर्वाह नगरेको चर्को जनगुनासो छ । प्रहरीले राम्ररी ड्युटी नगरेको मकवानपुरका विभिन्न स्थानबाट गुनासो आउने गरेको छ । 

केही प्रहरी चौकीमा कार्यरत प्र्रहरी कर्मचारीले स्थानीय युवाहरुसँग क्यारेमबोर्ड खेल्ने, स्थानीय मेला पर्वमा मदिरा सेवन गर्ने, स्थानीय नेताको भनसुनमा पक्राउ परेकालाई छाड्ने गरेको गुनासो बढिरहेको छ । पछिल्लो समय मकवानपुर प्रहरीको छवि धमिलिँदै गएको छ । 



अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीहरुको अधिकांश समय स्थानीयसँग बित्ने गर्छ । त्यसैकारण पनि स्थानीयको अपराधविरुद्धमा प्रहरी दह्रो भएर उभिन सकेको छैन । प्रहरी चौकीमा आवश्यक पर्ने तरकारीदेखि चामलसम्मका लागि  स्थानीयको भर पर्नुपर्छ । स्थानीयसँग वादविवाद गर्दा आफैँ खतरामा पर्ने डर रहेको एक प्रहरी जवानले बताए । उनले भने, ‘म आफैँ प्रहरी हुँ, तर स्थानीय नेता, वडाध्यक्ष, टोल विकास संस्थालगायतका सानातिना गल्तीलाई समातेर बस्न सक्ने अवस्था छैन, चौकी नै हटाइदेलान् भन्ने डर छ ।’  

केही प्रहरी भने आफू कार्यरत रहेको स्थानमा वाईफाई नहुँदा समय बिताउनका लागि स्थानीयसँग क्यारेमबोर्डलगायत खेल खेल्न व्यस्त हुन्छन् । यसरी सँगै बस्ने खाने खेल्ने गरेका कारण पनि सर्वसाधारणबाट प्रहरीलाई हेप्ने प्रवृत्ति मौलाएको देखिन्छ । 

तुरुन्तै सचेत गराउँछु : प्रहरी प्रवक्ता

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जिल्लामा रहेका प्रहरी युनिटलाई चुस्त बनाउने काम भइरहेको बताए । उनले भने, ‘सबै गुनासा गल्ती भएर आएका हुन्छन् भन्ने छैन, केही कमीकमजोरी भएको हुन सक्छ, तर स्थानीयले पूर्वाग्रह राखेर गुनासो गरेका हुन सक्छन् ।’ उनले स्थानीय स्तरमा खटिएका प्रहरीसँग रिसिइबी साँधेर आलोचना गरेको हुनसक्ने भन्दै प्रहरीको बचाउ गरे । कसैबाट गल्ती भए तुरुन्तै कारबाही गर्ने भन्दै डिएसपी रिमालले जिल्लाका युनिटहरुलाई तुरुन्तै थप सचेत बनाउने प्रतिबद्धता जनाएका छन् । 

  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १९:४४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया