मकवानपुरमा निषेधाज्ञा केन्द्र सरकारलाई देखाउन मात्रै !

जिल्ला प्रशासन कार्यालय मकवानपुरले फेरि निषेधाज्ञा थप्ने निर्णय गरेको छ । प्रशासनले सधैँझैँ यसपटक पनि केन्द्रको निर्णय कुरेर निषेधाज्ञा थपिएको निर्णय सार्वजनिक गरेको हो । मकवानपुर प्रशासनले निषेधाज्ञाको निर्णय केन्द्र सरकारलाई देखाउन मात्रै गरेजस्तो देखिन्छ । 

जिल्लाका स्थानीय तहको नाकामा कोभिड १९ रोकथामसम्बन्धी कुनै पनि पहलकदमी भएको देखिन्न । निर्वाध रुपमा सवारी चलेको छ भने मोटरसाइकलमा विनामास्क तीनजनासम्म चढेर एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म गइरहेको देखिन्छ । जिल्लाका प्रहरी चौकी आसपासमा समेत कोरोना रोकथाममा न स्थानीयबासी सचेत छन्, न प्रहरीले प्रभावकारी कदम चालेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा आउने व्यक्तिहरुलाई प्रदेशको नाकामा कुनै रोकावट छैन । 

सदरमुकाम हेटौँडा, उत्तरी बजार क्षेत्र थाहा नगर, पश्चिमी बजार क्षेत्र मनहरीमा होटल सञ्चालन भइरहेको छ । यस्ता विषयमा प्रशासनले ‘जानकारी दिनुस्, कारबाही गर्छौं’ भन्नेबाहेक अन्य कुनै चासो देखाएको छैन । जिल्लामा चल्ने महँगा गाडीले ‘चेकिङ’ झन्झट पनि बेहोर्नुपर्दैन । निषेधाज्ञामा अन्य बेलाजस्तै जनजीवन सामान्य भए पनि प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले फेरि निषेधाज्ञा थप्ने आदेश सार्वजनिक गरेका छन् । 

जिल्लामा कोरोना भाइरस परीक्षण एकदम न्यून छ । पछिल्लो समयको तथ्यांक हेर्दा केही स्थानीय तहमा कुनै दिन शून्य परीक्षण छ । तर, कोरोना नियन्त्रणका लागि भने प्रशासनले निषेधाज्ञाको आदेश दिँदै आएको छ ।

प्रशासनले एक साता थप गरेको निषेधाज्ञाको आदेशमा जिल्लाभित्र संक्रमणको दर क्रमशः घट्दै गएको, तर जोखिम यथावत् नै रहेको ठहर गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जनाइएको छ । 

सुरक्षा समितिले गैरखाद्य पसल, पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसल, हार्डवेयर, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल, सवारीसाधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्रीवितरण गर्ने पसल दिनको १२ बजेदेखि दिनको ४ बजेसम्म मात्र सञ्चालन हुने गरी खोल्न पाइने निर्णय गरेको छ । यस्तै रेस्टुरेन्ट, मिठाई तथा खाजा पसलबाट डेलिभरी सेवा मात्रै सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । 



स्थानीय प्रशासनले हेटौँडा उपमहानगरपालिकाको खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका खुद्रा तरकारी तथा माछामासु बजार पूर्णरूपमा बन्द रहने स्पष्ट पारेको छ ।  

यस्तै, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मकवानपुरका प्रमुख जिल्ला अधिकारीले जारी गरेका आदेशमा यात्रुबाहक सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने, निजी सवारीसाधनसहित मयुरी, अटो, ट्याम्पोमा दुईजनाभन्दा बढी यात्रु बोक्न नपाउने, गतेअनुसार जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने उललेख छ । 



बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी एकतिहाई कर्मचारीबाट बिहान १० बजेदेखि दिनको २ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरिएको छ । 

यसअघि औषधि पसल, कृषि बीउबिजन तथा मल बिक्री वितरण गर्ने पसल र भेटेरिनरी, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्न दिइएको थियो । अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्री वितरण गर्ने पसल भने बिहान ४ बजेदेखि बिहान १०ः०० बजेसम्म मात्रै खोल्न पाउने व्यवस्था गरिएको थियो ।

पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ ।

  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार २२:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया