प्रदेश राजधानी रहेको कैलालीमै छ यस्तो दुर्गम गाउँपालिका
न बिजुली न बाटो, जनप्रतिनिधि शहरतिरै
फलिविसौनामा रहेको मोहन्याल गाउँपालिकाको अस्थायी कार्यालय।

कैलाली सुगम जिल्ला हो। जहाँ सुदूरपश्चिम प्रदेशको राजधानी समेत छ। जनताको समस्या समाधान गर्ने, सेवा सहज रुपमा उपलब्ध गराउनका लागि स्थानीय सरकार त छँदैछ। 

प्रशासनिक तथा सरकारी सेवाका लागि सहज होस् भनेर नै स्थानीय सरकारको स्वरुप तयार भएको हो। अधिकार सम्पन्न स्थानीयको अवधरणामा ‘गाउँमै सिंहदरबार’ पुर्याउने उद्देश्य राखिएको थियो।

सुगम जिल्ला कैलालीको मोहन्यालमा गाउँपालिका जनताले भने गाउँको सिंहदरबारको अनुभूति गर्न पाएका छैनन्। सेवाग्राहीलाई स्थानीय तहबाट सेवा लिन निकै कष्ट छ। 

स्थानीय तहको निर्वाचन भएर स्थानीय सरकार बनेको ४ वर्ष पुग्दा समेत कार्यालय व्यवस्थित हुन सकेका छैनन्। ४ वर्षसम्म पनि गाउँपालिकामा विद्युत सेवा समेत पुग्न सकेको छैन्। अझै पनि सोलारकै भर छ। 

स्थानीय सरकार आएपछि गाउँपालिकाका ७ वटै वडामा डोजरले खनेर कच्ची सडक बनाइएको छ। स्तरोन्नती नहुँदा गाडी चल्ने अवस्था छैन। घण्टौँ हिडेर गाउँपालिकामा पुग्नुपर्ने अवस्था यथावत रहेको छ।

स्थानीय निर्वाचन भएको एक वर्षसम्म जिल्ला सदरमुकाम धनगढीमा नै कार्यालय राखेर गाउँपालिकाको। स्थानीयले विरोध जनाएपछि गाउँपालिकाको खिमडीमा कार्यालयको बोर्ड झुन्ड्याइयो।  



खिमडीमा कार्यालय राख्ने निर्णयको पनि विरोध भएपछि फलिविसौनामा सारिएको थियो। फलिविसौनामा कार्यालयको बोर्ड छ तर जनताको काम त्यहाँ हुँदैन। जनप्रतिनिधिलाई खोज्दै हिँड्नुपर्छ। गाउँपालिकाको केन्द्र खिमडीलाई नै तोकिएको छ। 

जनप्रतिनिधि खोज्दै सास्ती



गाउँपालिका केन्द्रको मात्रै भएर वडामा सेवा लिन पनि सास्ती रहेको स्थानीय स्थानीय बताउँछन्। अहिलेसम्म स्थानीय तहका कार्यालय नै व्यवस्थित नभएको २ नम्बर वडा पण्डौनका कमल थापा बताउँछन्। 

वडा कार्यालयमा वडाध्यक्षलाई भेट्न पनि समस्या पर्ने गरेको उनले सुनाए। ‘वडा कार्यालयमा अध्यक्ष ज्यू एक दिन पनि बस्नुहुन्न। लम्की, सुखडतिर जानुहुन्छ’ थापाले भने, ‘कार्यालय अस्तव्यस्त छ। काम लिनै गाह्रो।’

गाउँपालिकाको विकास गर्नुपर्दछ भन्ने भावना जनप्रतिनिधिमा नदेखेको उनले जिकिर गरे।  गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट कुनै काम गराउनु परे स्थानीयहरु शहरतिर उनीहरुलाई खोज्दै जानुपर्ने बाध्यता छ।

गाउँपालिका कार्यवाहक अध्यक्ष कहिले कार्यालयमा भेटिँदैनन्। कावा अध्यक्ष मात्र होइन जनताका सबैभन्दा नजिकका प्रतिनिधि वडा अध्यक्षलाई शहरतिर खोज्न जानुपर्ने स्थानीयको गुनासो छ। 

गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधन भएपछि झनै मनपरी चलेको आरोप स्थानीयहरु लगाउँछन्। कार्यवाहक अध्यक्षको जिम्मा गाउँपालिका उपाध्यक्षलाई दिइएको छ। तर उनीबाट आशा लाग्दो काम नभएको स्थानीय बताउँछन्।  

आफूहरु गुनासो गर्दा–गर्दा थाकिसेको मोहन्याल गाउँपालिका–२ बस्ने प्रेम भुच्चा मगरको दुखेसो छ। ‘कार्यालय फलिविसौना राखिएको भएपनि काम भने सुखड, लम्कीबाट हुने गरेको छ’, उनले निराशा पोखे, ‘जति गुनासो गरेपनि सुनुवाइ हुँदैन। गुनासो गर्दा–गर्दा ४ वर्ष बित्यो। 

अब आफूहरु थाकिसकेको उनी बताउँछन्। सुखडमा जनप्रतिनिधिका सम्पर्क कार्यालय खोज्दै जानुपर्ने बाध्यता पहिलेदेखि अहिले पनि रहेको उनले सुनाए। 

स्थानीय जनप्रतिनिधि बजार क्षेत्रमै बस्ने भएकाले उनीहरुसँग काम लिन बजार नै जानुपर्ने बाध्यता भएको मोहन्याल–४ का स्थानीय शेरबहादुर बमले बताउँछन्। ‘४ वर्ष अगाडि गाउँ–गाउँमा सिंहदरबार आउने भन्दै हामीले भोट हाल्यौँ’ बमले भने, ‘जनताले सुविस्ता पाएका छैनन्। सानो काम गर्न पनि सहरमै धाउनुपर्छ।’ 

स्थानीयका अनुसार वडा कार्यालयबाट हतपत्त काम बन्दैन। वडा अध्यक्ष फोनमा मात्रै उपलब्ध हुन्छन्। कर्मचारीहरु अतिआवश्यक सेवा इन्टरनेट, बैंकिङ सुविधा नहुँदा गाउँपालिका कार्यालय जान नमान्ने जनप्रतिनिधिहरुको गुनासो छ।

सरकारले सबै स्थानीय तहमा बैंकिङ सुविधा पुर्याउन लक्ष्य राखेको थियो। मोहन्यालमा सिटिजन बैंकको शाखा छ। गाउँपालिकामा नेटले काम नगरेको बताए पनि बैंकमा भने राम्रो रहेको स्थानीयको भनाइ छ।

सम्पर्क कार्यालयमाथि सम्पर्क कार्यालय

सुरुमा गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विवाद भयो। विवाद बढेपछि अदालतमा समेत मुद्दा पर्यो। अदालतले खिमडीमा कार्यालय राख्न आदेश गर्यो। अदालते आदेश दिएपनि खिमडी धेरै दुर्गम भएको भन्दै फलिविसौना सम्पर्क कार्यालय राख्ने निर्णय गाउँपालिका बैठकले गर्यो। 

फेरि पछिल्लो समयमा दुर्गम काम गर्न समस्या भएको भन्दै घोडाघोडी नगरपालिकाको सुखडमा सम्पर्क कार्यालय राखेर काम हुने गरेको छ। सुखडमा गाउँपालिकाको साइनबोर्ड समेत राखिएको छैन। पहिलो पटक सेवाका लागि जाने स्थानीयहरु सम्पर्क कार्यालय खोज्दै हैरान हुन्छन्। 

कर्मचारीको मनोमानी 

गाउँपालिकामा कार्यरत कर्मचारीले समेत मनोमानी गर्ने गरेको स्थानीय बताउँछन्। स्थानीयका अनुसार कर्मचारीहरु समयमा कार्यालय आउँदैनन्।

केही दिन पहिले गाउँपालिकाका कर्मचारीहरु कार्यालय समयमै मादक पदार्थ सेवन गरेको अवस्थामा स्थानीयहरूले भेटेका थिए। गाउँपालिकाका जनप्रतिनिधिहरूलाई कर्मचारीले टेर्दै नटेर्ने स्थानीयसँग जनप्रतिनिधिको गुनासो छ। 

बाध्यताले सुगममा बसेका हौँ : जनप्रतिनिधि 

गाउँपालिका केन्द्र छाडेर सहरमा आएका काम गर्नु रहर नभएर बाध्यता भएको कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगर बताउँछिन्। विद्युत सेवा नहुँदा सोलारको भर पर्नुपर्ने र मौसमले साथ दिँदा सोलारले पनि काम नगर्ने उनको गुनासो छ। ‘मौसम क्लियर छैन्। काम सबै इन्टरनेटबाट नै गर्नुपर्छ। त्यसैले पनि इन्टरनेट खोज्दै शहर पुग्नु परेको हो’ बुढामगरको दावी छ।

कार्यालयको उचित व्यवस्था नहुँदा, विद्युत, इन्टरनेट नहुँदा विकास निर्माणका काम पनि समयमा सुरु गर्न नसकेको उनको भनाइ छ। 

‘विकासका का चैतबाट मात्र सुरु भएका छन्। कति प्रतिशत योजना सम्पन्न भए भन्न सक्ने अवस्था छैन्’ उनी भन्छिन्। 
गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष देवीराम उपाध्याय पनि अनलाइन विना काम नहुने भएकाले हुँदा सुगम आएर सेवा दिन बाध्यता भएको बताउँछन्। 

‘फलिविसौनाबाट पनि काम गर्ने अवस्था भएन्। सोलारबाट काम गर्नुपर्ने, इन्टरनेटको त्यस्तै असुविधा त्यही भएर सेवाग्राहीको माग अनुसार नै सुखडमा सम्पर्क कार्यालय राखेर काम गरेको हो’ उनको दावी छ। 

भइसकेका विकास निर्माणका कामको पनि भुक्तानी हुन नसकेको उपाध्यायले बताए।‘काम भइसकेको ८० प्रतिशत भन्दा बढी भुक्तानी लिन बाँकी छ। महालेखाले असार २३ भित्र भुक्तानी दिइसक्नु पर्ने आदेश आएको छ। त्यसले गर्दा अनौपचारिक रुपमा सुखडमा काम सुरु गरिएको हो।’

कैलालीमा १३ स्थानीय तह मध्ये २ पहाडमा पर्छन्। जिल्लाका अति विकट मानिने मोहन्याल गाउँपालिकामा निर्वाचनका बेला पनि जिल्लाका सिडिओ र निर्वाचनको टोली हेलिकप्टरबाट उक्त क्षेत्रमा पुगेका थिए। दुर्गम हुँदा यस क्षेत्रमा कर्मचारीहरु समेत जान मान्दैनन्। यातायातका साधन हिउँदमा गुड्ने गरेको छ।

साविकका मोहन्याल, पण्ड़ौन र सुगरखाल गाविस मिलेर मोहन्याल गाउँपालिका बनेको हो। यहाँ ७ हजार भन्दा बढी मतदाता छन्।

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १२:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया