कोभिड– १९ संक्रमणका कारण योगको महत्व झनै बढ्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ संक्रमणको कारण योगको महत्व झनै बढेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड– १९ संक्रमणको अवस्थाका कारण योगको महत्व झनै बढेको बताएका हुन् । 

उनले व्यक्तिलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउनको लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औँल्याउँदै जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको उल्लेख गरे । उनले भने, ‘यतिबेला योगको असाधारण महत्व छ ।

कोभिड– १९ बाट यतिबेला व्यक्तिलाई स्वस्थ बनाउन, शारिरिक, मानसिक हिसाबले स्वस्थ राख्न, कुनै प्रकारले डिप्रेशनमा जान नदिन, मनोवैज्ञानिक उपचारदेखि लिएर शारिरिक उपचार, प्रतिरोधी क्षमताको विकास गर्न योग आवश्यक छ । आशावादिता जगाउन, जीवनलाई वस्तुपरक ढंगले जीवनको रुपमा हेर्न, बुझ्न योग जरुरी छ ।’

प्रधानमन्त्री ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आगामी पिँढीलाई सभ्यता सिकाउनुपर्नेमा जोड दिए । असभ्यता बढेको भन्दै त्यसलाई रोक्नुपर्ने उनको भनाइ छ ।

उनले भने, – ‘सांस्कृतिक अवपतन यो महामारीको रुपमा जुन फैलिएको छ, यसमा हामीले हाम्रो सिंगै समाजलाई सम्झाउन सकेनौँ, हाम्रो नयाँ पिँढीलाई सम्झाउन सकेनौँ, अरुको नक्कल गर्ने नाममा आफ्नो सभ्यता, मर्यादा सबै कुरा भुल्छौँ । अनुशासनहीन, अराजक बन्छौँ । कानुनलाई तोड्नुलाई गर्वको विषय बनाउँछौँ । जुन अनुचित कुरा हो । त्यसबाट देशलाई मुक्त गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले कोभिडविरुद्धको लडाइँलाई बढीमा दुई वर्षभित्र पराजित गर्ने पनि बताए । 





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १६:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया