कोरोनाले थलिए आर्ट ग्यालरी र कलाकृति
तस्बिर : ज्योति प्रकाशको फेसबुकबाट ।

सधैं आर्ट कलाकारले भरिने बबरमहलको सिद्धार्थ आर्ट ग्यालरीमा दैलो लागेको वर्ष दिनभन्दा लामो समय भयो । अन्तिम पटक ‘प्रिन्ट मेकिङ नेपाल’ शीर्षकमा कला प्रदर्शनी गरेको आर्ट ग्यालरीले त्यसपछि कुनै प्रदर्शनी गर्न सकेको छैन ।

यो प्रदर्शनी हुँदा पनि नेपालमा कोरोना भाइरस संक्रमणको त्रास सुरु भइसकेको थियो । जसका कारण दर्शक नै कम आए । प्रदर्शनीमा राखिएका कुनै पनि कलाकृति बिक्री भएनन् । बेला बेलामा हुने यस्तै प्रदर्शनीबाट चल्दै आएको ग्यालरी अहिले संकटमा परेको सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगीता थापाले बताइन् ।

प्रदर्शनी नभएका बेला पनि ग्यालरी हेर्न आउनेको संख्या औसतमा दैनिक ७५ जना जति हुन्थ्यो । आउने दर्शकको हिसाबमा कलाकृति किन्नेको संख्या निकै कम हुन्थ्यो, तर, ग्यालरी यसरी ठप्पै हुने अवस्था भने आउँदैनथ्यो । अब यो ग्यालरी सोही रूप र स्थानमा रहन्छ रहँदैन भन्ने कुराको दोधारमा छिन्, संगीता ।

उनी भन्छिन्, ‘कैयौं दिन कलाकृतिको बिक्री शून्य हुने गर्थ्यो । अघिल्लो वर्षको लक डाउन सुरु हुनु केही समय अघिबाटै आर्ट ग्यालरीमा आउनेको संख्यामा कमी आइसकेको थियो । भाडाको घरमा आकर्षक सज्जासहित सञ्चालन गरिएको यो ग्यालरी दोस्रो लहरको कोरोना सुरु हुनु अघि पुनः सञ्चालनको तयारीमा थियो । तर, समय सोचेको जस्तो भएन । आर्ट ग्यालरीको ताला खुल्न त खुल्यो बेला-बेला त्यहाँको सरसफाइका लागि मात्रै ।

कोरोनाको सन्त्रास र निषेधाज्ञाका कारण सुनसान भएको ग्यालरी कसरी पुनः सञ्चालन गर्ने भन्ने चिन्ता छ, सञ्चालकमा । खुलेर पनि आर्ट ग्यालरीले पुरानै लय समात्न लामो समय लाग्ने उनीहरूको भनाइ छ ।

यता, बबरमहलकै आर्ट काउन्सिल नेपाल पनि बन्द छ । हाल बन्द अवस्थामा रहेको यो आर्ट ग्यालरीलाई ग्यालरी नै बन्द होला भन्ने पिर छैन । आफ्नै भवन भएकाले सञ्चालनकै पिरलो नभएको आर्ट काउन्सिलका सदस्य तथा कलाकार हरि खड्का बताउँछन् ।



कलाकारलाई कला पारखीको संख्या बिस्तारै बढ्दै गएको अवस्थामा लकडाउन र कोरोना भाइरसको सन्त्रासले बिथोल्ने हो कि भन्ने छ । आर्ट काउन्सिलमा ‘बाग्मती आर्ट ग्यालरी’ मा राखिएका कला अवलोकन गर्न जाने कला प्रेमीको संख्या लकडाउन अघिसम्म राम्रै भएको बताउने खड्का लकडाउन खुले पछि पनि यो संख्यामा कमी नै आउन सक्ने बताउँछन् ।

काठमाडौं बाङ्गेमुढाको ‘अमात्य आर्ट ग्यालरी’ पनि कोरोनाको चपेटामा परेको छ । वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले यो ग्यालरी सञ्चालन गर्दै आएका छन् । उक्त आर्ट ग्यालरीमा राखिएका कलाकृतिको बिक्रीबाट आएको आम्दानीले यो सञ्चालन हुँदै आएको थियो । अघिल्लो वर्षको सरस्वती पूजाको अवसर पारेर २ दिने कला प्रदर्शनी गरेका अमात्यले प्रदर्शनी सकिएसँगै पुनः आर्ट ग्यालरीमै आफ्ना कलाकृति थन्क्याउनु परेको छ । ग्यालरीमा रहेका ती कलाकृति बिक्री हुने खालका थिए ।



विदेशी पर्यटकले किन्ने आशा राखिएका सबै कलाकृति अहिले बन्द ग्यालरीमा थन्किएर बसेको अमात्य बताउँछन् ।

नेपालमा कलाकृति प्रेमीको संख्यामा बढ्दै गरेको अवस्थामा कोरोनाका कारण लामो समयको बन्दपछि दीर्घकालीन असर यस क्षेत्रमा पनि पर्ने अमात्य बताउँछन् । मानिसहरूलाई नसोचेको अवस्थाबाट पुनः सामान्य बन्न निक्कै समय लाग्ने अमात्यको भनाइ छ । उनी भन्छन्, ‘कति मान्छे त यही एक्लोपनामै अभ्यस्त भइसक्छन् ।

उनीहरूलाई कोरोनापछिको समयमा कलाकृति हेर्न जाने, भिडमा जाने जस्ता कुरा नै नौलो लाग्न थाल्छ । उनीहरूलाई सामान्य अवस्थामा फर्किएर फेरि कलाकृति तर्फ आकर्षित हुन ठूलै कसरत गर्नु पर्ने हुन सक्छ ।’

आर्ट ग्यालरीको मात्रै होइन, कलाकारको पनि अहिले उस्तै पीडा छ । अघिल्लो वर्ष चित्रकार ज्योति प्रकाशले एउटा कलाकृति बनाए । चित्रमा उनले काठमाडौंमा जीवन गुजार्न नसकेर पैदलै गाउँ फर्कंदै गरेका मजदुरलाई विषयवस्तु बनाएका थिए । उनको उक्त चित्रलाई धेरैले मन पराएर सामाजिक सञ्जालमा सेयर पनि गरे । सबैले मन पराएको उक्त चित्रकलाको मूल्य राखेर बिक्री गर्ने अवस्था नहुँदा उक्त चित्र त्यसै थन्किएर बस्यो ।

ज्योति भन्छन्, ‘नेपाली चित्रकलाका पारखी विदेशी नै हुन् । अहिले विदेशी पर्यटक नेपालमा आउन सक्ने अवस्था छैन । यो अवस्था कहिलेसम्म रहन्छ र कहिले कसरी टुङ्गिन्छ भन्ने अन्योल नै छ । यस्तो अवस्थामा कला क्षेत्रका कलाकारको जीवनयापन सामान्य बन्न पनि लामै समय लाग्न सक्छ ।’

पुराना मात्रै होइन नयाँ कलाकारको पनि अवस्था उस्तै रहेको कलाकार शीर्ष जोशी बताउँछन् । लकडाउन अघि नै प्रदर्शनीका लागि संघर्ष गर्दै आएका जोशीका कलाकृति पनि घरमै थन्किएर बसेका छन् । उनी भन्छन्, ‘अब राम्रो होला कि भनेर आशा गर्ने बेलामा यस्तो भयो । यो समयको हामीले ठूलो मूल्य चुकाउन पर्ने छ ।’

चित्रकार जया शर्मा यो समयले अन्य क्षेत्रमा जस्तै चित्रकारिताका कलाकारको जीवनमा पनि असर गरेको बताउँछिन् । उनको तर्क फरक छ । भन्छिन्, ‘हामी त कलाकार हौँ, हामीले यस्तै अप्ठ्यारामा सहजता खोज्नु पर्छ र सिर्जना गर्नु पर्छ ।’ यो अप्ठ्यारो परिस्थितिलाई सिर्जनामा उतार्न सके कालजयी सिर्जना बन्ने उनको दाबी छ ।

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १७:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया