नडराउनुहाेस्, भ्याक्सिनले बाँझोपना बढाउँदैन

नेपाललगायत थुप्रै देशमा कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि महिला-पुरुषमा बाँझोपना बढ्ने आशंका भइरहँदा वैज्ञानिकहरूले यसमा कुनै आधार नभएको बताएका छन् । विशेष गरेर यस्तो आशंका युवापुस्तामा रहेको देखिन्छ । वैज्ञानिकहरूको पछिल्लो शोधले भ्याक्सिनहरू सुरक्षित र प्रभावकारी रहेको देखिएको हो ।
 
यसअघि पोलियो, दादुरा र अन्य कतिपय भ्याक्सिनका बारेमा पनि यस्तै आशंका गरिएको थियो । तर कुनै पनि भ्याक्सिनले प्रजनन उमेरका व्यक्तिमा बाँझोपना नबढाउने प्रमाणित भइसकेको छ । 

डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीलाई कोरोनाकालमा सबैभन्दा बढी सोधिएको प्रश्नका रूपमा प्रजनन क्षमता रहेको देखिएको छ । भारतका सरकारी र गैरसरकारी स्वास्थ्य संस्थाहरूले यसबारे गरेको शोधले भ्याक्सिनका कारण प्रजनन क्षमतामा कुनै असर नपर्ने स्पष्ट देखिएको हो ।

भ्याक्सिन निर्माण भएपछि यसको प्रयोग जनावरहरूमा गरिँदा नै प्रजननमा कुनै असर परेको थिएन । जनावरमा प्रयोग गरिँदा कुनै नकारात्मक असर नपर्ने प्रमाणित भएपछि नै भ्याक्सिन मानव शरीरमा उपयोग गरिने वैज्ञानिकहरू बताउँछन् । 

भारतका खोप विशेषज्ञहरूको राष्ट्रिय समूह (एनईजिभिएसी)ले हालै स्तनपान गराउन महिलामा पनि भ्याक्सिन लगाउन सिफारिश गरिसकेका छन् । यसअघि गर्भवती र सुत्केरी महिलालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन नहुने बताइएको थियो । भ्याक्सिन लगाउनुअघि र लगाइसकेपछि पनि स्तनपान रोक्न नपर्ने वैज्ञानिकहरूले जानकारी दिएका हुन् । 

मनोवैज्ञानिक समस्या

कोरोना संक्रमणका कारण हरेक चारमध्ये तीनजनामा दिमागी क्षमता प्रभावित भएको पाइएको छ । महामारीबाट मुक्त भएको महिनौंसम्म पनि ७७ प्रतिशतभन्दा बढी व्यक्तिले मानसिक समस्यासँग जुध्न परेको अध्ययनले पुष्टि गरेको छ । यस्तो समस्या बढी मात्रामा ५० वर्षभन्दा कम उमेरका युवामा देखिएको छ । युरोपियन एकेडेमी अफ न्युरोलोजीले गरेको नयाँ शोधबाट यस्तो रिपोर्ट तयार पारिएको हो ।



इटालीको मिलानस्थित युनिभर्सिटीका प्राध्यापक तथा प्रस्तुत शोधका प्रमुख मासिमो फिलिप्पीले भने, ‘हाम्रो अध्ययनले के पुष्टि गरेको छ भने, मानसिक र व्यवहारगत समस्या र कोरोना संक्रमणको सीधा सम्बन्ध छ । कोरोना जितिसकेपछि पनि केही महिनासम्म यो समस्या कायम रहन सक्छ ।’

कोरोना ठीक भएको पाँचदेखि दस महिनासम्म ५३ देखि ७७ प्रतिशत मानिसमा मनोविकारको समस्या रहेको शोधमा उल्लेख छ । शोधअनुसार कोरोनामुक्त भएका ९० प्रतिशत मानिसमा पोस्टकोभिड लक्षण देखिन्छ र त्यो प्रायः दिमागसँग सम्बन्धित हुन्छ ।
डर लाग्दो कुरा के छ भने, संक्रमणपश्चात् मानिसको एक्जिक्युटिक फंक्सन (स्मरण र सोच्ने क्षमता)मा अधिक प्रभाव परेको रिपोर्टमा उल्लेख छ । 



अब के गर्ने ?

स्मरण शक्ति कमजोर हुने, दिक्क लाग्ने वा डर लाग्ने समस्याबाट छुट्कारा पाउनका लागि कुनै पनि काममा ध्यान केन्द्रित गर्नुपर्नेमा मनोचिकित्सकहरू जोड दिन्छन् । जिन्दगीका योजना बनाउने, सोचविचारलाई लचिलो पार्ने काम गर्दा पनि राहत हुन जान्छ । 

नयाँ शोधले संक्रमणमुक्त भएका ६ प्रतिशत मानिसको स्मरण शक्ति नराम्ररी क्षय भएको देखाएको छ । पोस्टट्रमेटिक बिरामीको समस्या पनि देखिएको शोधमा उल्लेख छ । कतिपयमा त अनिद्राको समस्या देखिएको छ । हिँडडुल गर्न मन नलाग्ने, दिक्कमात्रै लाग्ने, स्वाद र गन्ध थाहा नपाउने र टाउको दुख्ने समस्याबाट पीडितको संख्या पनि थुप्रै छ । 


 

  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १४:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया