समस्यामा सधैं मौन रहने कलाकार

अघिल्लो वर्ष कोरोनाका कारण लाखौँ नेपालीको जनजीवन अस्तव्यस्त भयो । लामो समयको लकडाउनका कारण सबै क्षेत्र ठप्प प्राय रहे । नेपाली सिने क्षेत्रले यसको सबैभन्दा ठूलो मार खेप्नुपर्यो । यो मार पर्दामा देखिने कलाकारले भन्दा पर्दा पछाडि रहेर काम गर्ने चलचित्रकर्मीले खेप्नुपर्यो । 

समस्यामा परेका सिनेकर्मीका बारेमा थुप्रै कलाकारले बोले । चासो देखाए । आफूले सकेको सहयोग पनि गरे । तर, यो लाइनमा अग्रज थुप्रै कलाकार देखिएनन् । उनीहरुले केही आफ्ना प्राविधिक साथीहरुको बारेमा बोल्नसम्म जागर चलाएनन् ।

ठीक त्यही समयमा निर्देशक दीपाश्री निरौलाले ‘महानायक राजेश हमाल बोल्नु भएन । उहाँले बोलिदिएको मात्रै भएपनि धेरैले सहयोग गर्नु हुन्थ्यो’ भन्ने आशयको अभिव्यक्ति दिइन् । 

यो अभिव्यक्तिलाई गलत रुपमा अर्थ्याइयो र दीपाश्रीलाई निक्कै खेदियो । दीपाश्रीलाई पटक पटक सामाजिक सञ्जालमा आएर माफी माग्न बाध्य बनाइयो । कुरा सत्य थियो, यस्ता खाले विपत्तिमा कतिपय कलाकारले बोल्दा मात्रै पनि ठूलो सहयोग जुट्न सक्छ । सहयोग मात्रै होइन पर्दामा उनीहरुलाई आदर्श मान्ने दर्शकहरुको भरोसा पनि बाँचिरहन्थ्यो । 

अवस्था अहिले पनि उस्तै छ । कोरोनाको दोस्रो लहरका कारण देशमा निषेधाज्ञा छ । मनोरञ्जन क्षेत्र ठप्प छ । केही कलाकारहरु म्युजिक भिडियोका फाट्टफुट्ट काम गरिरहेका छन् । धेरै कलाकार बेरोजगार छन् । 

देशका केही भूभाग बाढी पहिरोको चपेटामा छ । महानायक राजेश हमाल यी कुनै विषयमा अहिले पनि बोल्दैनन् । उनी सामाजिक सञ्जालमा पनि आफ्ना दैनिकीका तस्बिर तथा भिडियोहरु मात्रै सेयर गरिरहेका हुन्छन् । 



महानायक हमाल मात्रै होइन, सहज अवस्थामा चलचित्रबाट सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारहरु पनि समस्याको समयमा बाहिर देखिएका छैनन् । फिल्डमा नदेखिएका उनीहरु सामाजिक सञ्जालमा पनि मौन छन् । आफ्नो फिल्म चल्ने बेलामा भगवान मानेका दर्शक समस्यामा परेका बेला सामान्य सहानुभूति दिनबाट समेत थुप्रै स्टार कलाकार चुकेका छन् । 

पछिल्लो पुस्ताका सबैभन्दा धेरै स्टारडम भएका कलाकार हुन्, अनमोल केसी । पुराना अभिनेता भुवन केसीका छोरा अनमोलको फिल्म लाग्दा हलमा दर्शकको भीड थामिनसक्नुको हुन्थ्यो । उनी बडिगाड लिएर फिल्म हलमा पुग्थे । तर, अहिले यी अभिनेताले आफ्ना दर्शक तथा सिनेकर्मीको समस्यामा बोल्न जाँगर चलाएनन् । 



आफ्ना प्रिय अभिनेताको सहानुभूति खोजिरहेका दर्शकको लागि उनले सामाजिक सञ्जालमा आफ्ना विज्ञापनका पोस्टरहरु टाँसिदिए । बधाई तथा शुभकामना खाइरहे । उनले आफ्ना फ्यानहरुलाई यो समयमा नआत्तिनु समेत भन्न जाँगर चलाएनन् । महामारी र यसबाट निम्तिएको समस्यालाई मौन रहेर हेरिरहेका छन् । 

अनमोलसँगै पहिलो पटक स्क्रिन सेयर गर्दै सिनेनगरीमा आएकी कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह पनि विपतमा मौन रहिन् । छोटो समयमा राम्रो स्टारडम कमाएकी यी अभिनेत्रीले कोरोना कहरकै बीचमा अनलाइन कपडा बिक्रीको प्रमोसनमा लागिन् । 

प्रमोसनकै क्रममा विभिन्न पहिरनमा आफ्ना तस्बिर पोस्ट गरिन् । तर, महामारीको समस्यामा परेकाहरुका विषयमा चासो देखाइनन् । महामारीबाट बच्न सचेत गराउने खालका कुनै पोस्ट गरिनन् । ठीकै कमाइ भएका धेरै कलाकार समस्याग्रस्त ठाउँमा पुगेका बेला उनको कतै उपस्थिति देखिएन । 

नेपाली सिने क्षेत्रले स्टार मानेका अर्का अभिनेता हुन प्रदीप खड्का । उनलाई नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार हुन् भनेर पनि प्रचार गरिन्छ । तर, यी अभिनेताले पनि समस्यामा परेका आफ्ना फ्यानलाई हौसला दिन समेत जाँगर चलाएनन् । आफ्ना प्रिय कलाकारको मौनतासँग फ्यान तथा सोही क्षेत्रका सहकर्मीहरु मन दुखाइरहेका छन् । 

यही समय अभिनेता पल शाहको सक्रियता भने निक्कै लोभ लाग्दो देखियो । उनी देशका सुदूर बस्तिदेखि विभिन्न अस्पतालमा अक्सिजनका सिलिन्डर बोकेर पुगे । समस्यामा परेका नागरिक भएका ठाउँमा राहत बोकेर निस्किए । सामाजिक सञ्जालमा पनि उनले बारम्बार सचेत रहन आग्रह गरिरहे । समस्यामा नआत्तिन भनिरहे । 

  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १५:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया