प्रदेश १ : खाली हुन थाले कोभिड अस्पतालका बेड

विराटनगरका कोभिड अस्पतालका बेडहरू खाली हुन थालेका छन् । कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या दोब्बर भएपछि  विराटनगरका अस्पतालहरूमा कोरोनाका बिरामीको चाप घटेको हो ।

विराटनगरमा कोभिड उपचार गर्ने अस्पतालहरू नोबेल, विराट मेडिकल कलेज, कोसी कोभिड उपचार केन्द्र, कोसी अञ्चल अस्पताल र न्युरो अस्पताल सबैमा बिरामीको चाप घटेको हो ।

विराटनगर महानगरपालिकाले केही बेर अघि सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले विराटनगरका अस्पतालहरूमा २७४ जना कोभिडका बिरामीहरू भर्ना भएका छन् ।

तीमध्ये सबैभन्दा बढी नोबेल मेडिकल कलेज विराटनगरमा कोभिडका बिरामी उपचार गराइरहेका छन् । नोबेलमा भेन्टिलेटरमा २९, आइसियुमा ५० र अक्सिजन बेडमा ५५ जना गरेर १३४ जना  कोरोनाका बिरामी उपचार गराइरहेका छन् ।

यसैगरी विराट मेडिकल कलेजमा ३२ जना कोरोनाका बिरामी उपचाररत छन् । यस्तै प्रदेश सरकारले स्थापना गरेको कोसी कोभिड उपचार केन्द्रमा ५७ जना कोरोनाका बिरामी उपचाररत रहेका छन् ।

यसैगरी कोसी अञ्चल अस्पताल र न्युरो अस्पतालमा क्रमश: ४३ जना र १० जना कोरोनाका बिरामी भर्ना भएको तथ्यांकमा उल्लेख छ ।



संक्रमण दर घटेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि घटेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

५७ हजार संक्रमण मुक्त



प्रदेश १ मा संक्रमणमुक्त हुनेको संख्या ५७ हजार १४५ पुगेको छ । आज मात्रै  ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०४ महिला र ३२२ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार ७९७ पुगेको छ ।

संक्रमण मुक्त भएसँगै सक्रिय संक्रमितको संख्या १० हजार ५३४ रहेको छ । प्रदेश १ मा आज १ हजार १०९ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२२ महिला र १८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, तेह्रथुम र पाँचथर, ताप्लेजुङ, संखुवासभामा २-२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार २०:३३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया