सर्वोच्च अदालतले मंगलबार दिउँसो गरेको फैसलापछि नेपालको राजनीतिक सरगर्मी एकाएक तात्यो । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई अदालतले अमान्य घोषित गरेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता शालिकराम सापकोटा, अधिवक्ता सीतादेवी श्रेष्ठ , अधिकृत कञ्चनकृष्ण न्यौपानेले प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट दायर गरेका थिए । प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णय तत्काललाई कार्यान्वयन नगर्न मंगलबार दिउँसो सर्वोच्चले अन्तरिम आदेश दियो । अदालतले उक्त फैसला सुनाइरहँदा २१ र २७ जेठमा मन्त्रालय सम्हालेका मन्त्रीहरू भने आ-आफ्ना सेड्युलका काममा सेक्युरिटिसहित तितरवितर थिए ।
अदालतको उक्त फैसलापछि सिंहदरबार पुग्दा फरक-फरक दृश्य देखिए । मन्त्रालय सम्हालेको केहीदिन मात्र भएकाले सिंहदरबारमा मन्त्रीलाई बधाई दिनेको घुइँचो कम भएको थिएन । निवर्तमान उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ त हेलिकोप्टर यात्रा गर्दै थिए । उनीहरूले यता सर्वोच्चको फैसला आएको थाहै पाएनन् । सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न गएका महतो र तामाङ काठमाडौं आइपुग्नुअघि नै मन्त्री पद गुमिसकेको थियो ।
सिंहदरबारको दृश्य
शेरबहादुर तामाङ आफ्नो निर्वाचन क्षेत्रमा परेको बाढी पहिरो पीडितको अवस्था बुझ्न मेलम्चीतिरै थिए । उता, महतो भने काठमाडौं आएर सोझै मन्त्रालय हानिए ।
अदालतको आदेशपछि केही घण्टा उनले मन्त्रालयमै बिताए । उनको सुरक्षार्थ खटिएका प्रहरीहरू पनि अब के हुने हो ? मन्त्री पद खुस्केपछि अब आफ्नो ड्युटी के हुने ? भन्नेबारे अलमलमा थिए । उनीहरू भन्दै थिए, ‘तपाईं त मिडियाको मान्छे, के भएको हो आज ? अब मन्त्री पद नहुने भएको हो उहाँ (राजेन्द्र महतो) को ?’
मेलम्चीबाट सोझै मन्त्रालय आएर आफ्नो क्याबिनमा पसेका मन्त्री भित्र बसुञ्जेल बाहिर अनेक थरी टिप्पणी भइरहे । कर्मचारीहरू आफ्नो ड्युटी सकेर पेटी-पेटीमा उभिएर गफ गरिरहेका थिए । केही मन्त्रालयको पेटी हुँदै गेटबाहिर निस्किरहेका थिए । सचिवालयका केही सदस्य, चालक र सुरक्षाकर्मीहरू मन्त्री बाहिर आउने प्रतीक्षा गरिरहेका थिए ।
उता, महिला बालबालिका मन्त्री शान्ता चौधरी सिंहदरबारबाट बाहिरिसकेकी थिइन् । कृषिमन्त्री ज्वालाकुमारी साह आफ्नै गाडी बोलाएर मन्त्रालयबाट बाहिरिँदै थिइन् । उनी माओवादी केन्द्र परित्याग गरेर संघीय मन्त्री बनेर ओली क्याबिनेटमा प्रवेश गरेकी थिइन् । त्यस्तै सूचना सञ्चार तथा प्रविधिमन्त्री नैनकला थापा पनि अदालतको उक्त निर्णय आउँदा मन्त्रालयमै थिइन् ।
उपप्रधानमन्त्री समेत पाएका महतो मन्त्रालयबाट केहीबेरपछि बाहिरिए । त्यसअघि उनको सचिवालयका एक सदस्य भन्दै थिए, ‘मन्त्रीज्यू अहिले क्वाटर जानुहुन्न ।’ फरकधारले क्वाटर जाने कार्यक्रम छ हो अब ? भनेर सोधेको प्रश्नमा ती सदस्यले दिएको जानकारी थियो त्यो ।
मन्त्री हुने बित्तिकै विवादास्पद अभिव्यक्ति दिएर आलोचना खेपेका महतोका लागि मन्त्री पद गुम्नु आश्चर्यचकित थियो ।
झण्डा फहराउँदै निस्किए महतो
बेला-बेलामा विवादमा आइरहने महतो मन्त्री पद गुमेपछि पनि मन्त्रालयको गाडी चढेरै निस्किए ।
उनले आफ्नो झण्डा छोपेर निस्किएनन् । मन्त्रालयबाट निस्किँदै गर्दा उनका चालकले झण्डा उघारेर हतार-हतार गाडी हुँइक्याए । उनी त्यहाँबाट सोझै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार हानिएका थिए ।
मन्त्री पद गुमेपछि केहीले सरकारी गाडी त्यहीँ छाडेर निस्किँदै थिए । भने केही झण्डा फहराउँदै हतार-हतार मन्त्रालयबाट निस्किँदै थिए । उता, अर्कोपट्टि बगैंचा छेउमा केही पत्रकारहरू गफिँदै थिए । आज मात्रै राष्ट्रिय समाचार समितिका महाप्रबन्धक बनेका सिद्धराज राई पनि सिंहदरबारभित्रै थिए ।
केही पत्रकार भने मन्त्रिपरिषद्ले गरेका निर्णयहरू के हुने भन्नेबारे उत्सुकता राख्दै फोन घुमाइरहेका थिए ।
आफ्नै गाडी बोलाएर मन्त्री ज्वाला साह
दुई साता मात्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेकी कृषि मन्त्री ज्वाला कुमारी साह मन्त्रालयबाट बिदा भइन् आफ्नै गाडी झिकाएर ।
माओवादी परित्याग गरेर मन्त्री बनेकी साह अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै कृषि मन्त्री साह पदमुक्त भएकी हुन् । सर्वोच्चको निर्णयपछि एमालेको राजनीतिमा तरंगित भइरहँदा ज्वालाको यो कदमको पनि प्रचार कार्यकर्ता सामाजिक सञ्जालमा गरिरहेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पनि मन्त्रालयको गाडी छाडेर आफ्नै गाडी मगाएर गइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।