पुनः १.७७ प्रतिशतले घट्यो सेयर बजार, कारोबार रकम ८ अर्बमा सीमित

पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको एक्सनका कारण १८८ अंकको गिरावट आएको सेयर बजारमा मंगलबार करिब ८० अंकले बाउन्स ब्याक भएको थियो । यद्यपि बुधबार भने पुनः नेप्से परिसूचक ५० अंक बढीले घटेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र बजारमा बुधबार फेरि सूचक घटेपछि लगानीकर्ताहरू सस्तो मूल्यमा मात्र खरिद गर्ने मनोभावमा देखिएका छन् ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्राधनमन्त्री केपी शर्मा ओलीको विस्तारित मन्त्रिपरिषद्मा रहेका २० मन्त्री पदमुक्त हुने अन्तरिम आदेश दिएको थियो । यसले पनि बजारमा प्रभाव पारेको देखिन्छ । जसका कारण किन्ने र बेच्ने बीच चर्को बार्गेनिङका कारण कारोबार रकम पनि बुधबार घटेको छ । असार १ गतेदेखि घट्न थालेको बजार ८ गते आएर ८० अंकले बढे पनि पुनः आज घटेको हो । 

साताको चौथो कारोबारका दिन बुधबार नेप्से परिसूचक १.७७ प्रतिशत अर्थात् ५१.६५ अंकले घटेको छ । उक्त गिरावटसँगै नेप्से परिसूचक घटेर २८६२.१८ बिन्दुमा झरेको छ । यस दिन ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.३७ प्रतिशत अर्थात् ७.३७ अंकले घटेर ५२८.९७ बिन्दुमा झरेको छ ।

समग्र सेयर बजार घटेसँगै यस दिन कारोबार रकममा समेत भारी गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा यस दिन २ अर्ब रुपैयाँभन्दा बढीले कारोबार रकम घटेको छ । मंगलबार २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर कुल १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको खरिद–बिक्री भएको थियो । जबकि बुधबार २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर कुल ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ३.४९ प्रतिशतले घटेको छ भने हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ । 



घटेको बजारमा दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन राधी विद्युत्को सेयर मूल्य सबैभन्दा धेरै ९.७१ प्रतिशतले बढेको छ भने ङादी ग्रुप पावरको पनि ९.०९ प्रतिशतले मूल्य बढेको छ । त्यस्तै, छ्याङ्दी हाइड्रोपावरको ६.५६ प्रतिशत, नेपाल इन्स्यनेरेन्सको ६.१६ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ६.०२ प्रतिशतले मूल्य बढेको छ ।



  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १६:५३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया