सम्पादकीय
खुकुलो निषेधाज्ञा र कोरोनाको सम्भावित तेस्रो लहर

मंगलबारदेखि सरकारले निषेधाज्ञा केही खुकुलो पारेको छ । झण्डै दुई महिना (वैैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु)पछि सरकारले निश्चित क्षेत्रमा गरेको खुकुलोको फाइदा उठाउँदै मानिसहरुको भीड मंगलबार बिहानैदेखि सडक–बजारमा उर्लियो । यो भीडले कोरोना संक्रमणको सम्भावित खतरनाक तेस्रो लहरको संकेत गरेको छ । यो दिन मानिसहरुमा कोरोनाबाट बच्न के गर्नु हुन्छ, के गर्नु हुँदैन भन्ने आत्मचेतनाको अभाव छरपष्ट हुन पुगेको छ । 

भौतिक दूरी, मास्कको उचित ढंगमा प्रयोग, स्यानिटाइजर र साबुनपानीले हात धुने कर्म पनि बिर्सिएको हो कि भन्ने भान सडक–बजारमा देखिएको भीडले पारिदिएको छ । के हामीले कोरोनालाई जितिसकेका हौँ र ? निश्चित रुपमा होइन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले केही दिनअघि जनसंख्याको कम्तीमा ७० प्रतिशतले भ्याक्सिन लगाएपछि मात्रै महामारीको त्रास कम हुने बताइसकेको छ । नेपालमा भ्याक्सिन लगाउने क्रम निकै सुस्त छ । अहिलेसम्म करिब ८ प्रतिशतले मात्रै भ्याक्सिन लगाउन पाएका छन् ।  

बेलायतजस्तो झण्डै ६५ प्रतिशतलाई भ्याक्सिन लगाइसकिएको देशमा त सामाजिक दूरीदेखि मास्कसम्मको प्रयोगमा सतर्कता अपनाउन आफ्ना नागरिकलाई सचेत पार्ने क्रम जारी छ भने हाम्रो जस्तो भ्याक्सिनेसन अभियान नै ‘हात थापेर’ चलाउनुपर्ने अवस्थाको मुलुकमा जनता स्वयम् सतर्क हुनुको विकल्प छैन । अर्कोतिर, कतिपय वैज्ञानिकहरुले भ्याक्सिन कुनै ‘जादुको छडी’ नभएको र खोप लगाइसकेपछि पनि स्वास्थ्य सचेतता अपनाइरहनुपर्ने बताएका छन् । त्यति मात्र होइन, यदि कोरोनाको तेस्रो लहर फैलियो भने त्यो पहिलो र दोस्रोभन्दा खतरनाक हुने चेतोनवनीसमेत उनीहरुले दिइसकेका छन् । 
 
कोरोनाको दोस्रो लहर केही मत्थर भएकाले सरकारले निषेधाज्ञा खुकुलो पारेको हो । यो खुकुलोपनामा कुन क्षेत्रमा कसरी काम गर्ने र आफ्ना दैनिक आवश्यकता कसरी पूरा गर्ने भन्नेबारे स्पष्ट निर्देशन सरकारले दिएको छ । त्यो निर्देशनको पूर्ण पालना गर्नु हरेक नागरिकको जिम्मेवारी हो ।
 
झण्डै १५ महिनादेखि देशका आर्थिक क्रियाकलाप, रोजगारी, व्यापार–व्यवसाय, पठनपाठन ठप्प छ । यही गतिमा महामारी कायम रहने हो भने यसको असर वर्षौंसम्म परिरहने छ । यसकारण पनि सचेत हुँदै दैनिक क्रियाकलाप सुचारु गर्नु आवश्यक छ । यसकै निम्ति सरकारले मंगलबारदेखि निषेधाज्ञा केही खुकुलो पारेको हो । 

बिर्सनु के हुँदैन भने, हाम्रो समय अझै पनि ‘नयाँ र सामान्य’ बनेको छैन । यसका निम्ति कम्तीमा पनि तीनचौथाइ जनतामा भ्याक्सिन पुर्याउनु अपरिहार्य छ । उक्त परिमाणमा भ्याक्सिन देशमा कहिले आउने हो यसै भन्न सकिन्न । भ्याक्सिन खरिदको सन्दर्भ नै विवादित बनेको केही समयअघिको दृश्यले हामी आफैँ सचेत बनेर संक्रमणबाट जोगिनुपर्ने बाध्यता उजागर हुन पुगेको छ । हामी सचेत हुन सक्यौँ भने कोरोनाको सम्भावित तेस्रो लहरको खतरा झेल्नुपर्ने छैन । 

भारतलगायत कतिपय देशले कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न आवश्यक पूर्वतयारी गरिसकेका छन् । हाम्रो जस्तो कमजोर स्वास्थ्य पूर्वाधार भएको मुलुकमा महामारीले सबैभन्दा बढी असर गर्छ नै । 

यो तथ्य मनन गर्दै निषेधाज्ञा खुकुलो पारिएको पहिलो र दोस्रो दिन सडक–बजारमा जे जस्तो दृश्य देखियो, त्यसको नियन्त्रण जरुरी छ । र, नियन्त्रणको जिम्मेवारी सरकारको मात्रै होइन, हरेक सचेत नागरिकको पनि हो ।  





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार २०:८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया