बन्दै छुट्दै पलको जोडी

पछिल्लो समय अभिनेता पल शाहको निकै चर्चा छ । कोरोनाका कारण सुस्ताएको मनोरञ्जन क्षेत्रमा पनि उनको चर्चा निरन्तर भइरह्यो । उनी कहिले म्युजिक भिडियोका कारण चर्चामा रहे त, कहिले राहत र अक्सिजनका सिलिन्डर बोकेर अस्पतालमै पुगेका कारण चर्चामा रहिरहे ।

कोरोना काल सुरु हुनुभन्दा अघि नै पलको जोडीका रूपमा चर्चामा रहेकी आँचल शर्माले बिहे गरिन । पल र आँचलको जोडी टुट्यो । आँचलको बिहे हुनु अघिसम्म उनीहरूको प्रेमको समेत चर्चा हुने गरेको थियो । उनीहरूको जोडीलाई संयुक्त रूपमा ‘आँप’ जोडी भनेर नामाकरण समेत गरिएको थियो । धेरैले आँचलको बिहेपछि पललाई धोका दिएको भन्दै आँचललाई गालीसमेत गर्न भ्याए ।

त्यसपछि पलले विभिन्न कलाकारसँग स्क्रिन सेयर गरे । ती सबैसँग उनको जोडी खासै जमेन । अभिनेत्री पूजा शर्मासँग पनि पलले केही फिल्म तथा म्युजिक भिडियोमा काम गरे । उनीहरूको चर्चा त भयो । तर, जोडी कलाकारका रूपमा उनीहरूको जोडी जम्न सकेन ।

अभिनेत्री मलिका महतसँग भने थोरै काम गर्दा नै जोडी राम्रैसँग जम्यो । उनीहरूले तीन म्युजिक भिडियोमा सँगै काम गरे । तीनवटै म्युजिक भिडियो सफल भए । तिनै म्यूजिक भिडियो निर्माण गर्ने केन्द्र मोसन पिक्चर्सले पल र मलिकालाई ठूलो पर्दामा उतार्ने तयारी गरेको छ । उनीहरूलाई केन्द्र मोसनले ठूलो पर्दाको फिल्म नसकिँदासम्म अन्य ब्यानरका चलचित्र तथा म्युजिक भिडियोमा जोडीका रूपमा काम गर्न नपाउने गरी सम्झौता नै गरिसकेको छ ।

यो पछिल्लो समयका जोडीको कुरा भयो । तर, आजभन्दा ७ वर्ष अगाडि पल र अभिनेत्री प्रकृति श्रेष्ठको जोडी पनि निकै हिट थियो । उनीहरूले त्यो समय झण्डै आधा दर्जन म्युजिक भिडियोमा जोडीका रूपमा काम गरे । दर्शकले उनीहरूको जोडीलाई राम्रै रुचाएका थिए । उनीहरू प्रेममा रहेको समेत चर्चा गरिन्थ्यो ।

यही जोडीले अभिनय गरेको ‘को होला त्यो मसँग आँखा जुधाउने’बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । अस्मिता अधिकारीले गाएको उक्त गीतको म्युजिक भिडियोमा पल र प्रकृति पुनः सँगै देखिएका छन् । धेरै वर्षपछि पुनः एक साथ देखिएका पल र प्रकृतिका दर्शकले उस्तै माया देखाएका छन् ।



जोडीका रूपमा जम्दा-जम्दै प्रकृति बिहे गरेर अष्ट्रेलिया पुगिन् । त्यसपछि पल र प्रकृतिको जोडी छुटेको थियो । पुनः म्युजिक भिडियोमा सँगै देखिएका पल र प्रकृतिलाई पनि ठूलो पर्दामा सँगै देख्न चाहने दर्शक छन् । तर, आजसम्म यो जोडीलाई ठूलो पर्दामा ल्याउन कुनै निर्माता निर्देशकले चासो देखाएका छैनन् । 



  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार ११:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया