प्रदेश २ : मन्त्रिपरिषद विस्तार सिद्धान्त विपरीत रहेको भन्दै उच्च अदालतमा रिट दर्ता

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झा अहिराजबाट गरिएको मन्त्रिपरिषद् विस्तार विरुद्ध उच्च अदालत जनकपुरमा रिट दर्ता भएको छ ।

प्रदेश-२ को मन्त्रिपरिषद् समानुपातिक समावेशी सिद्धान्त विपरीत रहेको भन्दै अधिवक्ता राजकुमार महासेठले उच्च अदालत जनकपुरमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका विरुद्ध रिट दर्ता गराएका छन् । 

अधिवक्ता महासेठले २०७२ को संविधानको धारा १ को उपधारा (२), धारा १८, धारा ३८ को उपधारा (४), धारा ४२ को उपधारा (१), धारा ४० को उपधारा (१), धारा ५६ को उपधारा (३), धारा १६८ को उपधारा (९), धारा १४४ र न्याय प्रशासन ऐन २०७३ को दफा ८ बमोजिम रिट दर्ता गराएका हुन्।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (९) मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यहरू मध्येबाट समानूपातिक समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था रहे पनि मुख्यमन्त्री राउतले जेठ २६ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा रामसरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्रीमा ओम प्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा वीरेन्द्र सिंहलाई नियुक्त गरिएकाे थियाे । सो नियुक्ति असमावेशी रहेको भन्दै अधिवक्ता महासेठले रिट दर्ता गराएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख अहिराजले गत जेठ २६ गते मन्त्रिमण्डल विस्तार गरेकोमा त्यस नियुक्तिलाई उत्प्रेषणको आदेशबाट बदर गरी पाउँ भनी अधिवक्ता महासेठले उच्च अदालत जनकपुरमा रिट निवेदन दर्ता गरेका छन् । साथै उनले अब मन्त्रिमण्डल गठन वा पुनर्गठन गर्दा समानुपातिक समावेशी सिद्धान्त बमोजिम मात्र गर्नु/गराउन भनी विपक्षीको नाममा परमादेश लगायत अन्य उपयुक्त आज्ञा-आदेश समेत जारी गरी पाउँ भनी निवेदन दिएका छन् । 

रिट निवेदनको अन्तिम कारबाही नभएसम्मका लागि हालै नियुक्त भएका मन्त्री यादव, शर्मा र सिंहलाई मन्त्रीको हैसियतमा कुनै किसिमको काम नगर्न/नगराउन भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम तत्कालै अन्तरिम आदेशको माग समेत गरिएको छ ।





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १५:५४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया