हङकङको ‘एप्पल डेली’को अवसान, अन्तिम अंक १० लाख प्रति बिक्यो

हङकङको लोकतान्त्रिक धारको दैनिक अखबार ‘एप्पल डेली’ बन्द भएको छ । अखबारको कार्यालयमा प्रहरी घुसेर मालिक र सम्पादकलाई अनेक यातना दिन थालेपछि सो अखबार बन्द गरिएको हो । बन्द घोषणापश्चात् उक्त अखबारको अन्तिम अंक किन्नका लागि बिहीबार बिहानैदेखि मानिसहरुको लामो भीड लाग्न थाल्यो । र, बिहान ८ बजेसम्म त्यसको १० लाख प्रति बिक्यो ।

एप्पल डेली बन्द गर्न चीनले दबाब दिनुलाई लोकतन्त्रवादीहरु हङकङ सरकारको अत्यन्तै खराब कदम मान्छन् । मानिसहरु लोकतन्त्रप्रति आस्था र विश्वास रहेकै कारण उक्त अखबार एकाबिहानै १० लाख प्रति बिकेको बताउँछन् । यो अखबारमाथि धेरै अघिदेखि नै चीन सरकारले आँखा लगाइरहेको थियो । सोही कारण अखबारका मालिकमाथि झुटा मुद्दा लगाएर गिरफ्तार गरिएको बताइएको छ । 

चीनले एप्पल डेलीका मालिकमाथि झुटा आरोप मात्र लगाएन । उनको सबै सम्पत्ति जफतसमेत गरेको छ । यो अखबार दैनिक ८० हजार प्रति बिक्थ्यो, तर सरकारले प्रतिबन्ध लगाएका दिन १० लाख प्रति बिक्यो । 

हङकङ प्रहरीले एप्पल डेलीको २३ लाख डलर सम्पत्ति फ्रिज गरेको र कार्यालयमा घुसेर खानतलासी गरेको थियो । अखबारका पाँच शीर्ष सम्पादक र कार्यकारीलाई गत साता गिरफ्तार गरेपछि प्रकाशन बन्द गर्ने निर्णय गरिएको थियो । 

एप्पल डेलीमाथि विदेशीसँग मिलेर राष्ट्रिय सुरक्षा खतरामा पारेको आरोप पनि लागेको छ । उक्त अखबार हङकङमा मात्र होइन, अन्यत्र पनि लोकतन्त्रवादी मिडियाका रुपमा परिचित छ । 

अखबारले सरकारी नियन्त्रणको सधैँ विरोध गर्दै आएको थियो । २०१९ मा चीनविरुद्ध भएको प्रदर्शनपछि अर्धस्वायत्त हङकङमा असन्तुष्टमाथि कारबाहीस्वरुप चालिएको नयाँ कदमका रुपमा यसलाई लिइएको छ । २०२० जुलाईमा हङकङमा राष्ट्रिय सुरक्षाका नाममा लोकतन्त्र समर्थक सबै नेताहरुलाई गिरफ्तार गरिएको थियो। 



विरोधी आवाज बन्द गर्ने उद्देश्य

एप्पल डेली यस्तो समय बन्द हुन पुगेको छ, जुनबेला सरकारी अधिकारीले २०१९ मा सरकारविरोधी प्रदर्शनपश्चात् असन्तुष्टमाथि कारबाहीलाई तीव्र पारेको छ । चीनले करिब एक वर्षअघि हङकङमा लागू गरेको राष्ट्रिय सुरक्षा कानुनका आधारमा पहिलो मुद्दाको सुनुवाइ सुरु हुनै लाग्दा लोकतन्त्रवादी अखबार बन्द हुन पुगेको छ ।



एप्पल डेलीका ग्राफिक डिजाइनर डिकसन भन्छन्, ‘यो हाम्रो अन्तिम दिन र पत्रिकाको अन्तिम संस्करण हो । के हङकङले आफ्नो प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता गुमाउन सुरु गरेको हो ? यो अखबारले किन यसरी समाप्त हुनुपरेको छ ? के अब हङकङमा कुनै एप्पल डेली अखबार हुने छैन ?’

अखबारमा कार्यरत पत्रकारहरु अन्तिम दिन बुधबार राति न्युजरुममा एकत्रित थिए । उनीहरुसँग सहायक प्रकाशक चान पुई–म्यानले भने, ‘तपाईंहरु सबैले सानदार काम गर्नुभयो । एप्पल डेलीले अन्तिम दिन १० लाख प्रति निकाल्ने भएको छ । जबकि, अघिपछि यो ८० हजार मात्र निस्कन्थ्यो । लोकतन्त्र समर्थक मिडिया संगठन अनलाइन मौजुद छ, तर यो सहरमा बेग्लै किसिमको एक मात्र प्रिन्ट अखबार एप्पल डेली थियो ।’

अखबारको कार्यालयअघि समर्थकको भीड

पत्रिकाका कार्यालयमा बुधबार राति पत्रकार र अन्य कर्मचारी काम गरिरहेका थिए । बाहिर पानी परिरहेको थियो, त्यहीबखत सयभन्दा बढी लोकतन्त्र समर्थक मानिस एप्पल डेलीको कार्यालय अघिल्तिर उपस्थित भएर नाराबाजी गर्न थाले । उनीहरुले त्यहाँ तस्बिर खिचे र पत्रकारलाई प्रोत्साहित गरे ।

अखबारले अन्तिम संस्करणको आवरणमा एप्पल डेलीका कर्मचारी पत्रिका कार्यालयवरपर एकत्रित भएका समर्थकलाई हात हल्लाएर अभिवादन गरेको तस्बिर प्रकाशित छ । र, त्यसको क्याप्सनमा लेखिएको छ– ‘हङकङवासीले यो वर्षाद्मा दुःखद् बिदाइ गरे, हामी एप्पल डेलीको समर्थन गर्दछौँ ।’

चौतर्फी विरोध

लोकतन्त्रवादी धारको पत्रिका बन्द गर्न बाध्य पारेकोमा चौतर्फी विरोध हुन थालेको छ । बेलायतका विदेश सचिव डोमिनिक राबलल ट्विटरमा लेखेका छन्, ‘राष्ट्रिय सुरक्षा कानुनको प्रयोग स्वतन्त्रतामाथि लगाम लगाउन र असन्तुष्टलाई सजाय दिन गरिएको छ ।’ उता, जर्मनीको विदेश मन्त्रालयकी प्रवक्ता मारिया अदेबरले अखबार बन्द हुनुलाई ‘हङकङमा प्रेस स्वतन्त्रतामाथि झड्का’ बताएकी छन् ।  

  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १७:५५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया