राहत वितरणमा कलाकारको प्रचार मोह

असारको पहिलो दिन नै सिन्धुपाल्चोकमा बाढी पस्यो । त्यही बाढीमा केहीको जीवन हेलियो । हेर्दाहेर्दै बस्ती बगरमा परिणत भयो । बाढीले बस्तीका मानिसका सपना पनि बगायो । अहिले बिस्तारै सिन्धुपाल्चोकको आकाश खुल्दै गएको छ । बस्तीका मानिसका आँखामा उज्यालो आउन पाएको छैन । आकाशबाट वर्षा रोकिए पनि उनीहरुका आँखाबाट बगिरहेको छ, हिजो आज । 

बस्तीमा भेल पसेको पर्सिपल्ट भेलमाथिको आकाशमा हेलिकप्टर उड्यो । त्यही आकाशबाट अभिनेत्री श्वेता खड्काले भिडियो लाइभ गरिन् । भिडियोमार्फत उनले बाढीले सखाप पारेको बस्ती देखाइन् । सँगै उनले चामलका बोरा देखाइन् । हेलिकोप्टरबाट अभिनेत्री श्वेता खड्काको टोली बस्तीमा झर्यो । उनीहरुले राहत सामग्री वितरण गरे । 
 
आफैँ जन्मेको बस्तीमा परेको विपतमा राहत बोकेर पुगेकी श्वेताको सबैले खुलेर प्रशंसा गरे । श्वेताले बिचल्लीमा परेका त्यहाँका मानिसका भिडियो खिचिन । विभिन्न गीतका टुक्रामा दर्जनभन्दा बढी  टिकटक बनाइन् । श्वेताले बाँडेको राहतभन्दा धेरै टिकटकमा फलोअर्स आए । यसै लोकप्रिय श्वेताले राहत वितरणका नाममा सस्तो लोकप्रियता खोजेको देखियो ।
 
कलाकार पूजा शर्मा पनि सिन्धुपाल्चोक पुगिन् । फिल्मी शैलीमा पुगेकी पूजाले सिन्धुपाल्चोकमा राहत वितरण गर्न पाउनु आफ्नो अधिकार रहेको बताइन् । पूजाले सँगै लिएर गएकी थिइन्, केहि युटुबर र फोटोग्राफर । उनले केही म्याटका टुक्रा, झुल, खाद्यान्नलगायत सामग्री वितरण गरिन् । उनका फोटा फेसबुकमा छ्यापछ्याप्ती भए ।
 
बस्तीमा पुगेर फर्किएपछि पूजाले आफैँसँग लिएर गएका पत्रकारसँग अन्तर्वार्ता दिइन् । आफूलाई प्रचार नचाहिएको बताइन् । तर, उनले काठमाडौंबाट हिँडेदेखि बस्तीमा पुगेसम्मका फोटा तथा भिडियो सार्वजनिक गरिरहिन् । केही टिकटक निर्माण गरिन् । लाइभ गरिरहिन् र फेरि पनि भनिरहिन्, ‘मलाई प्रचार चाहिएको छैन । तर, सेवा गरिरहेकी छु । आउनुहोस्, तपाईं पनि बिनाप्रचार सेवा गर्नुहोस् ।’

निर्देशक दीपाश्री निरौला र अभिनेत्री स्वस्तिमा खड्का पनि डुबानमा परेका बस्तीका बासिन्दाका लागि राहत बोकेर सिन्धुपाल्चोक पुगे । आफ्नै केही लगानीका साथमा अरुसँग उठाएको पैसाले किनेको म्याट, डसनालगायत सामग्री बोकेर पुगेका यी दुई कलाकारले पनि युट्युबर लिएर गएका थिए । राहतको नजिकै बसेर काठमाडौंबाट उनीहरुसँग गएका पत्रकारले प्रश्न सोधे । उनीहरुले जवाफ दिए । भिडियोमा खिचियो राहत दिएको दृष्य । राहत थाप्दै गरेका अनुहारहरुका उदासीपन । भिडियोले राम्रै भ्युअर्स कमायो । फेसबुकमा पीडितसँगै खिचेका तस्बिर सार्वजनिक गरे । उनीहरुले पनि राम्रै प्रशंसा कमाए ।

माथि उल्लेख गरिएका पात्र प्रतिनिधि पात्र मात्रै हुन् । कलाकार मात्रै होइन, ठूलै व्यापारी अथवा समाजसेवी भनिएका पनि राहतका नाममा सस्तो लोकप्रियता खोजिरहेका छन् । चाउचाउ बाँडेका र चिउरा दिएका तस्बिर फेसबुकमा पोस्ट गरेर ‘गुड जब’को कमेन्ट खोजिरहेका छन् ।

केही चलचित्रकर्मी पनि छन्, जो चुपचाप राहत वितरणमा लागेका छन् । व्यक्तिगत रुपमै आर्थिक सहयोग गरिरहेका कलाकार पनि मौन छन् । उनीहरुमा प्रचारको भोक देखिएको छैन । तर, केहीलाई कलाकारमा भने पीडितसँगका सेल्फी, सामान्य राहत वितरण गरेका तस्बिर भिडियो सार्वजनिक गर्ने मोह देखिन्छ । धेरैले उनीहरुको यो मोहलाई आलोचना पनि गरिरहेका छन् । 

कलाकारको यो प्रचार मोह पहिलोपटक सिन्धुपाल्चोकमा मात्रै देखिएको होइन । कोरोना महामारीमा पनि धेरैले राहतका नाममा आफ्नो प्रचार गरे । कलाकारले राहत वितरणसँग चलचित्रको नाम जोडेर मिडियामा आफ्नै प्रचार गरे । भूकम्पका नाममा पनि पीडितका आँसुसँगै आँसु बगाएका भिडियो, तस्बिर बनाएर आफ्नो प्रचार गरे । यो प्रचारले पीडितको परिवारमा पछिसम्म के असर गर्ला भनेर सोचेको देखिएन । 



कलाकारको प्रचार मोह पछिल्लो पुस्तामा मात्रै देखिएको होइन । हत्तपत्त समस्याका बेला नबोल्ने र बाहिर ननिस्कने राजेश हमाल केही वर्षअघि बाढीका कारण डुबानमा परेको सर्लाहीमा केही राहत बोकेर  पुगे । सर्लाहीको सकरौल, शिवनगर, बिनगर्राकालगायत बस्तीमा राहत वितरण गरे । राहत वितरणका तस्बिर खिचाए । समाचार लेखाए र प्रचारमा रमाए । उनले पनि राहत वितरणका क्रममा सामाजिक अभियन्ता भनिएका नवीन यादवलाई लिएर गएका थिए । हमालको राहत वितरण प्रचारमा यादवले पनि सहयोग गरे । उनले त्यसबेला १ सय ५० घर परिवारलाई चामल, दाल, तेल र चाउचाउ वितरण गरेका थिए । राहत लिन झुम्मिएका पीडितका अनुहार उनले आफूसँगै खिचे । स्याबासी बटुले । उनले सस्तो लोकप्रियताभन्दा आफनो छवि निकै माथि रहेको बिर्सिए ।
 
राहतसँग आफ्नो नाम जोडेर प्रचारमा निस्किएका कलाकारमध्ये निकै कमले मात्रै आफैँले आर्थिक सहयोग गरेका छन् । एउटै चलचित्रबाट लाखौँ पारिश्रमिक लिने कलाकारले पनि आफ्नो गोजीबाट एक रुपैयाँ निकालेर सहयोग गरेका छैनन् । अरुसँग उठाएको पैसाले किनेका चाउचाउका कार्टुन बोकेर राहत वितरणमा पुगेका कतिपयले आर्थिक सहयोग गर्ने दाताको नामसमेत लिएको पाइँदैन । उनीहरुलाई धेरैले प्रश्न गर्न थालेका छन्, ‘अरुले दिएको राहतलाई वितरण मात्र गर्ने कि अब आफूले पनि सहयोगका लागि मन कमलो बनाउने ?’ 

राहत दिँदा उनीहरूको भिडियो खिच्ने अनि ‘आज यति व्यक्तिलाई राहत प्रदान गरियो, आफ्नै पैसा खर्च गरेर खाना खुवाएँ’जस्ता शब्द प्रयोग गर्नु भनेको उनीहरुको पीडामाथि उपहास गरिएको तर्क सुरु भएको छ । समाजमा एउटा भनाइ छ, ‘दायाँ हातले दान गरेको कुरा बायाँ हातले थाहा नपाओस् ।’ यसैगरी ‘अरुलाई आफ्नो क्षमताले जस्तो दान गरे तापनि मैले यति गरेँ भनेर आफ्नो प्रशंसा आफैँ नगर ।’ 



तर, पनि आजभोलि तपाईं–हामीले अरुलाई प्रदान गर्ने ‘राहत’को प्रचारका कारण लिने व्यक्ति स्वयंले हीनताबोध समेत गर्ने गरेका छन् । कारण सामाजिक सञ्जालमा टाँगिने त्यस्ता तस्बिरले पीडित व्यक्तिको आत्मसम्मानमा ठेस पुर्याइरहेको हुन्छ ।
 
झण्डै दुई वर्षदेखि विश्व कोराना जीवाणुसँगको युद्धमा छ । यो युद्धमा को हार्छ को जित्छ थाहा छैन । कोरोनाको चपेटामा विश्वकै मानिस परे । विश्वका अन्य मुलुकमा पनि राहत वितरण भयो । 

कलाकारहरुले पनि ठूला–ठूला राहत वितरण गरे । विश्वका अन्य देशहरुमा भने नेपाली कलाकारका जस्ता फोटो र भिडियो भाइरल भएनन् । तिनीहरूले राहत वितरण गरिरहेका फोटा तथा भिडियो फोटो सामाजिक सञ्जालमा राखेको देखिँदैन । यसबाट नेपाली कलाकारले पाठ सिक्नुपर्ने देखिन्छ ।

  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १८:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया