वीरगन्जको एसपी कार्यालयमा आमरण अनसनमा नेविसंघ नेता पटेल
राजनीतिक कार्यक्रममा सँगै पक्राउ परेका अन्यलाई छाडेर आफूलाई फसाउन खोजेको गुनासाे

पर्सा प्रहरी कार्यालयभित्रै नेविसंघका एक पूर्वकेन्द्रीय सदस्य आमरण अनसनमा बसेका छन् । राजनीतिक कार्यक्रममा पक्राउ परेका उनी आफूलाई प्रहरीले जबरजस्ती फसाउन खोजेको भन्दै एसपीको कार्यालयमा आमरण अनसनमा बसेका हुन् । 

सरकारको विरोधमा विद्यार्थी संगठनले गरेको कार्यक्रमबाट उनीलगायत चार विद्यार्थी नेता पक्राउ परेका थिए । आफूसँगै पक्राउ परेका अन्य तीनजनालाई छाडेर आफूलाई फसाउन खोजेको भन्दै नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य सुधिर पटेल आमरण अनसनमा बसेका हुन् । 

सरकारको विरोध गर्ने क्रममा उनीसँगै पक्राउ परेका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभाकर गुप्ता, विद्यार्थी नेताद्वय विवेककुमार साह र विशाल पटेललाई भने पर्सा प्रहरीले रिहा गरेको छ । नेविसंघका पटेललाई भने तत्काल रिहा नगर्ने पर्सा प्रहरी प्रमुख बेलबहादुर पाण्डेयले बताए । 

उनले भने,‘पटेललाई तत्काल छाडिँदैन, कुनै मुद्दा छैन तर पनि उनलाई कम्तीमा पाँच दिनपछि मात्रै छाड्छु ।’ प्रहरीले उनलाई विनाकारण फसाउन खोजेको भन्दै त्यसको विरोधमा विद्यार्थी नेताहरु प्रहरी कार्यालयबाहिर पनि धर्नामा बसेका छन् ।

के हो घटना ?

संयुक्त विद्यार्थी संगठनले बिहीबार देशभर सरकारको विरोध गर्ने कार्यक्रम राखेको थियो । संसद् विघटनको विरोधमा राखेको केन्द्रीय कार्यक्रमअनुसार पटेल पनि प्रदर्शनका लागि बीरगन्जको घण्टाघर पुगेका थिए ।



सरकारको विरोधमा नारा लगाउँदै विद्यार्थीहरुले केहीबेर वीरगन्जको घण्टाघरछेउमा नारा–जुलुस गरे । सभा सुरु हुँदै गर्दा प्रहरीले माइकिङ गर्न थाल्यो । तर, विद्यार्थी संगठनहरुले भने आफ्नो कार्यक्रम जारी राखे । 

लगत्तै प्रहरीले सुरुमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य पटेललाई नियन्त्रणमा लियो । त्यसपछि अझै कार्यक्रम नरोक्दा अन्य तीनजनालाई पनि पक्राउ ग¥यो । केहीबेरपछि तीनजनालाई छाडियो । आन्दोलकारी रहेकाले तीनजनालाई तत्काल छाडिएको बताउँदै पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खानलले भने,‘पटेलको बारेमा अन्य कुरा बुझ्ने काम भइरहेकाले उनलाई अझै नियन्त्रणमा राखिएको छ।’



प्रहरी विरोधमा कांग्रेसको विज्ञप्ति

पर्सा कांग्रेसले राजनीतिक घटनामा प्रहरीले विद्यार्थी नेतालाई जबर्जस्ती फसाउन खोजेको आरोप लगाएको छ । बिहीबर साँझ एक विज्ञप्ति जारी गर्दै पर्सा कांग्रेसले भनेको छ,‘निर्दोष विद्यार्थी नेतालाई प्रहरीबाट फसाइँदैछ, तत्काल रिहा गरियोस्।’ 

पर्सा कांग्रेस सचिव श्याम पटेल भन्छन्,‘राजनीतिक कार्यक्रम गर्ने क्रममा विद्यार्थी नेतालाई पक्राउ गरिएको छ, तत्काल नछाडे हामी आन्दोलन गर्छौं।’

  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार २०:३८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया