विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४ सय ४२ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ७ सय ५४ वटा गाडी र १ हजार ६ सय ८८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछपश्चात् छाडिने गरिएको छ ।
त्यसैगरी, कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २ सय ७२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५८ हजार ६ सय ५१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ११ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम १३ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ हजार ३ सय ५ जनालाई रोकी सम्झाई–बुझाई छाडिएको छ ।
साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको ५९ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत ४ हजार १ सय ३६ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।