कर्णाली प्रदेशसभा बैठक एमालेद्वारा अवरुद्ध

नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । असार १ गते बजेट आएसँगै ११ दिनपछि बसेको बैठक कार्यसूचीमा प्रवेश नै नगरी एमालेले अवरुद्ध गरेको हो । 

बैठकको सुरुमा नै एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले संसदमा उठाउँदै आएको राजनीतिक मुद्दा टुङ्गो नलागेसम्म बैठक अघि बढ्न नसक्ने बताए ।

‘दलीय मान्यताअनुसार संसद बैठक सञ्चालन गर्न खोज्दा प्रदेश सरकारले त्यसमा वास्ता गरेको छैन,’ सांसद शाहले भने, ‘एमालेले गम्भिरतापूर्वक उठाएका विषयमा सरकारले कुनै पनि छलफल गरेको छैन । सरकारका मन्त्री, मुख्यमन्त्रीलाई हेलिकप्टरमा ठाउँठाउँमा जानै ठिक्क छ ।’ 

प्रदेश सरकारमा एमालेबाट फ्लोर क्रस गरेर भएका तीन जना मन्त्रीहरुलाई सर्वोच्च अदालतले सांसद पदमा पुनःस्थापित गर्दै एमालेको रो मा गएर बस्न भनेर आदेश दिए पनि पालना नभएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । 

‘सर्वोच्चले एमालेको रो मा गएर बस्न आदेश दिएपनि त्यसको न सरकारले कार्यान्वयन ग¥यो, न ती सांसदले,’ शाहले भने, ‘एमाले सरकारबाट बाहिरिइसकेपछि पनि आज ती सांसद कुन हिसाबमा सरकारमा छन्, यसमा कानुन लाग्दैन ? यो कुराको किन सुनुवाइ हुँदैन ।’

एमालेको आन्तरिक कारणले बजेट माथिको छलफल सुरु हुन नसकेको कुरा गलत भएको भन्दै शाहले प्रदेश सरकारले आफूहरुले उठाएको राजनीतिक मुद्दा समाधान गरे सहजै बजेट माथिको छलफल हुने बताए । प्रदेश सरकारले एमालेले उठाउँदै आएको कुरामा पूरै व्यवस्था गरेको उनको भनाइ छ ।



एमालेका सांसदहरु उभिएर विरोध गरेपछि सभामुख राज बहादुर शाहीले बैठक सञ्चालन गर्ने प्रयास गरेपनि विरोध जारी रहँदा बैठक असार १३ गते दिउँसो २ बजे सम्मको लागि स्थगित भएको छ । 



  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १५:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया