पछिल्लो समय नेपाली कांग्रेसको १४ औं महाधिवेशनको रौनकले काठमाडौंमा कांग्रेस र कांग्रेसीजनलाई छोपिसकेको छ ।
कांग्रेसमा नयाँ क्रियाशिल सदस्यताको विवाद टुङ्ग्याउन गौशालास्थित धर्मशालामा आधा दर्जन नेताको दैनिक घम्साघम्सी चलिरहेको छ भने कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा सभापतिमा यसपटकका आकांक्षी विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइरालालगायतका नेताहरु छलफलमा व्यस्त हुन थालेका छन् ।
महाधिवेशनकै सन्दर्भमा छलफलका लागि रामचन्द्र पौडेलले शुक्रबार दिउँसो आफूनिकट नेताहरुलाई छलफलमा बोलाएका थिए । उनले आफूनिकट नेताहरु बोलाए पनि छलफलमा भाग लिन पुगेका थिए, कृष्णप्रसाद सिटौला निकट नेताहरु प्रदीप पौडेल, गगन थापालगायत ।
यो छलफल विशेषगरि क्रियाशिल सदस्यताको छानबिन छिटो सकाउनु पर्ने भन्ने विषयमा केन्द्रित रहने गरि बोलाइएको थियो । पौडेलको छलफलमा पुगेका नेताहरु चाहिँ अधिकांश सभापति, महामन्त्री र सहमहामन्त्रीका दाबेदारहरु थिए ।
आजको कार्यक्रममा पौडेलले आफूलाई आगामि महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा प्रष्ट भन्ने अपेक्षा धेरैले गरेका थिए । तर, आजको छलफलमा पनि उनले आफू १४ औं महाधिवेशनको सभापतिको उम्मेदवारबारे खासै बोलेनन् ।
छलफलमा अनौपचारिक तथा घुमाउरो पारामा आफू सभापतिमा उठ्ने संकेत भने उनले गरे ।
उनले आफूले एकपटक पनि कांग्रेसको नेतृत्व नगरेकाले अब आफूले कांग्रेसको नेतृत्व गर्न पाउनु पर्ने बताए । ‘१३ औं महाधिवेशनमा ममाथि धोका भएकै हो,’ उनले भने, ‘यसपटक तपाईंहरुको सहयोग हुनेमा विश्वास छ, मैले यसपटक नेतृत्व गरे कांग्रेस साँच्चिकै सुधारिन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।