कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले कर्मचारीलाई कार्यालयबाट लखेटेका छन् । शनिबार काम गर्न नपाउने भन्दै मेयर हमालले कर्मचारीहरुलाई अपशब्द प्रयोग गरेर गाली गर्दै कार्यालयबाट आज बिहान लखेटेका हुन् ।
कृषि विकास निर्देशनालय दिपायलको अनुदान मेसिनरी औजार वितरण कार्यक्रम अन्र्तगत किसानसँग सम्झौता गर्ने क्रममा मेयर हमालले कर्मचारीलाई कार्यालयबाट लखेटेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनक बहादुर सिंहले जानकारी दिए ।
‘कृषि निर्देशनालय अन्र्तगतको मेसिनरी औजार वितरण कार्यक्रम अन्र्तगत मलाई काजमा खटाएर किसानसँग सम्झौता गर्न पठाएको हो’, सिंहले भने, ‘कार्यालय भित्र कृषि शाखामा किसानलाई फारम वितरण गरिरहेको बेला मेयर साप आएर गाली गर्दै बाहिर पठाए ।’
नगरपालिकालाई कार्यक्रमका बारेमा हप्ता दिन अगाडि नै कार्यक्रमको बारेमा जानकारी दिइसकेको सिंहले बताए । नगरपालिकाको कृषि शाखाको बाहिर सूचना समेत टाँस गरेको उनले बताए ।
सिंहले भने, ‘मेयर सापले काम गर्न नदिएपछि नजिकै रहको इलाका हुलाक कार्यालयमा बसेर सम्झौता गरेर निस्कियौँ ।’ शुक्रबार कञ्चनपुरको बेलौरी, बेलडाँडी, पुनर्वास र लालझाडीमा किसानसँग सम्झौता गरिएको थियो । शुक्रबार काम सम्पन्न नभएको हुँदा शनिबार बिहान पनि कार्यक्रम राखिएको थियो ।
शनिबार कृष्णपुरका साथै भीमदत्त, शुक्लाफाँटा, बेदकोटमा सम्झौता सक्ने कार्यक्रम तय भएको प्राविधिक सिंहले जानकारी दिए । मेसिनरी सामग्री सम्झौता कार्यक्रममा प्राविधिक सहायक सिंहको नेतृत्वमा ४ जनाको टिम खटिएको थियो ।
निर्देशनालयले कञ्चनपुरमा १ सय ४६ जनालाई कृषि सामग्री वितरण गर्ने कार्यक्रम थियो भने कृष्णपुरमा १५ जनालाई वितरण गर्ने कार्यक्रम रहेको सिंहले जानकारी दिए ।
नगरप्रमुख हमाल केही दिन पहिले पनि रातिको समयमा रक्सी माग्दै एक होटल संचालकलाई धम्की दिएको आरोपमा विवादमा तानिएका थिए । यस बारेमा मेयर हमालसँग बुझ्न खोज्दा उनको फोन उठेन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।