कोरोना खोपका दुई अलग-अलग मात्रा लगाउनु कति उपयोगी  ?

कोरोना खोपको विकास हुनुअघि विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको प्रकोपलाई यस विरुद्धको खोपको विकासपछि नियन्त्रणमा लिन सकिन्छ भन्ने एक प्रकारको आमधारणा रहेको थियो । तर, खोपको विकास भइसकेपछि पनि केही मात्रामा बाहेक महामारी नियन्त्रणमा ठूलो उपलब्धि हुन सकिरहेको छैन । 

खोपको विकास भए पनि सबै प्रभावित राष्ट्रका जनतासम्म उपलब्धता नहुँदा महामारीको नियन्त्रणमा सोचेअनुरुप सफलता प्राप्त हुन सकिरहेको छैन । यसबीचमा विश्वका विभिन्न कम्पनीले कोरोना खोपको विकास गरी प्रयोगको अनुमति पाएका छन् । तर, कोरोना विरुद्धको खोप उत्पादनमा सक्रिय रहेका कम्पनीले आवश्यक मात्रामा खोप पुर्‍याउन सकिरहेका छैनन् । यसमा अझ ठूलो समस्या फरक कम्पनीका कोरोना खोप एक आपसमा मिलाएर प्रयोग गर्न नमिल्नु रहेको देखिन्छ ।

नेपालमा पनि अहिले खाेपकाे उपलब्धताका कारण चरम समस्या देखिएकाे छ । भारतबाट प्राप्त काेभिसिल्ड खाेपकाे पहिलाे मात्रा लगाएका व्यक्तिहरुले महिनाैँ भइसक्दा समेत दाेस्राे मात्रा लगाउन पाएका छैनन् । यसबीचमा चीनबाट भेराेसेल खाेप आएपनि कम्पनी फरक पर्दा पहिलाे मात्रा काेभिसिल्ड लगाएका व्यक्तिहरुले दाेस्राे मात्रा अरु कम्पनीकाे खाेप लगाउन अनुमति नभएका कारण लगाउन पाएका छैनन् ।

के फरक-फरक कम्पनीका कोरोना खोपको डोजलाई मिश्रण र मिलान गर्न सकिन्छ ? यो अहिले सबैभन्दा बढी चर्चा हुने प्रश्न बन्न पुगेको छ । एउटा कम्पनीको कोरोना खोपको पहिलो डोज लगाएका व्यक्तिलाई अर्कै कम्पनीको कोरोना खोपको दोस्रो डोज लगाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न अहिले सामाजिक सञ्जालदेखि स्वास्थ्य विज्ञ र सरुवा रोग तथा खोप विज्ञहरूलाई मुख्य रूपमा सोधिने प्रश्न बन्न पुगेको छ । 

नेपालमा केही समयअघि विभिन्न मिडियामा एउटा कम्पनीको कोरोना खोपको पहिलो खुराक लगाएका व्यक्तिले दोस्रो खुराक भने अर्कै कम्पनीको लगाउन मिल्ने भनेर समाचार आएको भन्दै विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले विज्ञप्ति नै निकालेको थियो । विज्ञप्तिमार्फत डब्ल्युएचओले अहिलेसम्म फरक कम्पनीका कोरोना खोपको खुराक मिश्रण गरेर लगाउनका लागि अनुमति नदिएको प्रष्ट पारेको थियो ।

यसबीचमा फरक-फरक कम्पनीका कोरोना खोपको पहिलो र दोस्रो डोज लगाउँदा पनि खोप प्रभावकारी हुने भन्दै विभिन्न सूचना तथा समाचार सामाजिक सञ्जालदेखि केही मिडियामा समेत आइसकेका छन् । यसै विषयमा विश्वका विभिन्न राष्ट्रका खोप विकास कर्ता कम्पनीहरूले पहिलो डोज एउटा कम्पनीको र दोस्रो डोज अर्कै कम्पनीको खोपको प्रयोग गरी अनुसन्धान तथा परीक्षण पनि गरिरहेका छन् ।



उक्त अध्ययनहरूको प्रारम्भिक नतिजामा भने फरक-फरक कम्पनीका कोरोना खोपको मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखिएको छ । अनुसन्धानकर्ताहरूले सुरुवाती रूपमा प्रभावकारी देखिए पनि यस विषयमा थप अध्ययन तथा अनुसन्धान भइरहेको र तथ्याङ्कहरू संकलनको काम भइरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको खोप युनिटका निर्देशक डा. काटे ओब्राइनका अनुसार कोरोना विरुद्धको आधिकारिक खोपको विकासको ढाँचा व्यक्तिमा रहेको प्रतिरोधात्मक क्षमता अर्थात् इम्युन सिस्टममा भाइरससँग लड्न सक्ने एन्टिबडीको विकास गर्ने गरी तयार गरिएको हुन्छ । डा. ओब्राइन भन्छन्, ‘त्यसका कारण खोप विकासको मान्यतामा आधारित रहेर तयार गरिएका फरक कम्पनीका खोपको डोज प्रयोग गर्दा पनि काम गर्छ ।’



खोप विकासको आधारभूत सिद्धान्तमा आधारित रहेर विकास भएका खोपहरूको कार्य प्रकृति एउटै किसिमको हुने भएकाले पहिलो र दोस्रो डोजमा फरक कम्पनीको खोप प्रयोग गर्दासमेत काम गर्ने डा. ओब्राइनको भनाइ छ । यसै विषयमा स्पेन र जर्मनीमा अहिले परीक्षणसमेत भइरहेको छ । 

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले अहिले अस्ट्राजेनेका, मोडेर्ना, नोभाभ्याक्स र फाइजर-बायोएनटेकले विकास गरेको कोरोना खोपको मिश्रणको परीक्षण गरिरहेका छन् । वैज्ञानिकहरूले ती कम्पनीहरूका खोपमध्ये एउटाको पहिलो डोज र अर्कोको दोस्रो डोजको मिश्रण गरेर स्पेन र जर्मनीमा परीक्षण गरिरहेका छन् ।

डा. ओब्राइन भन्छन्, ‘हामीलाई साँच्चै ती खोपहरूको मिश्रणबाट प्राप्त हुने नतिजाको प्रमाण चाहिएको छ ।’ यसबीचमा प्राप्त केही नतिजाका आधारमा फाइजरको खोप लगाएपछि अस्ट्राजेनेकाको मात्रा लगाउँदा प्रभावकारी रहेको देखिएको छ । समाचार एजेन्सी एपीले लेखेअनुसार फाइजरपछि एस्ट्रजेनेका खोप लगाउँदा प्रभावकारी देखिएको र त्यस क्रममा प्रयोगकर्तामा दुखाई र चिसोपनाको समस्या देखिएको थियो । 

फरक कम्पनीका खोपको मिश्रणकै विषयमा बेलायतकै वारविक विश्वविद्यालयका भाइरोलोजिस्ट लरेन्स योङको धारणा पनि समान देखिन्छ । योङले फरक-फरक कम्पनीका कोरोना खोपको मिश्रण र मिलानबाट अझ बलियो इम्युन रेस्पोन्स उत्पादन गर्नसक्ने बताएका छन् । उनी खोपको मिश्रणले काम गर्ने धारणा राख्छन् । 

अध्ययनका क्रममा उपयोगी देखिएको भन्दै अत्यन्त दुर्लभ रगतको थक्का (ब्लड क्लट्स) सँग सम्बन्धित अस्ट्रजेनेकाको खोपको पहिलो मात्रा प्रयोग गरेका व्यक्तिमा मोडेर्ना अथवा फइजरको खोपको दोस्रो मात्रा प्रयोग गर्नका लागि जर्मनी र फ्रान्समा अनुमति समेत दिइएको छ । गत बिहीबार मात्रै क्यानडाले पनि अस्ट्राजेनेकाको पहिलो डोज लगाएका व्यक्तिले दोस्रो डोज मोडेर्ना अथवा फाइजर लगाउन सक्ने गरी परीक्षण अनुमति दिएको छ ।

तर, बेलायत आफैंले भने सकेसम्म एउटै कोरोना खोपको दुई मात्रा प्रयोग गर्न भनेको छ । उसले उपलब्ध भएसम्म एउटै खोपको दुई मात्रा लगाउनका लागि सुझाव दिएको छ । केही गरी एउटै खोपको दुई मात्रा नमिलेमा पहिले लगाएको खोपको ब्लड क्लट्ससमेत मिल्ने गरी यकिन गरेर मात्रै प्रयोग गर्न भनेको छ । 

(एजेन्सीको सहयोगमा)

  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार १८:३६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया