अवैध रुपमा कोरोना खोप बिक्री गर्नेलाई कडा कारबाही गर्न उपभोक्ता मञ्चको माग

राष्ट्रिय उपभोक्ता मञ्चले नेपाली बजारमा अवैध रुपमा कोरोना खोपको कारोबार भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले कोरोना खोपको अवैध कारोबार गर्नेलाई कडा कारबाहीको माग पनि गरेको छ । 

मञ्चले विज्ञप्ति निकाल्दै नेपाली बजारमा अवैध माध्यमबाट कोरोना विरुद्धको खोपको बिक्री वितरण भइरहेको सूचना आफूलाई प्राप्त भएको भन्दै अनुगमन तथा कारबाहीका लागि सरकारसँग माग गरेको हो । 

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति जारी गर्दै कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकहरुले समयमा दोश्रो खोप लगाउन नपाउँदा हतोत्साहित र निराश बनेको स्थितिमा सरकारी निकायबाट नै खोप गायव भएको आश्चर्यजनक समाचारहरु आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

महर्जनले केही अनुचित व्यापारिक कृयाकलाप गर्ने, जनस्वास्थ्य माथि खेलबाड गर्ने केही भ्रष्ट मनस्थितिका व्यक्तिहरुले नेपालको पूर्वी नाकाहरुबाट काठमाडौं लगायतका सहरी क्षेत्रहरुमा कोभिसिल्डको खोप भन्दै अवैध रुपमा ३ हजारदेखि ५ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको गोप्य सूचना चिकित्सकहरुबाट प्राप्त भएको बताएका छन् । 

महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सर्वसाधारण जनताको जनस्वास्थ्य माथि खेलबाड गर्ने गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्दै तत्काल सरकारको सम्बन्धित निकायबाट अध्ययन, अनुसन्धान तथा छानविन गरी अनुचित व्यापारिक कृयाकलाप गर्ने वा मानव स्वास्थ्यमा खेलबाड गर्नेहरु विरुद्ध कडा भन्दा कडा कारबाही गरी पाउन अनुरोध गर्दछौँ ।'





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १३:२९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया