[अन्तर्वार्ता] 'सबै नागरिकलाई खाेप नदिएसम्म काेराेना नियन्त्रण गर्न सकिँदैन’

कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरका कारण सम्पूर्ण देश प्रभावित छ । देशका सबैजसो जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ । सुर्खेतमा वैशाख १४ गते रातिबाट जारी गरिएको निषेधाज्ञा आजसम्म पनि जारी छ । असार यता कोरोनाको जोखिम कम भएसँगै केही खुकुलो बनाइएको छ । कोरोनाका तेस्रो चौथो लहर आउने विज्ञहरूले अनुमान गरेका छन् । कोरोनाबाट जनतालाई जोगाउनु राज्यको दायित्व हो । तर सधैंभरि लामो समय निषेधाज्ञा, लकडाउन गर्नु कोरोना जित्ने माध्यम नभएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कंडेल बताउँछन् । कोरोनाका कारण समग्र व्यवसाय क्षेत्रमा परेको असर, सरकारको आगामी बजेटमा निजी क्षेत्र लगायतका विषयमा कँडेलसँग गरिएको कुराकानी:

लामो समय निषेधाज्ञा भयो व्यापार, व्यवसाय कस्तो अवस्थामा छ ?

कोरोनाको दोस्रो लहर देखिएपछि सुर्खेतसहित कर्णालीका १० वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यसले निजी क्षेत्रलाई एकदमै प्रभावित बनाएको छ । लामो समयसम्म व्यापार व्यवसाय बन्द अवस्थामा रहे । असार एक गतेबाट निषेधाज्ञा केही खुकुलो भएसँगै व्यवसायीलाई केही राहत भएको छ । निषेधाज्ञाले निजी क्षेत्रलाई अतुलनीय क्षति पुर्‍‍‍याएको छ । 

गत वर्षको लकडाउन र अहिलेको निषेधाज्ञाले निजी क्षेत्रलाई कस्तो असर गर्‍याे ?

गत वर्षको लकडाउनको तुलनामा यो वर्ष केही कम क्षति भएको छ । गत वर्ष चैत्रबाट झण्डै साउनसम्म लकडाउन भएको थियो भने यो वर्ष केही कम भएको छ । तर कोरोनाबाट गत वर्षको तुलनामा यो वर्ष धेरै मानवीय क्षति भएको छ ।

केन्द्र/प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई कसरी समेटेको पाउनुभयो ?



संघ र प्रदेश दुवै तहले समग्रमा कोरोना लक्षित बजेट ल्याएको महशुस भएको छ । आम नागरिकलाई बचाउने राज्यको पहिलो दायित्व हो । बजेटमा स्वास्थ्य क्षेत्रसँगै कृषि विकास, शिक्षाजस्ता क्षेत्रमा राम्रा कार्यक्रम आएका छन् । बजेटमा निजी क्षेत्रलाई लक्षित गरेर केही आर्थिक प्याकेज आउँछन्, औद्योगिक क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम आउँछन् भन्ने सोचेका थियौँ । तर त्यो प्रदेश सरकार तथा केन्द्रबाट आउन सकेन । कर्णाली प्रदेश सरकारले कृषि र पर्यटनको क्षेत्रमा राम्रो बजेट ल्याएको छ । 

निजी क्षेत्रलाई अझैपनि समेट्न सकिएको छैन । हामी सुर्खेतलगायत कर्णालीका दशवटै जिल्लामा बाह्य लगानीलाई आकर्षण गर्न विभिन्न प्याकेज, कार्यक्रम आओस् भन्ने चाहन्छौँ । चाहे ती आर्थिक क्षेत्र हुन या औद्योगिक क्षेत्र । हामीले प्रदेश सरकारसँग विगत तीन वर्षदेखि वीरेन्द्रनगरमा औद्योगिक क्षेत्र निर्माणको लागि भनिरहेका छौँ । तर प्रदेश सरकारले तीन वर्षदेखि नै औद्योगिक क्षेत्रलाई  अध्ययनको क्रममा राखेको छ । चरणवद्ध रूपमा काम टुङ्ग्याएर उद्योगहरूका लागि बजेटको व्यवस्थापन भएको भए आज निजी क्षेत्र यस्तो अप्ठ्यारो अवस्थामा हुने थिएन । पछिल्लो समय वीरेन्द्रनगरमा जग्गाको भाउ एकदमै महंगो छ । ४५ करोडको उद्योग सञ्चालन गर्न १० देखि १२ करोडको जग्गा किन्नु पर्छ । त्यसैले पनि निश्चित क्षेत्रमा औद्योगिक क्षेत्रको विकास गर्नु आवश्यक छ ।



वीरेन्द्रनगरमा रहेको विमानस्थललाई विस्तार गर्ने योजना प्रदेश सरकारको योजनामै सीमित छ । कहिले विस्तार गर्ने ? कहिलेसम्म हाम्रा कर्णालीवासीले नेपालगञ्जबाट अथवा चर्को मूल्य तिरेर काठमाडौँ जानुपर्ने हो । यसलाई व्यवस्थित गरेको अवस्थामा निजी क्षेत्रसँगै जनताहरूलाई सहज हुने थियो । आएको बजेट पनि अक्षरश पालना भएको अवस्थामा समग्र निजी क्षेत्रले चाहेको बजेट नआए पनि कृषि र पर्यटनको क्षेत्र, कोभिड नियन्त्रणको क्षेत्रमा राम्रो काम हुने थियो । 

पहिलो, दोस्रोजस्तै कोरोनाको तेस्रो, चौथो लहर पनि आउन सक्ने विज्ञहरू बताउँछन् । यदि साँच्चिकै आयो भने त्यसलाई कसरी सामना गर्नुपर्ला, सधैं लकडाउन गर्न सम्भव छ ?

कोरोना अब रुघाखोकीजस्तै भइसकेको छ । यसलाई जित्ने दुईवटा कारण छन् । एउटा सबै जनसमुदायलाई खोपको व्यवस्था गर्ने, जबसम्म सबै नागरिकलाई खोप दिँदैनौँ तबसम्म कोरोनालाई नियन्त्रण गर्न सकिँदैन । अर्को स्वास्थ्यका पूर्वाधारहरूको विकास गर्दै जानुपर्छ । पर्याप्त मात्रामा अक्सिजन र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नुपर्छ । लकडाउन त एउटा चेनब्रेक गर्नका लागि मात्रै हो । कोरोना जित्नका लागि भ्याक्सिनको व्यवस्थापन नै गर्नुपर्छ । लकडाउन कोरोना जित्ने माध्यम हैन । 

तेस्रो लहर असोज, कार्तिकदेखि आउँछ भनेर विज्ञहरूले भनिरहेका छन् । अब तेस्रो, चौथो लहरलाई सामना गर्ने गरी अघि बढ्नु जरुरी छ । तर त्यो भएको छैन, सुर्खेतमा वैशाख १४ गते अघि स्वास्थ्य क्षेत्र जस्तो अवस्थामा थियो अहिले पनि त्यस्तै अवस्थामा छ । 

दशैँ, तिहार, नयाँ वर्षजस्ता नेपालीहरूका ठूला पर्वमा व्यापार क्षेत्र धराशायी हुने गरेको छ । यदि यही अवस्थामा तेस्रो, चौथो लहर आएको अवस्थामा निजी क्षेत्र मात्र धराशायी नभई ठूलो मानवीय क्षतिसमेत हुन सक्छ । त्यसैले यसमा आजै देखि गम्भीर भएर लाग्नुपर्छ । 

लामो समयपछि बजार खुल्दैछ । अब कसरी अघि बढ्नु पर्ला ?

पछिल्लो समय शनिबार बाहेक अन्य दिनमा बिहान ६ बजेदेखि २ बजेसम्म पसल सञ्चालन गर्न प्रशासनले तोकेको छ । यसमा पनि केही निश्चित क्षेत्र मात्रै खुलाउने भनिएको छ । अब अर्को चरणमा अन्य क्षेत्र पनि खुलाउँदै जानुपर्छ । व्यापारी र ग्राहक दुबैले जनस्वास्थ्य मापदण्ड अपनाउँदै अगाडि बढ्नुपर्दछ । 

  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १९:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया