[अन्तर्वार्ता] महामारी घटेको हो, हटेको होइन

गत पुस १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले हृदयेश त्रिपाठीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए । मन्त्री नियुक्त भएको ५ महिना ११ दिनमा उनी पदमुक्त भए । यो पाँच महिनाको अवधिमा उनले भारतबाट पहिलो पटक कोभिड-१९ विरुद्धको खोप ल्याएका थिए । उक्त खोप आएपछि माघ १४ गतेदेखि देशभर खोप अभियान सुरु भएको थियो । त्यसपछिका कुनै पनि मन्त्रीले खोप ल्याउन सकेका छैनन् ।

पाँच महिने मन्त्री बनेका त्रिपाठीले अहिले सत्ता बाहिर रहेर कोरोना महामारीलाई कसरी हेरेका छन् ? त्रिपाठीसँग भएको कुराकानी : 

नेपालले खोप ल्याउन किन सकिरहेको छैन ? 

खोप संसारभर नै अभाव छ । अभाव भएका बेला समयमै खोप ल्याउन ढिलाइ भइरहेको हो । चाहना त धेरैको छ तर, खोप नै नभएपछि कसरी ल्याउन सकिन्छ ? खोपका विषयमा विश्वभर नै चिन्ता जाहेर भइरहेको छ । नेपालले पनि अहिलेसम्म खोप नपाएको विषयमा विश्व स्वास्थ्य संगठनले समेत चिन्ता व्यक्त गर्दै आएको छ ।

विश्वभरबाट नै माग आइरहेको र उत्पादन भने सीमित कम्पनीमा भइरहेकाले हामीले चाहेर पनि खोप ल्याउन सकिरहेका छैनौं । मेरो कार्यकालमा मैले खोप उत्पादन गर्ने कम्पनीसँग पटक-पटक संवाद गरेको थिएँ । उनीहरूबाट सकारात्मक जवाफ आएको थियो । अहिले पनि खोप पहल त भइरहेको छ । तर, सीमित मात्रामा खोप उत्पादन हुँदा हामीले चाहेर पनि सकिरहेका छैनौं । 

उपलब्ध नै नभएको खोपका लागि दबाब किन आउँछ ?



दबाब त धेरै आउने गरेको छ । जति संगठित संस्था हुन्छन्, त्यति धेरै दबाब आउँछ । तर, यसलाई दबावभन्दा पनि माग भन्नुपर्छ । जति पनि संघ संस्था छन्, निकाय छन्, उनीहरूले पहिला आफूलाई खोप लगाइदिएको भए हुन्थ्यो भनेर माग गर्छन् । 

होटल व्यवसायीहरू, ट्रेकिङमा जानेहरू, शिक्षकहरू, न्यायालय भयो, बार एसोसिएसन लगायतले संगठित रूपमा नै आफूहरू पनि फ्रन्टलाइनर भएकाले खोप लगाइदिनु पर्‍यो भनेर माग गर्नुहुन्थ्यो ।



सरकारले प्राथमिकता तोकेर नै खोप दिने प्रयास गरिरहेको छ । पहिलादेखि नै त्यही अनुसार हामीले प्राथमिकताका आधारमा खोप दिन थालेका थियौं । 

फ्रन्टलाइनरलाई हामीले पहिलो प्राथमिकताका दियौँ, त्यस्तै दोस्रो प्राथमिकता भनेको सरकारी निकायलाई दियौँ । किनभने अफिसहरू नै बन्द भयो भने जनताले सेवा कसरी पाउँछन् ? त्यही भएर दोस्रो प्राथमिकतामा उनीहरूलाई राखेर खोप दिएका थियौं ।

त्यसपछि भने उमेर समूहअनुसार खोप दिन थालिएको छ । उमेर समूह अन्तर्गत वृद्धवृद्धा, दीर्घरोगी लगायतलाई खोप दिएका थियौं । 

महामारी नियन्त्रणमा सरकार कसरी चुक्यो ?

यो महामारी भनेको रोकथामले नियन्त्रणमा आउने कुरा हो । यो उपचारले नियन्त्रणमा आउने कुरा होइन । म यो कुरा बुझाउँदा-बुझाउँदै थाकेर बाहिरी पनि सकें ।

के-के कारणले बढ्ने रहेछ त्यसको कारण विश्वले थाहा पाइसकेको छ । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको नै महामारी नियन्त्रणको बुटी हो । यी दुई-तीनवटा आधारभूत मापदण्ड नै संसारभर प्रयोगमा आइरहेका छन् ।

कुनै रोग मात्र भयो भने उपचार गरेर नियन्त्रणमा ल्याउन सकिन्छ । तर, महामारी भनेको संक्रमण हो । संक्रमण के-के कारणले बढ्छ त्यसलाई रोक्नुपर्छ । संसारमा कुनै पनि देश यस्तो छैन, जसले पूरै जनसंख्याका लागि अस्पताल बनाएको छ । जहाँ एक अर्ब जनसंख्या छ, त्यहाँ एक अर्बका लागि त अस्पताल छैन होला । त्यसैले यसका केही आफ्ना विज्ञान छन् । विज्ञानभन्दा बाहिर गयो भने नियन्त्रणमा आउन सक्दैन ।

महामारी नियन्त्रणका लागि सरकारले भनेअनुसार नै भइरहेकै थियो, तर किन नियन्त्रणमा आउन सकेन ? 

महामारी नियन्त्रणका लागि लकडाउन, निषेधाज्ञा, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भनेको त चेन ब्रेक गर्ने माध्यम हुन् । खोप पनि त्यसकै एउटा माध्यम हो । अझै पनि कोरोनाको कुनै पनि औषधी र उपचार बनेको छैन ।

अहिले संसारभर विकास भइरहेको खोप पनि परीक्षणकै क्रममा हो । यसले कसरी काम गर्दैछ भन्ने कुरा त हेर्दै जाने र अनुसन्धान गर्दै जाने हो । जुन कुरा विश्वभरका वैज्ञानिकहरूले गरिरहेका छन् । 

यो संक्रमण हटेको छैन, घटेको मात्र हो । जोखिम यथावत छ । अहिले फेरि हामी उच्छृङ्खल भयौं, अनुशासनहीन भयौं भने फेरि महामारी भयाबह बन्न सक्छ । 

फेरि हामी जुलुस प्रदर्शन, नारा, विवाह ब्रतबन्ध लगायतको भीडभाड हुने काम सुरु गर्‍यौं भने झ्याप्पै एकैचोटी आउँछ । त्यसका लागि कुनै सरकार दोषी हुँदैन, त्यसमा स्वयम् व्यक्ति नै दोषी हुन्छ । 

फेरि सडक प्रदर्शन, नारा जुलुस, विरोध सुरु भइसकेको छ । यसले फेरि नराम्रो परिणाम देखाउनेछ । महामारीको विषयमा एउटा फर्मुला के हो भने, ‘होल अफ द गर्भमेन्ट, होल अफ द सोसाइटी ।’ सरकारका सबै अंगहरू, समाजका सबै अंगहरू एकीकृत रूपले अगाडि बढेनौँ भने महामारीलाई पराजित गर्न सक्दैनौं । यस्तो अवस्थामा महामारीको सिकार नै भइन्छ ।

त्यसो भए नेपालमा कहिलेसम्म महामारी नियन्त्रणमा आउनसक्छ ? 

संक्रमण कम हुन थाल्यो भने, हेलचेक्र्याइँ बढ्न थाल्छ । मान्छे असावधानी हुन थाले भने फेरि महामारी त बढ्छ । संक्रमण हुन थाल्यो भने सरकारले त जनजीवन सहज बनाउँदै लैजान्छ । तर, त्यहाँ सावधानी हटिहाल्छ । त्यसले महामारी नियन्त्रणमा आउन गाह्रो छ । 

अब तेस्रो लहरको नजिक आइसकेका छौं । संसारका कतिपय देशमा तेस्रो लहर आइसकेको छ । हरेक लहर पहिलेको भन्दा बढी नै खतरनाक हुँदै गएको छ ।

नेपालमा पनि तेस्रो लहर कात्तिक/मंसिरतिर आउने र यसले बालबालिकालाई बढी प्रभावित पार्ने भन्ने अनुमान गरिएको छ । भाइरसले आफ्नो स्वरूप परिवर्तन गरिरहेको छ । अब बालबालिकालाई बढी असर गर्छ भन्ने हो । त्यसकारण अब हामी झन् सतर्क हुनुपर्ने अवस्था छ । महामारी कहिलेसम्म नियन्त्रणमा आउँछ भन्ने कुरा सरकारको हातमा हुँदैन । त्यसका लागि सबै ३ करोड जनता नै जिम्मेवार हुन्छन् ।

तपाईंले आफ्नो कार्यकालमा तेस्रो लहरबाट बच्न के-के तयारी थाल्नुभएको थियो ? 

म स्वास्थ्यमन्त्री हुँदा सबभन्दा बढी जोड स्वास्थ्य पूर्वाधारमा दिएको थिएँ । एनआइसियु, बच्चाहरूका लागि भेन्टिलेटर, पिआइसियु लगायतको व्यवस्थापन गरिरहेका थियौं । अब अलिकति पनि हेलचक्र्याइँ भयो भने अर्को लहर आउनेछ, अर्को लहर झन पीडादायी हुनेछ । झन अस्तव्यस्त गर्छ । मृत्युदर बढ्न सक्ने सम्भाव बढी हुन्छ । 
त्यसबाट जोगिनका लागि अहिलेसम्म अपनाउँदै आएको सावधानीलाई नै निरन्तरता दिनुपर्छ । अझ बढी सचेत भएर अगाडि बढ्नुपर्ने हुन्छ । तेस्रो लहर आउनुभन्दा अगाडि अस्पतालका सुविधाहरू विस्तारलाई जोड दिनुपर्छ । जसको सुरुवात मेरो कार्यकालमा गरेको थिएँ । अहिले पनि त्यसलाई अगाडि बढाइरहेको होला ।  

पहिलो लहरमा अक्सिजनको त्यति आवश्यकता परेन । दोस्रो लहरमा अक्सिजनको प्रयोग ह्वात्तै बढ्यो, अक्सिजनका लागि ठूलो समस्यामा परेका थियौं । अब आउने लहरका लागि भने अक्सिजनको समस्या हुँदैन । 

त्यसो भए अब सरकारलाई तपाईंको के सुझाव रहन्छ ? 

मैले अघि नै भनिसकेँ, तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन्छन् । त्यही अनुसार तयारी गर्नुपर्छ । अब कम्तीमा पनि ५०० भेन्टिलेटर राख्नुपर्छ । देशभर नभए पनि सहरी क्षेत्र र प्रादेशिक अस्पतालमा भेन्टिलेटर र आइसियुको व्यवस्था गर्नुपर्छ । जबसम्म कोरोना महामारीको अन्त्य हुँदैन तबसम्म स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने र अस्पतालको पूर्वाधार विकासमा जोडदिनुपर्ने हुन्छ । यति गर्न सकियो भने आउने नयाँ लहरबाट कम क्षति गर्न सकिन्छ ।

स्वास्थ्य पूर्वाधारको विकाससँगै सर्वसाधारणलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाइतिर सरकारले ध्यान दिनुपर्छ । महामारी जबसम्म नियन्त्रणमा आउँदैन तबसम्म स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नैपर्छ । यसमा सरकारले भन्दा पनि जनता सचेत हुनुपर्छ ।

  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १९:४१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया