एक साता थपियो निषेधाज्ञा : के-के खुल्ने, के-के बन्द ?

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्बिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । 

निषेधाज्ञा एक साता थपिए पनि भोलि मंगलबारदेखि यसअघि जारी गरिएको निर्देशनहरुमा केही परिवर्तन गर्दै केही खुकुलो बनाइएको छ । प्रजिअहरुको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गर्ने निर्णय गरेको हो । 

काठमाडौं उपत्यकामा भोलि मंगलबारदेखि किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् । यसअघि बिहान ११ बजेसम्म खुल्ने अनुमति पाएका पसलहरु अब दिनभर खुल्ने भएका हुन् । 

यस्तै, भाँडा, हार्डवेयर, लत्ताकपडालगायत बार तोकिएर सञ्चालनमा रहेका अन्य पसलहरु पनि प्रत्येक दिन खुल्ने भएका छन् । यसअघि बार तोकिएका ती सबै पसलहरु अब हरेक दिन बिहान ११ बजेदेखि ६ बजेसम्म खुल्न पाउने भएका छन् । 

तर, ती सबै पसलहरु सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड भने पूर्णरुपमा पालना गर्नुपर्नेछ । भौतिक दूरी र मास्क तथा स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको छ । 

गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञामा यसअघि गत सातादेखि निजी सवारीसाधन तथा ट्याक्सीलाई जोरबिजोर प्रणाली अन्तर्गत सञ्चालनको अनुमति दिइएको थियो । प्रजिअहरुको आजको बैठकले सार्वजनिक सवारीलाई पनि सञ्चालनको अनुमति दिएको छ । 



भोलि मंगलबारदेखि उपत्यकाका तीनै जिल्लामा सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा खुल्ने भएको छ । २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी जोरबिजोरको आधारमा चल्ने भएका हुन् । 

थपिएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम संचालनमा भने रोक लगाइएको छ । 



यस्तै, खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न गराउन तथा विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।

नित्य पूजाबाहेक अन्य धार्मिक तथा साँस्कृतिक गतिविधिहरु संचालन गर्न तथा शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु संचालन गर्न गराउन पनि रोक लगाइएको छ । 

 

  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १३:१७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया