Wed, 26 Feb, 2020


सामाजिक सञ्जालमा छाएको ओलीको ‘अरिंगाल’ र ‘मौरी’
फरकधार / असोज ८, २०७५

काठमाडौं– प्रायः विम्ब र उखान–टुक्का र उदाहरण दिएर भाषण दिएर नै आममानिसलाई आफूतिर आकर्षित गर्न खोज्ने ओलीको यो पुरानै बानी हो । 



प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो हप्ता कार्यकर्तालाई निर्देशन दिने क्रममा प्रयोग गरेका दुईवटा शब्दले सामाजिक सञ्जाल निकै ततायो । प्रधानमन्त्री ओली दैनिकजसो नै विभिन्न सभा समारोहमा पुगेर विभिन्न अभिव्यक्ति दिइरहेका हुन्छन् । तर, पछिल्ला भाषण्मा प्रयेग भएका दुई शब्द निकै चर्चित मात्र भएनन्, उनी आफैँका लागि पनि लज्जास्पद विषय बन्न पुग्यो । 

सन्दर्भ एकः नेकपाका नेता पोष्टबहादुर बोगटीको स्मृतिसभा– ३० भदौ । 

पार्टी मुख्यालय धुम्बाराहीमा नेकपाले स्मृतिसभा आयोजना गरेको थियो । उक्त स्मृतिसभामा निर्देशनात्मक सम्बोधन गरे, प्रधानमन्त्री ओलीले । सम्बोधनका क्रममा उनले सरकारमाथि चौतर्फी आलोचना र हमला बढेको भन्दै सोविरुद्ध अरिंगाल जसरि जाइलाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । 

उनले भनेका थिए, ‘एउटा अरिंगाललाई कसैले चलायो भने सिंगो गोलो ने जाइलाग्छ । हामीकहाँ त अरिंगालको जति पनि बुद्धि छैन कि के हो ?’ एउटा अरिंगाललाई मार्यो भने ठिकै छ भन्ने कि सबै एकैजुट भएर प्रतिवाद गर्ने ? भन्दै उनले कार्यकर्ताप्रति असन्तुष्टि प्रकट गरेका थिए । 

ओलीको अभिव्यक्ति यति भइरल भयो कि उनी स्वयं अचम्ममा परे । ‘अरिंगालझैँ जाइलाग्नू’ भनेर दिएको उनको अभिव्यक्तिले चिया चौतारीदेखि आमसञ्चार माध्यम मात्र होइन, सामाजिक सञ्जालदेखि संसद्मा समेत स्थान पायो । 

३० भदौको उक्त अभिव्यक्तिका कारण ओलीले पूरा हप्ताभरि नै आलोचना खेपे । १ असोज (सोमबार)मा संघीय संसद्मा नै यसको चर्चा बढ्यो । विपक्षी दलका सांसदले प्रधानमन्त्रीको बोली संयमित नभएको भन्दै संसद्मा गुनासो मात्रै गरेनन्, प्रधानमन्त्री ओलीले अरिंगाल जसरी जाइलाग्नू भन्नु उचित नभएको भन्दै खेद प्रकट गरे । प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्री ओलीलाई दलीय वितण्डा ल्याउन खोजेको आरोपसमेत लगाएका थिए । 

यता, प्रधानमन्त्री ओलीको उक्त निर्देशनपश्चात् नेकपाका नेता तथा कार्यकर्ता उनको अभिव्यक्तिको प्रतिरक्षा गर्ने अवस्थामा देखिँदैनन् । नेकपाका नेता घनश्याम भुसाल भने नेतृत्वलाई नै सुझाउन पछि परेनन् । उनले नेता तथा कार्यकर्ताले मात्र होइन, नेतृत्वले पनि अरिंगालबाट सामूहिकताको पाठ सिक्नुपर्ने भन्दै प्रतिकार गरे ।

दुईतिहाई बहुमतसहितको शक्तिशाली भनिएको सरकारले यति छिट्टै सरकारविरुद्धको आवाजलाई कमजोर पार्न नेता तथा कार्यकर्तालाई प्रतिरक्षाका लागि आह्वान गर्नुपर्ने स्थिति आउनु गम्भीर विषय भएको बताउँछन्, कांग्रेस नेता प्रदीप पौडेल । 

तर, प्रधानमन्त्रीको बोली कोहीप्रति पनि लक्षित नभएको भन्दै नेकपाकी नेतृ पम्फा भुसालले ओलीको बचाउ गरिन्, प्रतिनिधिसभा बैठकमा । सरकारको पछिल्लो समय भएको आलोचनाप्रति सबैले सामूहिक रूपमा डिफेन्स गर्न प्रधानमन्त्रीले आदेश दिनु सही भएको भन्दै उनले ओलीको बचाउ गरेकी थिइन् ।

सन्दर्भ दुईः वाम आन्दोलनकी नेतृ साहना प्रधानको स्मृतिसभा, ६ भदौ । 

आफूले बोलेको एउटा अभिव्यक्तिबाट हैरानी खेपेका प्रधानमन्त्री ओलीले आफ्नो बोली फेरे, एक हप्तापछि । ६ भदौमा पार्टी कार्यालयमै नेतृ सहाना प्रधानको स्मृतिसभा आयोजना भयो । उक्त सभामा पनि पार्टीका नेता तथा कार्यकर्ताको बाक्लै उपस्थिति थियो । त्यहाँ पनि प्रधानमन्त्री ओलीको सम्बोधन थियो । अघिल्लो हप्ताको बोलीका कारण आलोचनाको पात्र बनेका प्रधानमन्त्री ओली यसपटकको सम्बोधनमा भने निकै होसियार देखिए ।

होसियार मात्र भएनन्, यसअघि ‘अरिंगालझैँ जाइलाग्नू’ भनेका उनले यसपटक नेता तथा कार्यकर्तालाई मौरीजस्तो कर्ममा विश्वास गर्ने र मिलनसार बन्न निर्देशन दिए ।

प्रायः उखानटुक्का, बिम्व र उदाहरण दिएर भाषण गर्न माहिर प्रधानमन्त्री ओली ६ भदौको उक्त सभामा मौरीको प्रसंग जोडेर पुनः चर्चा बटुल्न सफल भए । उनले मौरीजस्तो लगनशील भएर देशको हितमा काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । 

प्रधानको चौथो स्मृति सभालाई सम्बोधन गर्दै उनले भने– ‘हामी एकताबद्ध हुनुपर्छ भनेको, तर्सिएर, झस्किएर उधुम नै भइहाल्यो, आज मौरी भन्छु । कर्मी मौरीजस्तो एकजुटताका साथ अघि बढ्ने हो ।’

उनको पहिले निर्देशनको आलोचना भएपछि पुनः त्यसलाई सच्याउँदै दिएको दोस्रो भनाइ पनि विवादमुक्त रहेन । यी दुवै अभिव्यक्तिबारे सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा चर्को आलोचना भयो । उनका यी दुई अभिव्यक्ति सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि त मजाकको विषय बन्यो । धेरैले ओलीलाई उडाए, धेरैले सुझाब पनि दिए ।


सामाजिक सञ्जालमा कसले के भने ?

उक्त अभिव्यक्तिप्रति कटाक्ष गर्दै पत्रकार उमेश चौहानले सामाजिक सञ्जालमा लेखेका छन्– ‘कार्यकर्तालाई कर्मशील मौरी बनाऊ, कृपया अंहकारी अरिंगाल नबनाऊ । जनतालाई सचेत नागरिक बनाऊ, कृपया अन्धभक्त भिड नबनाऊ ।’

त्यस्तै, ट्विटर प्रयोकर्ता तथा कवि सौरभ कार्की लेख्छन्– ‘दुईतिहाई विमानसहित लामो विमान उडान भर्न सक्ने र चातुर्य शक्ति बोकेको भनिएको ‘बाज’ बनेर सिंहदरबार छिरेको सरकार जनताबाटै जोगिन अरिंगाल बन्ने कुरो गर्छ भने मैले अचम्म नमान्नु !’

प्रधानमन्त्री ओलीले बोली फेरेसँगै कवि सौरभ कार्कीले अर्को कटाक्ष ट्विटरबाट नै पुनः दिन भ्याए । र लेखे–‘भनिन्छ, मुखयतया मौरीले कसैलाई टोक्नुको अर्थ उनीहरूले आफ्नो ‘रानी मौरी’को सुरक्षा गर्नु होे । र, यसरी कसैलाई टोकेपछि मौरीको दुःखद् मृत्यु हुन्छ । के अझै पनि मिस्टर केपी ओलीको भनाइबाट प्रस्ट हुँदैन र उनी एकदम चुतिया शासक हुन् भनेर ? हैट !!!’

राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले ट्विटरमा लेखेका छन्– ‘अरिंगालको गोलाझैँ जाइलाग । अर्थात्, न्याय माग्नेका मुख थुन, कुशासनको आलोचना गर्नेको सास निभाइदेओ । यो भनेको कार्यकारी ओली सरले कार्यकर्तालाई भनेको हो । कुन दिन यिनले सशस्त्र प्रहरीलाई भन्लान्– अरिंगालको गोलोझैँ जाइलाग । असल ओलीराजको आयु घटाउन ओलीको बोली नै काफी छ ।’

त्यस्तै अर्का ट्विटर प्रयोकर्ता कवि सुमनराज श्रेष्ठले लेखेका छन्– ‘पूर्वएमालेका केही साथीहरू यसै अरिंगालजस्ता थिए । उनीहरूका अघि ओली र ओली सरकारबारे केही टिप्पणी गर्नै हुन्थेन, सातो खाइहाल्थे । प्रम ओलीको हिजोको निर्देशनपश्चात् पूर्वमाओवादीका केही साथी पनि अरिंगाल नै भए भने के हुने होला ? डर लाग्न थालेको छ । अरिंगाल–आतंक ।’

ट्विटर प्रयोगकर्ता देवेन्द्र बर्माले लेखेका छन्– ‘भएको केही छैन, पहिले मार्सी चामल बिक्यो, अब अरिंगालको मह बिक्छ रेन्त ।’ 

पत्रकार खगेन्द्र पन्तको ट्विट  छ– ‘पार्टी अध्यक्षले अरिंगाल बन्न निर्देशन दिएपछिको अवस्थामा नेकपाका कार्यकर्ताले अब केही समय ‘उठ जाग हे भोका नांगा...’ भन्ने अन्तर्राष्ट्रिय कम्युनिष्ट गीतको सट्टा ‘जस्ट चिल चिल...’ गाउनुपर्ने देखियो ।’ 

प्रचण्ड’ले पनि फेरेका थिए बोली

प्रधनामन्त्री ओलीले जस्तै पूर्वप्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बोली परिवर्तन गरिरहने नेताका रूपमा परिचित छन् । अहिले ओलीलाई परेको जस्तो आफ्नै बोलीको पीडा पहिलो संविधानसभा चुनावअघि प्रचण्डलाई पनि परेको थियो । 

पहिलो संविधानसभाको चुनावअघि उनले वाइसिएललाई आक्रामक रूपमा उत्रिनका लागि निर्देशन दिएका थिए । उनको उक्त निर्देशनको त्यतिवेला पनि धेरै नै टीका–टिप्पणी भएको थियो । 

आफ्नो बोलीको चर्को आलोचना भएपछि प्रचण्डले पुनः बोली फेर्दै ‘गान्धी’ बन्न वाइसिएललाई निर्देशन दिए । यसरी उनले बोली परिवर्तन गर्न माहिर नेताका रूपमा आफूलाई प्रमाणित गरेका थिए । 
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्