सहिदको फोटो हटाएर मन्त्रीले राखे आफ्नो कार्यकक्षमा कांग्रेस नेताको फोटो

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्नुमा सहिदहरूको ठूलो योगदान छ । मधेश आन्दोलनकै जगमा स्थापना भएको प्रदेश-२ सरकारका लागि त्यस आन्दोलनमा सहिद हुनेको बलिदान र योगदानको निकै महत्व हुनुपर्ने हो ।

प्रदेश-२ सरकारका एक मन्त्रीका लागि भने मधेश आन्दोलनका सहिद भन्दा भन्दा आफ्ना दलका नेताहरुको फोटो प्यारो लागको देखियो । प्रदेशका यसअघिका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आफ्नो कार्यकक्षमा मधेश आन्दोलनका सहिद र जनआन्दोलनका सहिदहरूकाे तस्बिर राखेका थिए।

तर नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले ती तस्बिरहरु हटाएर कांग्रेसका नेताहरुको तस्बिर राखेका छन् । मन्त्री यादवले तस्बिरमा समेत राजनीति गरेको भनी उनको आलोचना भइरहेको छ।

 गत जेठ २६ गते नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका यादवले  विपी कोइराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्र र सहिद दुर्गानन्द झाको फोटो राखेका छन् । 

यसअघि त्यहाँ मन्त्रीको कुर्सीमाथि मधेश आन्दोलनका सहिद तथा जनआन्दोलनका सहिदहरूको तस्बिर थियो । ती अहिले हटाइएका छन् । 



प्रायः मन्त्रालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने परम्परा छ । अन्य देशहरूमा समेत मन्त्रालयमा राष्ट्राध्यक्षको तस्वीर राख्ने गरिन्छ । डा.रामवरण यादव राष्ट्रपति रहेको समयमा नेपाल विद्यार्थी संघले समेत सरकारी कार्यालयमा राष्ट्रपतिको तस्वीर राख्ने अभियान नै संचालन गरेको थियो । सोनल मन्त्री हुँदा मधेस आन्दोलनका साथै जनआन्दोलनका सहिदको तस्बिर मन्त्रालयमा राख्न लगाए । 



मन्त्री यादवका स्वकीय सचिव धिरेन्द्र मोहन झाले मन्त्रीको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो पहिलेदेखि नै नरहेको जानकारी दिए । उनले पहिलेदेखि नै रहेको सहिदहरूको तस्बिर नहटाइएको र चारवटा फोटो थप गरिएको दावी गरे । सहिदको तस्बिरलाई सोही कोठाको अन्य भित्तामा राखिएको उनले जानकारी दिए। 
 
यसअघि सोही मन्त्रालयका मन्त्री रहेका जितेन्द्र सोनलले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखिएको वा नराखिएको भन्ने विषयमा आफूलाई स्मरण नरहेको बताए ।

  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १६:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया