विम्बहरूको प्रस्तुतिः पर्फमेन्स आर्ट

भुइँमा पछारिएका दुई युवती । दुई युवक उनीहरूलाई डोरीले बाँधिरहेका । युवतीको छातीमा च्यातिएको कपडा । अचानक आएर एक युवक उनीहरूलाई ओल्टाई–पल्टाई गर्छन् । युवतीहरूको नजिक गएर उनीहरूलाई चुम्छन्, निमोठ्छन् । उताका दुई युवकले युवतीहरूलाई बाँधेको डोरी तान्न खोज्दा त्यो युवकले डोरी काटेर उल्टै उनीहरूको मुहारमा पट्टी बाँधिदिएर लडाउँदै उनीहरूमाथि चढेर बस्छ ।

शनिबार साँझ वसन्तपुरमा आयोजित निर्मलाका निम्ति कविता वाचन कार्यक्रमको बीचमा गरिएको ‘पर्फमेन्स आर्ट’का दृश्य हुन्, यी । आभा फर क्रिएटिभिटी नामक संस्थाले विम्बात्मक शैलीमा गरेको पर्फमेन्सले बलात्कारको घटनालाई प्रतिविम्बित गरेको थियो ।

यसरी ‘पर्फम’ गर्नेहरूमध्येका एक कलाकार रसिक राज भन्छन्, ‘पर्फमेन्स आर्ट’ भनेको विनासंवाद हाउभाउमार्फत प्रस्तुत गरिने एक प्रकारको नाटक हो ।’

आफूमा भएका भावना, सामाजका विभिन्न घटना, कुण्ठा, रिसजस्ता विषयवस्तुलाई शारीरिक हाउभाउसँगै रंग,  कागज आदि प्रयोग गरेर प्रस्तुत गर्ने कलालाई पर्फमेन्स आर्ट भन्न सकिन्छ । मुख्यः रूपमा शरीरकै हाउभाउमा केन्द्रित रहने कला हो, पर्फमेन्स आर्ट । 

एक प्रकारकोे नाटक भए पनि यसलाई नाटक भन्न नमिल्ने रसिक बताउँछन् । उनी भन्छन्, ‘नाटकमा रिहल्सल हुन्छ, संवाद हुन्छ । तर, पर्फमेन्स आर्ट कुनै विषयवस्तुलाई केन्द्रमा राखी गरिने एउटा कला मात्र हो । यसका लागि कुनै तयारी हुँदैन ।’ एकै शब्दमा भन्ने हो भने नाटकलाई पुनः प्रस्तुत गरिन्छ । तर, पर्फमेन्स आर्टलाई ठाउँअनुसार फरक–फरक रूपमा प्रस्तुत गरिन्छ । 

पर्फम गर्दागर्दै कलाकारले विषयवस्तुमा केन्द्रित रहेर आफ्नो अभिनयलाई परिवर्तन गर्न पनि सक्छन् । त्यसैले पनि एकपटक गरिएको पर्फमेन्स आर्ट अर्कोपटक गर्दा नाटकमा झैँ पहिलेको जस्तै हुँदैन ।



पर्फमेन्स आर्टमा केन्द्रित संस्था ‘बिन्दु’का संस्थापक पृथ्वी श्रेष्ठ भन्छन्, ‘आफ्नो शरीरलाई नै कुनै क्यानभासको रूपमा प्रयोग गरेर विभिन्न विम्बको सहायताले प्रस्तुत गरिने प्रस्तुति पर्फमेन्स आर्ट हो ।’

यसमा कलाकारसँगै दर्शक पनि सामेल हुन सक्छन् । कुनै स्क्रिप्टमा केन्द्रित रहेर अभिनय नगरिने भएकाले यसको पूर्वतयारी नाटकको जस्तो हुँदैन । नाटकजस्तो यसलाई कुनै थिएटरमा प्रस्तुत गरिँदैन । नाटकमा कलाकारले आफूलाई कुनै पात्रका रूपमा प्रस्तुत गर्ने गर्छ । तर, पर्फमेन्स आर्टमा आर्टिस्टले पूरै कथावस्तुलाई प्रस्तुत गरिरहेको हुन्छ । नाटकमा जस्तो हरेक पात्रको आफ्नो आफ्नो भूमिका रहेको हुँदैन ।



‘कलाकारले आफ्ना अनुभूतिलाई शारीरिक रूपमा प्रस्तुत गर्ने पर्फमेन्स आर्ट कलाको एक भाग हो ।’ पर्फमेन्स आर्टिस्ट अनिल सुब्बा भन्छन्, ‘जहाँ मानिसको भिड हुन्छ, त्यहाँ यसलाई प्रस्तुत गर्न सकिन्छ । यसलाई सडकदेखि ग्यालरी जहाँ पनि प्रस्तुत गर्न सकिन्छ ।’

विम्बात्मक तरिकाले प्रस्तुत हुने भएकाले पनि यसलाई अधिकांश मान्छेले सजिलै बुझ्न सक्दैनन् । विषयवस्तुलाई झल्काउने अभिनय भए पनि यसले विषयवस्तुको बारेमा कुनै स्पष्टीकरण दिँदैन ।

‘पर्फमेन्स आर्ट बुझ्नु कठिन काम हो,’ पृथ्वी श्रेष्ठ भन्छन्, ‘दर्शकले आफ्नो बौद्धिकताअनुसार यसलाई लिन सक्छन् । कहिलेकाहीँ प्रस्तुत गरेको विषयवस्तुभन्दा फरक रूपमा बुझ्न पनि सक्छन् ।’

पर्फमेन्स आर्टमा दर्शकको बुझाइ मुख्य भएकाले यसलाई दर्शकले आफ्नै आफ्नै तरिकाले हेर्न र बुझ्न सक्छन् । यो एउटा वैचारिक प्रस्तुति भएकाले दर्शकको विचार कति शक्तिशाली छ, उसले त्यति नै मात्रामा पर्फमेन्सलाई बुझ्न सक्छ । 

ललितकलाअन्र्तगत पर्फमेन्स आर्ट अध्ययन गरेका रसिक भन्छन्, ‘कलाकारको प्रस्तुतिलाई दर्शकले आफूसँग जोडेर हेर्नुपर्छ । दर्शकले कति मात्रामा महसुस गर्छन्, त्यति नै मात्रामा उनीहरूले बुझ्न सक्छन् ।’

                                                                                ०००

दोस्रो विश्वयुद्धताका सुरुवात भएको पर्फमेन्स आर्टलाई त्यो समयमा प्रदर्शन गर्ने माध्यमको रूपमा प्रयोग गरिएको थियो । सन् १९४० को दशकबाट विकास भएको मानिने पर्फमेन्स आर्टलाई एक्सन आर्टको नाम दिएर युरोप, अमेरिकालगायत देशमा प्रस्तुत गरिन्थ्यो ।

नेपालको सन्दर्भमा हेर्दा २००० को दशकमा माओवादी द्वन्द्वको समयमा ‘विचलित वर्तमान’ नामक अभियानबाट यसको सुरुवात भएको भन्न सकिन्छ । त्यतिवेला विरोधको रूपमा अस्मिना रञ्जित र सुदिना श्रेष्ठको समूहले पर्फमेन्स आर्ट गरेका थिए । यसअघि पनि पर्फमेन्स भए पनि तीव्र रूपमा भने २००२ बाट यस्तो प्रस्तुति हुन थालेको हो । परम्परागत लाखे नाच, भैरव नाचलगायत संस्कृतिलाई एक प्रकारको पर्फमेन्स आर्टकै रूपमा हेर्न सकिन्छ ।
                                                                               

                                                                                   ०००

कविता तथा कथालाई पनि पर्फमेन्स आर्टको शैलीमा प्रस्तुत गर्न सकिन्छ । आफूले तयार गरेको कन्सेप्टलाई परिस्थितिअनुसार परिवर्तन गरेर पनि यसको प्रस्तुति गरिन्छ । रंग, संगीतलगायत प्रयोग गरेर प्रस्तुत गरिने भएकाले पर्फमेन्स आर्टलाई कलाको कम्प््याक्ट फर्म अफ आर्ट भन्न सकिन्छ । 

पर्फम गर्दा कलाकारको आवाज प्रयोग नगरे पनि बाजागाजा, रंग, चित्रकला, काजगलगायत माध्यमको भने प्रयोग गरिएको पाइन्छ । विश्वमा भइरहेको पर्फमेन्स आर्टलाई हेर्ने हो भने यसको सम्बन्ध रंग र चित्रकलासँग राम्रोसँग गाँसिएको छ । पर्फमेन्स आर्टमा धेरैजसो रंगको प्रयोग भएको पाइन्छ । 
                                                                         

                                                                                     ०००

काठमाडौंमा मात्र केन्द्रित रहेको पर्फमेन्स आर्टलाई बाहिरी सहरमा निकै कम मात्रामा प्रस्तुत गरिन्छ । यसलाई हरेक मान्छेको पहुँचमा पुर्याएर प्रस्तुत गर्दा सामाजिक विषय वस्तुलगायतबारे सन्देश दिने राम्रो माध्यम बन्न सक्छ ।

‘इतिहासलाई नै हेर्ने हो भने कलाका सीमित दर्शक हुन्छन,’ रसिक भन्छन्, ‘जति धेरै पर्फम गरिन्छ, त्यति नै यसलाई आमसमुदायमाझ पुर्याउन सकिन्छ ।’

‘नेपाल सरकारले कलालाई वेवास्ता गरेको छ,’ पर्फमर अस्मिना रञ्जित भन्छिन्, ‘अरू देशको तुलनामा हेर्दा नेपाली कला साहित्य क्षेत्र निकै पछि छ ।’

व्यक्तिगत रूपमा लुना पोयट्स, बिन्दु, लासनाजस्ता विभिन्नसंस्थाले पर्फमेन्स आर्टको क्षेत्रमा काम गरेको भए पनि सरकारी रूपमा शून्य काम भएको छ । नेपाल आर्ट काउन्सिलले हरेक वर्ष गर्ने प्रदर्शनीमा पर्फमेन्स आर्टलाई समावेश गर्दै आएको छ । 

यसका अलवा हिमालयन आर्ट काउन्सिलले पनि पर्फमेन्स आर्टका काम गर्दै आएको छ । ललितकला प्रतिष्ठानअन्तर्गत न्यु मिडियामा पढाइ हुने भए पनि व्यवस्थित रूपमा भने यसलाई अघि बढाउन सरकारले जति पहल गर्नुपर्ने हो त्यसमा भने कमी रहेको छ ।

  • प्रकाशित मिति : असोज ८, २०७५ साेमबार १४:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया