खाल्डे सडकमा पानीका ताल, पैदल हिँड्नै मुस्किल
निर्माणकाे काम समयमै हुन सकेन

वीरेन्द्रनगर उपत्यकाकाे प्रमुख सडक हुन्, मंगलगढी, लाटीकोइली र काँक्रेविहार । सवारी साधनको अत्यधिक चाप हुने यी सडक हाल पानीका तालमा परिणत भएका छन् । छिनछिनमा आउने वर्षाले सडकमा पानीका ताल बनाउन थालेको छ । पुनर्निर्माणको काम समयमा नै सम्पन्न नहुँदा हिले सडकमा यात्रुहरूले सास्ती पाइरहेका छन् । 

वीरेन्द्रनगरको व्यस्त बजार मंगलगढी चोकबाट लाटीकोइली हुँदै ऐतिहासिक पर्यटकीय क्षेत्र काँक्रेविहार, शिव मन्दिर लगायतका धार्मिक स्थल जोड्ने सडकमा पुनः निर्माणको काम अलपत्र पर्दा वीरेन्द्रनगरका जनता आजित भएका छन् ।

वर्षायाममा हिले सडकले यात्रा गर्न सास्ती भएको स्थानीयबासी बताउँछन् । ‘पानी पर्दा हिलो सडकमा पैदल हिँड्न गाह्रो पर्छ’, वडा नम्बर ९ स्थित लाटीकोइलीमा बसोबास गर्दै आएका दिपक थापाले भने, ‘लामो समयदेखि निर्माणको चरणमा रहेको सडक समयमा निर्माण हुन सकेको छैन । यात्रा गर्नेले नपाउनु दुख पाएका छन् । सडक दुर्घटनाको जोखिम समेत बढेको छ ।’ 

पानी पर्दा हिलो र घाम लाग्दा धुले सडकले आफूहरूलाई हैरान  भएको उनको भनाइ छ ।

बजेट हुँदाहुँदै पनि सरकारी क्षेत्रको ठूलो कमजोरीका कारण सडक निर्माणको काम अघि बढ्न नसकेको वीरेन्द्रनगरमा नै बसोबास गर्दै आएका रमेश भण्डारीले बताए । ऐतिहासिक काँक्रेविहार क्षेत्र, शिव मन्दिरजस्ता पुरातात्विक सम्पदाले भरिपूर्ण लाटीकोइलीमा सडक निर्माणले प्राथमिकता नपाउनु दुखद कुरा भएको उनी बताउँछन् । 

सडक पुनः निर्माण सुरु हुन लागेको झण्डै ३ वर्ष भए पनि १० प्रतिशत कामसमेत हुन सकेको छैन । गएको आर्थिक वर्ष २०७६÷०७७ मा वीरेन्द्रनगर नगरपालिकाले सडकको केही भागमा नाला निर्माणको काम गरेको थियो । झण्डै ५ करोडमा उक्त नाला निर्माण गरेको नगरपालिकाले अन्य काम गर्न सकेको छैन । हाल सडक निर्माणका लागि विद्युतका तार पन्छाउने, निर्माण क्षेत्र छुट्याउनेजस्ता काम भइरहेका छन् । 



यसअघि वीरेन्द्रनगर नगरपालिका नाल निर्माणको काम गर्ने र फिलिङ, पिच गर्ने काम प्रदेश सरकारले गर्ने सहमति भएको थियो । तर पछि नाला निर्माणको काम नसकिँदा प्रदेश सरकारबाट हुने ४ करोडको टेण्डर प्रक्रिया रोकिएको थियो । 

हाल प्रदेश सरकारले एक्लै उक्त सडक निर्माण गर्ने गरी टेण्डर प्रक्रिया सुरु भएको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताए । ‘हाल ८ मिटर चौडाइ रहेको उक्त सडक २५ मिटर चौडाइ सहितको फोरलेन निर्माण हुनेछ,’ उनले भने, ‘सडक निर्माणमा लाग्दा जग्गाको विवाद, विद्युतका पोल समयमा नै प्राधिकरणले नसार्दा तीनवटा मुद्दा समेत परेका थिए । मुद्दा प्रक्रियामा जाँदा समेत ढिला भएको हो ।  सबैजसो विवाद समाधान भइसकेको छ । अब सडक निर्माणले गति लिनेछ ।’ 



मंगलगढी चोकदेखि शिव मन्दिरसम्म जोड्ने २३ सय मिटर सडक आगामी आर्थिक वर्ष २०७८/०७९ मा सक्ने प्रदेश सरकारको लक्ष्य छ । 

पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले चालू आर्थिक वर्षमा टेण्डर प्रक्रिया सकिने र आगामी आर्थिक वर्षको सुरुदेखि नै काम सुरु हुने बताए । ‘टेण्डर आह्रवान गरेर मन्त्रालयमा प्राविधिक मूल्याङ्कनका लागि पठाइएको छ,’ उनले भने, ‘जसमा ८ वटा निर्माण कम्पनीले आवेदन दिएका छन् । अब एक हप्ताभित्र कुनै एक कम्पनीसँग सम्झौता हुन्छ ।’

उक्त सडक निर्माणका लागि प्रदेश सरकारले भ्याटसहित १७ करोड रकम विनियोजन गरेको छ । सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले विभिन्न समयमा विरोध गरिरहेका छन् । यसअघि स्थानीयले सडकमा नै खेत रोपेर विरोध जनाएका थिए । 

  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १५:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया