पदाधिकारी बैठकमा ‘झन्डै कुटाकुट’ भएको काङ्ग्रेस क्रियाशिल सदस्यता विवाद के हो ?

१६–१९ भदौमा १४ औँ महाधिवेशन घोषणा गरे पनि नेपाली काङ्ग्रेसमा अहिलेसम्म क्रियाशिल सदस्यता विवाद समाधान भएको छैन । क्रियाशिल सदस्यता विवाद समाधान गर्नका लागि रमेश लेखक नेतृत्वमा एउटा समिति त बनेको छ तर यो समितिले पनि उल्लेख्य रुपमा काम गर्न सकेको छैन । त्यसैले कांग्रेसमा पछिल्ला दिन यस विषयमा विवादहरु बढ्न थालेका छन् ।

कांग्रेसमा प्राथमिक मतदाता क्रियाशिल सदस्य भएकाले यो समस्या समाधान नभएसम्म कांग्रेसको महाधिवेशन हुने या नहुने निश्चित गर्न सकिँदैन । 

‘क्रियाशिल सदस्यता विवाद समाधान गर्न होइन, आफू अनुकूल बनाउन नेताहरु लागेकाले अहिले यो विवाद समाधानका लागि एउटा स्पष्ट खाका बन्न सकेको छैन,’ क्रियाशिल सदस्यता विवाद समाधानका लागि बनेको समितिका एक सदस्यले फरकधारलाई बताए, ‘यसले गर्दा अहिलेको अवस्था गन्जागोल भएको छ ।’

तर, क्रियाशिल सदस्यता विवाद अहिले लगभग ५ सय वटा वडामा मात्र भएकाले ९२ प्रतिशतभन्दा बढी समस्या समाधान भइसकेको समितिका ती सदस्यले बताएका छन् ।

फरकधारले कांग्रेस महाधिवेशनमा आधारित यसअघिका प्रकाशित सामग्रीमा क्रियाशिल सदस्यताबारे के विषयमा विवाद भएको भन्नेबारे समाचार प्रकाशन गर्ने जानकारी दिएको थियो । आजको यो समाचारमा हामी यही विषयमा केन्द्रित हुनेछौँ ।

कांग्रेसले आइतबार मात्र केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक डाकेको थियो । पदाधिकारी बैठकमा क्रियाशिल सदस्यता विवाद कसरी सुल्झाउने भन्ने विषयमा छलफल भएको थियो । अन्तिममा यसका लागि प्रष्ट खाका बनाउन कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी दिएको छ । तर, यही विषयमा आइतबार साँझ अबेरसम्म केन्द्रीय कार्यालयमा भएको बैठकमा नेताहरुबीच झन्डै कुटाकुटा भएको थियो ।



आउनुहोस्, चर्चा गरौँ, कांग्रेसको क्रियाशिल सदस्यताबारे विवाद कुन कुन विषयमा छ भन्नेबारे ।

यसपटक कांग्रेसले आफ्नो पार्टीको क्रियाशिल सदस्यको संख्या यसअघिको भन्दा ठ्याक्कै दोब्बर बनाउने निर्णय गरेको थियो । यही अनुसार विभिन्न जिल्ला वा विभिन्न जिल्लामा पनि पुराना क्रियाशिल सदस्य संख्या बराबर नयाँ थप्न दिइएको थियो ।



तर, विभिन्न जिल्ला वा विभिन्न वडाबाट सतप्रतिशतभन्दा धेरै क्रियाशिल सदस्यको सिफारिस केन्द्रमा आइसकेको छ । 

यसलाई अझ सहज रुपमा बुझौँ । मानौँ, कुनै एउटा वडामा यसअघि १ सय जना क्रियाशिल सदस्य थिए । अनि अहिले नयाँ क्रियाशिल सदस्यको संख्या १ सय ७० भयो । कांग्रेसले लिएको नीतिअनुसार यसअघि सय जना क्रियाशिल सदस्य भएकाले त्यो वडामा थप्न मिल्ने अर्को सय जना मात्र थियो । अब ७० जना बढी भएपछि त्यसलाई कसरी हटाउने भन्ने विषयमा अहिले विवाद देखिएको छ । वडाको सिफारिसविना नै क्षेत्रले तोकेका क्रियाशिल सदस्यहरुलाई के गर्ने भन्ने विषयमा पनि अहिले कांग्रेसमा विवाद मिल्न सकेको छैन ।

क्रियाशिल सदस्यताबारे विवाद भएको अर्को बुँदा हो– कति तहबाट सिफारिस र अनुमोदितलाई क्रियाशिल सदस्यता दिने । कांग्रेसले क्रियाशिल सदस्यता दिनका लागि चार टायर वा तह बनाएको थियो । ती तह हुन्– वडाको प्रस्ताव, पालिकाको छानबिन, प्रदेशको छानबिन र प्रतिनिधि सभा क्षेत्रको अनुमोदन । अर्थात् वडा, पालिका र प्रदेशबाट पारित भएर आएका क्रियाशिल सदस्यलाई अनुमोदन गर्ने काम प्रतिनिधिसभा क्षेत्रको हो । तर, यसमा पनि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति हुन सकेको छैन ।

यसमा दुवै पक्षका आआफ्ना धारणा र दाबी रहेका छन् । स्रोतका अनुसार पौडेल पक्ष चारै तहले मान्यता दिएपछि मात्र क्रियाशिल सदस्यता दिनु पर्ने धारणामा अडिग छ भने देउवा पक्षले वडाले गरेको सिफारिसलाई नै अन्तिम मान्यता दिन दबाब दिइरहेको छ ।

तर, यस विषयमा साझा धारणा अहिलेसम्म बन्न सकेको छैन ।

कांग्रेस क्रियाशिल सदस्यता विवादमा थप पेचिलो बनेको छ, तेस्रो बुँदा । नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि कांग्रेससँग पार्टी एकता गरे विजयकुमार गच्छदारले । लोकतान्त्रिक फोरमलाई कांग्रेससँग एकीकरण गर्दा नेपाली कांग्रेसले उनलाई २५ हजार क्रियाशिल सदस्यता दिने सम्झौता भएको थियो । तर, अहिले यो संख्या निकै बढेकाले यस विषयमा समायोजन कसरी गर्ने भन्ने विषयमा पनि कांग्रेसमा विवाद बढेको छ ।

पछिल्लो समय विजयकुमार गच्छदारको नाममा शेरबहादुर देउवा पक्षधरले आफ्ना निकटकाे मात्र सिफारिस बढाएको आरोप पौडेल पक्षले लगाएको छ ।

यो समायोजन समितिको नेतृत्व गरेका छन् १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तय गरेका विमलेन्द्र निधिले । निधि तथा सभापति शेरबहादुर देउवा यस विषयमा एकमत देखिएका छन् । उनीहरुले फोरमबाट आएकाहरुलाई जिल्लाले इन्ट्री नगरेको भए पनि केन्द्रबाट क्रियाशिल सदस्यता दिनु पर्ने माग राखेका छन् ।

तर, पौडेल समूह यसमा सहमत छैन । पौडेल समूह चाहिँ यो विवाद मिलाउन सबैभन्दा पहिले सम्बन्धित जिल्ला तथा क्षेत्रमा जानु पर्ने धारणामा अडिग छ । पौडेल समूहले सम्बन्धित जिल्लामा अहिलेका कांग्रेस सभापति र तत्कालीन गच्छदारको पार्टीका अध्यक्ष वा क्षेत्रमा प्रतिनिधि बसेर यो विवाद जिल्ला वा क्षेत्रबाट नै टुंग्याउने पर्नेमा आफ्नो मत राखिरहेको छ ।

पौडेल पक्ष यो विवादमा मापदण्ड बनाउने र मापदण्डअनुसार पूरा नभएकालाई फेरि जिल्लागत तहबाट नै यो विषय समाधान गरेर आउनु पर्ने धारणा राखिरहेको छ । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार देउवा वा निधि चाहिँ यसमा सहमत छैनन् ।

अहिले क्रियाशिल सदस्यता विवादमा सबैभन्दा अप्ठ्यारो देखिएको अर्को पक्ष हो– विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशिल सदस्यता दिने या नदिने विषयमा ?

अन्य पार्टीहरुबाट कांग्रेसमा आएकाहरुको विषयमा सहजीकरण गर्न बनेको समायोजन समितिका संयोजक निधि र सभापति देउवा यस विषयमा एक छन् । उनीहरु आफूहरुले ल्याएका अरु पार्टीका सदस्यहरुलाई सोझै क्रियाशिल सदस्य दिनुपर्छ भन्नेमा अडिग छन् । तर, वडाले पास गरेमात्र उनीहरुलाई क्रियाशिल सदस्यता दिनु पर्ने धारणा राखेको छ, रामचन्द्र पौडेल पक्षले ।

‘आफैंले पार्टीमा प्रवेश गराएकाले वडामा किन जानुपर्छ ?’ निधिले भन्ने गरेका छन्, ‘उनीहरुलाई सोझै क्रियाशिल सदस्य दिनुपर्छ, अरु कुरा थाहा भएन ।’ निधिले चाहेको यो कुरामा अडान लिएका छन् सभापति देउवाले पनि । यसो भएको खण्डमा अबको महाधिवेशनमा आफूहरुलाई सहज हुने उनीहरुले निक्र्योल निकालेका छन् ।

विभिन्न जिल्लाका र विशेषगरि प्रदेश २ का जिल्ला सभापतिहरुलाई पनि यसमा निधिले अडान लिन लगाएका छन् । यसो हुँदा ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा आउने निधि र देउवाले अनुमान गरेका छन् । ‘यही विषयमा उहाँहरु दुवै जनाको धारणा जे छ, त्यसले गर्दा पनि उहाँहरु एक हुनुहुन्छ, अहिले सभापतिमा उम्मेदवारी दिन्छु भनेर निधिले भन्नु केही दिनको बार्गेनिङ मात्र हुनसक्छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए ।

यी चार विषयमा मुख्य विवाद देखिएकोमा यसलाई एउटा निश्चित मापदण्ड बनाएर अगाडि बढाउनु पर्नेमा क्रियाशिल सदस्यता विवाद छानबिन समितिका सदस्य प्रदीप पौडेलले मापदण्डको खाका प्रस्तुत गरेका छन् । १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेका पौडेलले फरकधारसँग भने, ‘मापदण्ड बनाएर अगाडि बढ्ने हो भने अब केही ठाउँमा रहेको विवाद सहजै समाधान हुन्छ तर मापदण्ड बनाउने विषयमा नेताहरुबीच सहमति नहुँदा अन्योल बढेको छ ।’

नेताहरुबीच यी चार विषयमा र विशेषगरि चौथो बुँदामा कतिसम्म विमति छ भने आइतबार बोलाइएको पदाधिकारी बैठकमा कांग्रेस नेताहरुबीच झन्डै कुटाकुट भएको थियो ।

समायोजन र क्रियाशिल सदस्यता विवादबारे समाधान गर्नका लागि पदाधिकारी बैठकमा अर्जुन नरसिंह केसीले आफ्नो धारणा राख्दा विमलेन्द्र निधि एक्कासी जंगिएका थिए । ‘तपाईं को हो र मेरो प्रस्तावलाई अस्वीकार गर्न खोज्ने ?’ निधिको केसीलाई प्रश्न थियो ।

पदाधिकारी बैठकमा भएका अर्का एक नेताका अनुसार त्यसपछि बैठकमा नेताहरुबीच तँ तँ र म म भन्दै गालीगलौज सुरु भएको थियो ।

‘तपाईं चाहिँ को हो ?’ निधिको प्रश्नमा केसीले प्रतिप्रश्न गरेका थिए ।

केसीमाथि अचानक ठूलो स्वरमा निधि बोल्न थालेपछि रामचन्द्र पौडेलले पनि केसीको समर्थन गर्दै निधिलाई ‘थर्काएको’ ती नेताले फरकधारलाई जानकारी दिए ।

त्यसपछि प्रकाशमान सिंह र अर्जुन नरसिंह केसी पौडेलको पक्षमा वकालत गर्नतिर लागे । निधि पनि उनीहरुसँग मुखामुखमा लागेको ती नेताले बताए ।

मर्यादासमेत बिर्सिएर नेताहरुबीच एकअर्कालाई गालीगलौज हुन थालेपछि क्रियाशिल सदस्यता विवाद टुंग्याउन बनेको समितिका संयोजक रमेश लेखकलाई यसलाई विषयान्तर गरे ।

लेखककै प्रस्तावमा अहिले कस्तो मापदण्ड बनाएर क्रियाशिल सदस्यता विवाद टुंग्याउने भन्ने जिम्मेवारी कृष्णप्रसाद सिटौलालाई दिइएको हो ।

काङ्ग्रेसकाे १४ औँ महाधिवेशन केन्द्रित यी समाचार पनि पढ्नुहाेस्:

 


  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १७:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया