‘सेल्फ लभ’, अरू कुरा बालै फरर...

मनोविदहरूको नयाँ अध्ययनले आफूले आफैसँग प्रेम गर्नुले जिन्दगीलाई निकै सुखी पार्ने बताएका छन् । यसलाई ‘स्वार्थी’ कामका रूपमा बुझ्न नहुने पनि उनीहरूको भनाइ छ । आफैसँग दिल खोलेर, गहिराइ, इमानदारी, उदारता र शानदार ढंगमा प्रेम गर्नाले मानिस सुखी हुन सक्ने अध्ययनको निष्कर्ष छ ।

जब हामी आफूलाई प्रेम गर्न थाल्छौँ, तब सकारात्मक ढंगमा आफ्नाबारे सोच्न सुरु गर्छौँ । यसको सकारात्मक असर दिमागमा पर्न थाल्छ । र, तनावबाट छुटकारा मिल्दै जान्छ ।

उसो त हरेक व्यक्ति सबैभन्दा बढी आफैलाई प्रेम गर्छ । तर कतिपय परिस्थिति यस्तो बनिदिन्छ कि, हामी आफैलाई प्रेम गर्न र आफ्नाबारे सोच्न छाडिदिन्छौँ । कसैसँग प्रेममा परेपछि हामी साथीको हरेक इच्छा-आकांक्षा पूरा गर्नतिर सोच्न थाल्छौँ । त्यसबेला आफूबाट आफैलाई दूर राखिदिन्छौँ । कहिलेकाहीँ विछोड भइदिन्छ, मन परेको मानिस हामीबाट टाढा भइदिन्छ । त्यस्तो बेला हामी आफूलाई अर्थहीन र बेकारको सम्झन थाल्छौँ । यस्तो महसुस गर्नु र गलत सोच विकास गर्नु तपाईंको आफ्नै कमजोरी हो ।

विछोड, चरम अपमान, असफलताले दिमागमा नकारात्मकता बढाइदिन्छ । त्यसबखत तपाईं आफूबाट नभेटिने गरी आफूलाई टाढा राख्न थाल्नु हुन्छ । कहिलेकाहीँ त यति टाढा पुग्नु हुन्छ कि, त्यहाँबाट फर्कन निकै कठिन बनिदिन्छ । फर्कने बाटो नै कठिन बनिदिन सक्छ । त्यसको नतिजा अकल्पनीय हुन सक्छ । 

अरू मान्छेको जस्तै आफ्नो भावनाको कदर गर्नु नराम्रो कुरा होइन । ‘सेल्फ लभ’ले तपाईंमा कन्फिडेन्स मात्र होइन, जिन्दगीलाई हेर्ने तरिकामै परिवर्तन गरिदिन सक्छ । त्यसैले पटकपटक आफूले आफैलाई प्रेम गर्नुपर्ने मनोविदहरूकाे भनाइ छ । यो तरिका निकै फाइदाकारी रहेको उनीहरु बताउँछन् ।

आफैलाई प्रेम गर्नुको अर्थ आफ्नो अनुहारको माया गर्नु बिलकुलै होइन । पूरै पर्सनालिटी (व्यक्तित्व)लाई माया गर्नु हो, आफ्नो पर्सनालिटीप्रति विश्वस्त हुनु हो । यदि तपाईं आफ्नो पर्सनालिटीबारे नकारात्मक सोच्नु हुन्छ भने तपाईंले थुप्रै काम बिगार्न सक्नु हुन्छ । थुप्रै असफलताले घेर्न सक्छन् । यसको असर दैनिक काम र जीवनमा समेत पर्न थाल्छ । 



यस्तो नकारात्मकताले तपाईंको आत्मविश्वास डगमगाउने मात्र होइन, आफूले आफैलाई घृणा गर्ने तहसम्म पुर्याउन सक्छ । आफूलाई थप सफल बनाउन अझै बढी मेहनत गर्नु आवश्यक हुन्छ र यसबाट मात्रै तपाईंले आफ्नो कामलाई आत्मविश्वासका साथ पूरा गर्न सक्नु हुन्छ ।  

जब तपाईं सेल्फ लभ गर्न थाल्नु हुन्छ, तब आफ्नो खुबी र क्षमतामा ध्यान दिन सक्नु हुन्छ । आफूभित्रका असल र खराब आदतबारे सोच्न सक्षम बन्नु हुन्छ । तपाईंलाई थाहा हुने छ, कुन दिशामा कदम बढाउँदा जीवनमा नयाँपन आउँछ भन्ने कुरा । सेल्फ लभ तपाईंको ह्याप्पिनेस वृद्धि गर्न मद्दतकारी हुन्छ । यसले तपाईंलाई तनावमुक्त बनाउने काम गर्छ । 



अध्ययनअनुसार, आफूलाई नकारात्मकताबाट टाढा राख्न सक्दा तनाव वृद्धि गर्ने हार्मोन न्यून हुन जान्छ । अनि हामी खुसी हुन्छौँ । त्यसपछि तपाईंको अनुहारमा कान्ति भरिन थाल्छ । जगत नै झिलिमिली लाग्न थाल्छ, समय प्रेमिल हुन थाल्छ । यही कारण जो मानिस आफूलाई सुखी राख्न सक्छ, उसैले अरूको ख्याल राम्रोसँग राख्न सक्छ भनिन्छ ।

जब तपाईं आफूले आफैलाई ध्यान दिन थाल्नु हुन्छ, तब आफूलाई गहन ढंगमा बुझ्न थाल्नु हुन्छ । यस्तो अवस्थामा तपाईं विस्तारै-विस्तारै आफूलाई स्वीकार (एक्सेप्ट) गर्न थाल्नु हुन्छ । जो मानिसले आफैंलाई स्वीकार गर्दैन, उसले अरूलाई कसरी स्वीकार गर्न सक्ला ? आफूलाई नै अस्वीकार गर्नु दुःखको मुहान बढाउनु हो । 

आफूलाई पूर्ण रूपमा एक्सेप्ट गरेपछि तपाईंमा के विश्वास बढ्न थाल्छ भने, शरीर कमजोर भए पनि काम गर्न सकिन्छ । आफ्नो क्षमतामा विश्वास बढ्न थाल्छ । यति कुरा बुझेपछि तपाईं आफ्नो महत्व बुझ्न थाल्नु हुन्छ । र, आफ्नो स्वभावमा सहजता ल्याउन सफल बन्नु हुन्छ । 
 
बिर्सन नहुने कुरा के हो भने, सेल्फ लभको अर्थ आफूले आफैलाई ‘सुपर’ वा ‘पर्फेक्ट’ मान्नु होइन । सेल्फ लभका माध्यमबाट आफूले आफैलाई उचित ढंगमा बुझ्नु हो । यसले भविष्यप्रति सकारात्मक सोच बढाउनुका साथै सोच र चिन्तनमा सहजता ल्याइदिन्छ ।  

हामी मानिसको अत्यन्तै ठूलो र महत्वपूर्ण जिम्मेवारी ‘सेल्फ लभ’ नै त हो, त्यसबाटै आफूभित्रका सबै कुरा थाहा पाइन्छ । जब म नै मलाई प्रेम गर्दिनँ भने अरूले मलाई कसरी प्रेम गर्लान् र !
 

  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार १४:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया