१४ दिनसम्म रहस्यमै अस्मिताको मृत्यु

डडेल्धुराको पर्शुराम नगरपालिका–८ जम्रानीस्थित आधारभूत स्वास्थ्य इकाइ कार्यालयमा कार्यरत अस्मिता धामीको शव भेटिएको १४ दिन पुगेको छ। तर घटनाको रहस्य अझै बाहिर आउन सकेको छैन। प्रहरीले घटनाको बारेमा जानकारी बाहिर ल्याउन नचाहेको स्थानीयको आरोप छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटिएका छन्।  तीन तहको टोलीले अनुसन्धान गर्दा पनि प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याउन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले अस्मिताको हत्या भएको शंका गरे पनि पोष्टमार्टम रिपोर्टबारे भन्न नमिल्ने बताइरहेका छन्। ‘अनुन्धानमा खटिँदा घटनास्थलको अवस्था हेर्दा हत्या भएको शंका छ। पोष्टमार्टम रिपोर्ट आएको छ। तर, मैले भन्न मिल्दैन। त्यो अदालतले भन्ने हो,’ उनले भने।

घटनास्थलमा भेटिएको प्रमाण, भिसेरा, डिएनए काठमाडौं पठाएको र रिपोर्ट आएपछि मात्र थप जानकारी मिल्ने न्यौपानेले बताए। ‘हामी रिपोर्टकै प्रतीक्षामा छौं’ न्यौपानेले भने।

पर्शुराम नगरपालिका–८ का अध्यक्ष गोविन्द बोहराले प्रहरीसँग सोध्दा पोष्टमार्टम रिपोर्टमा हत्या भएको देखाएको बताए। पर्शुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले प्रहरीलाई घटनाको सत्यतथ्य छानबिन गर्न दबाब दिइरहेको बताए। ‘हामीले दबाब दिइरहेका छौं। प्रहरीले घटनामा संलग्नको नजिक पुगेको बताएको छ,’ उनले भने। 

घटनाको प्रकृति हेर्दा हत्या भएको स्थानीय वैद्यनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर विष्टको ठम्याइ छ। ‘निधारमा ढुंगाले हानेर मारेको भन्छन्।’ घटना भएको १४ दिनसम्म पनि प्रहरीले दोषी पक्राउ नगर्दा घटना ओझेलमा पर्ने हो कि भन्ने चिन्ता बढेको छ’ विष्टले भने।



असार २ गते जम्रानीबाट कोभिडको खोप लिएर जोगबुडा हिँडेकी अस्मिता त्यही दिनदेखि बेपत्ता भएकी थिइन्। ५ गते पर्शुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायिक वनमा उनको शव भेटिएको थियो। अस्मिताको साथमा रहेको मोबाइल शव फेला परेको तीन दिनपछि करिब १०० मिटर तल प्रहरीले फेला पारेको थियो।

वडाध्यक्ष बोहराले घटनाको सत्यतथ्य बाहिर नआउँदा गाउँमा त्रास फैलिएको बताए। नगरपालिकाले अस्मिता कार्यरत कार्यालयमा सोही पदमा उनका पतिलाई काम दिएको छ। नगर उपप्रमुख कलावती देवी बोहराले भनिन्, ‘दुई बच्चाको नाममा १० लाख रुपैयाँ जम्मा गर्ने हामीले निर्णय गरेका छौं।’ अस्मिताका ३ र ६ वर्षका दुई छोरी छन्।
 



  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १४:३५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया