डा.जागेश्वर गौतमले एक अर्बको उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोप, ५ ठाउँमा उजुरी

वीर अस्पताल (कोभिड युनिफाइड केन्द्रीय अस्पताल) मा उपकरण खरिदमा विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएसँगै प्रधानमन्त्री कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्ममा उजुरी परेको छ । 

अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा.डा. जागेश्वर गौतमले उपकरण खरिदमा अनियमितता गरेको भन्दै प्रधानमन्त्री कार्यालयदेखि  अख्तियारसम्म उजुरी परेको हो ।  

अस्पतालका कर्मचारीको तर्फबाट परेको उजुरीमा एक अर्ब बराबरको उपकरण खरिदमा डा. गौतमले सेटिङमा महंगो मूल्यमा किनेको उल्लेख गरिएको छ ।
 
‘मेडिकल माफिया र स्वास्थ्य सचिवको योजनामा कोभिडको नाममा हुने उपकरण लगायत सामान खरिदमा कमिसनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठान ऐन र नियमविपरीत वीर अस्पताललाई छुट्याएर सो को प्रमुखमा स्वास्थ्य सेवाका विवादित र अकुत कालो धन आर्जन गरेकालाई नियुक्ति गरेपछि प्रमुखमा नियुक्त डा. जागेश्वर गौतमले आफू निकट व्यापारीलाई मात्र हुने गरी झण्डै एक अर्बको टेण्डर निकालेका छन् ’, उजुरीमा भनिएको छ ।

अस्पतालका कर्मचारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता गराएका छन् ।

उनीसँगै विवादमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि जोडेका छन् । एक महिनाकै अवधिमा अस्पतालबाट झण्डै १ अर्व बराबरको खरिद भइसकेको छ । उक्त उपकरण खरिद महंगोमा सेटिङ मिलाएर डा. गौतमले आफू निकटकालाई दिएको उजुरीकर्ताको आरोप छ ।
 
उजुरी सबै ठाउँमा दर्ता भएर आवश्यक अनुसन्धान प्रक्रिया समेत अगाडि बढिसकेको छ । उजुरीकर्ताले डा. गौतमको सम्पत्ति समेत छानविनको माग गरेका छन् । उनले पदमा रहँदाको अवधिमै विभिन्न निजी कम्पनीको सेयर खरिदविक्री गरेको भन्दै सोको समेत छानविन गर्न माग गरिएको हो ।

स्वास्थ्य सेवा ऐन २०५३ ले सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सन्चालनमा भाग लिन, स्वास्थ्य क्लिनिक वा निजी अस्पताल खोल्न तथा सन्चालन गर्न नपाउने व्यवस्था गरेको छ। 



डा. गौतमले चितवन मेडिकल कलेजमा १ लाख ७६ हजार ४२८ कित्ता, मौलाकालीका अस्पतालमा २३ हजार ४०० कित्ता सेयर, अमेजोन नामक कम्पनीमा ८५ हजार, ग्यालेक्सीमा ९९ हजार कित्ता सेयर, क्यानभासमा ३० हजार र नारायणी अक्सिजनमा १ लाख २० हजार कित्ता सेयर रहेको उजुरीकर्ताको दाबी छ । उनीहरूले उजुरीसँगै प्रमाणसमेत प्रस्तुत गरेका छन् । 

युनिफाइड अस्पतालको प्रमुखको जिम्मेवारी सम्हालेको केही दिनमै उनी विवादमा तानिएका हुन् । आरोप लागेको विषयमा डा. गौतमले तत्काल केही नबोल्ने प्रतिक्रिया दिएका छन् । 




उजुरी 

  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १६:८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया