राष्ट्रिय सभाको बैठकमा १६ अध्यादेश पेस

राष्ट्रिय सभाको बिहीबारको बैठकमा १६ अध्यादेश पेस भएका छन् ।

बिहीबारदेखि प्रारम्भ भएको आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ तथा शपथसम्बन्धी अध्यादेश २०७८ अध्यादेश पेश गरे ।

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गरे ।

उपप्रधानमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ बैठकमा पेस गरे ।

मन्त्री नेम्वाङले रेल्वे अध्यादेश २०७८ पनि बैठकसमक्ष पेस गरे । बिहीबारकै बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ पेस गरे ।

बैठकले राष्ट्रिय सभाका पूर्व सदस्य गंगादत्त जोशी, डा. शंकरप्रसाद उप्रेती, ऐश्वर्यलाल प्रधानांग, प्रा. विदुर पौडेल, प्रतिनिधिसभाका पूर्वसदस्य एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा, मोतीप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद न्यौपाने, योगनारायण यादव एवं तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादव, अशोक कोइराला, नवीन्द्रराज जोशी, लक्ष्मीदेवी भण्डारी, मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का, रबनी चौधरी तप्तबहादुर विष्ट र पशुपति चौलागाईंको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।



बैठकमा यसअघि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाएका थिए । उनले राष्ट्रपतिको कार्यालयबाट विभिन्न मितिमा सरकार गठन, मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन र जिम्मेवारी हेरफेरसम्बन्धी राष्ट्रिय सभालाई प्राप्त पत्रको बेहोरा पनि पढेर सभालाई जानकारी गराएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक असार २० गते अपराह्न १ बजे बस्नेछ ।



  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १९:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया