कर्णाली प्रदेशसभा बैठकमा एमालेको लगातार अवरोध

नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक पुनः अवरुद्ध पारेको छ । प्रदेशसभाको शुक्रबारको बैठक पनि एमालेले अवरुद्ध पारेको हो । 

शुक्रबार दिउँसो २ बजे बोलाइएको बैठक झण्डै ३ बजे सुरु भएको थियो । बैठक कार्यसूचीमा प्रवेश नगर्दै एमालेका सांसदहरुले उभिएर अवरुद्ध गरेका हुन् । 

सर्वोच्च अदालतले एमालेका फ्लोर क्रस गरेका चार जना सांसदहरुलाई एमालेको फ्लोरमा बस्न आदेश दिँदै सांसद पद पुनःस्थापित गरेपछि एमालेले सरकारबाट राजीनामा दिएर विपक्षीको फ्लोरमा बस्न आग्रह गरेको छ । 

फ्लोर ​क्रस गरेका माधव नेपाल समूहका चार जना सांसद मध्ये तीन जना सरकारमा छन् । सरकारमा रहेका मन्त्रीहरुले एमालेको निर्देशन विपरीत सत्ता पक्षको फ्लोरमा बस्दै आएका छन् । 

बैठकको सुरुमा नै एमाले सांसद राजु नेपालीले दलीय व्यवस्था अनुसार बैठक सञ्चालन नहुञ्जेलसम्म बैठक अघि बढ्न नसक्ने बताइन् । 

‘सर्वोच्चको आदेश प्रदेशसभामा किन कार्यान्वयन भएको छैन,’ उनले भनिन्, ‘त्यसमा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ । नियम पालना गर्ने कुनै एक पार्टीको मात्रै हैन । कानुन कार्यान्वयन नहुञ्जेलसम्म सभाको कारबाही अगाडि बढ्न सक्दैन ।’ 



असार एक गते प्रदेशसभामा बजेट पेस भएपछि एमालेले लगातार रुपमा अवरुद्ध गराउँदै आएको छ । असार १८ सम्म आइपुग्दा पनि बजेटमाथिको छलफल अन्योल भएको छ । बैठक असार २४ गते सम्मको लागि स्थगित भएको छ । 



  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १५:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया