कैलाली भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व

कैलाली भन्सार कार्यालयले निषेधाज्ञाका बाबजुद पनि चालु आर्थिक वर्ष ०७७-७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा ८ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा भन्सार कार्यालयले असार दोस्रो साताभित्रै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो ।

कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको असार मसान्तको दोस्रो सातासम्म लक्ष्यभन्दा १०२ प्रतिशत राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष ०७६-७७ मा लक्ष्यभन्दा २७ प्रतिशत कम राजस्व संकलन भएको थियो ।

कैलाली भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असारको दोस्रो सातासम्म ८ अर्ब ४३ करोड ६९ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले सबैभन्दा बढी राजस्व गत फागुन महिनामा संकलन गरेको छ । फागुन महिनामा ६९ करोड ८६ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा ८३ करोड २५ लाख ९३ हजार रुपैयाँ (१५१ प्रतिशत) राजस्व संकलन भएको थियो ।

निषेधाज्ञाका कारण चालु आर्थिक वर्षको वैशाख र जेठ महिनामा भने कम राजस्व संकलन भएको छ । कैलाली भन्सार कार्यालयले वैशाख महिनामा ७९ करोड ९० लाख ९८ हजार रुपैयाँ र जेठ महिनामा ८० करोड ७९ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो ।

वैशाखमा ७१ करोड १७ लाख ८० हजार (८९ प्रतिशत) र जेठ महिनामा ५१ करोड ५९ लाख ४४ हजार रुपैयाँ (६३ दशमलव आठ प्रतिशत) राजस्व संकलन गरेको छ । असारमा ६३ करोड २५ लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा दोस्रो सातासम्ममा २८ करोड ८८ लाख २४ हजार (४५.६ प्रतिशत) राजस्व संकलन भइसकेको छ ।

कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फणीन्द्र खतिवडाले जारी निषेधाज्ञाका कारण वैशाख र जेठ महिनामा लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको जानकारी दिए ।



उनले भने, ‘वैशाख महिनामा मात्र लक्ष्य अनुसारको राजस्व संकलन भएको भए हामीले असारसम्म लक्ष्यभन्दा १३० प्रतिशतभन्दा बढी राजस्व संकलन गर्न सक्थ्यौँ ।’ बढ्दो कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । भन्सार अधिकृत खतिवडाले निषेधाज्ञाका कारण राजस्व संकलन प्रभावित भएको बताए ।

गत आर्थिक वर्ष ०७६-७७ मा भन्सार कार्यालयलाई ६ अर्ब ७० करोड ३१ लाख ६६ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । कैलाली भन्सार कार्यालयले ४ अर्ब ९२ करोड १० लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । जुन कुल लक्ष्यको ७३ दशमलव चार प्रतिशत थियो । कोरोनाको पहिलो लहरमा सरकारले २०७६ साल चैत ११ गतेदेखि देशव्यापी लकडाउन जारी गरेको थियो । सो समयमा भारतबाट मालबाहक सवारी साधन, पेट्रोलियम पदार्थमात्र भित्रिएका थिए ।



भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थ, निर्माण सामग्री, यातायातका सवारी साधन, खाद्यान्न, हार्डवेयरका सामग्री लगायतका सामान आयात हुने गरेको छ । त्यस्तै, कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले राजस्व संकलनमा वार्षिक लक्ष्य पूरा गरेको छ । सत्ती भन्सारले चालु आर्थिक वर्षको ११ महिनामा १४ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ ।

सत्ती भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको सुरुमा ६ करोड ७ लाख रुपैयाँ र पछि बढाएर १४ करोड २३ लाख रुपैयाँ राजस्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो । दुई वर्षअघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्षभरिमा ५ करोड ८० लाख ७ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो ।

  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १८:४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया