सर्वोच्चको आदेशमा कैलालीका चार जनप्रतिनिधिको पुनर्बहाली

नेकपा माओवादी केन्द्रको सिफारिसमा निर्वाचन आयोगले पद रिक्त गरेका कैलालीका स्थानीय तहका चारजना जनप्रतिनिधिको पुनर्बहाली भएको छ ।

पार्टीले कारबाही गरेपछि पद गुमाएका कैलालीका एक उपमेयरसहित चार जना जनप्रतिनिधिको पद सर्वोच्चले पुनर्बहाली गरिदिएको हो । सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले शुक्रबार अन्तरिम आदेशमार्फत पद पुनर्बहाली गरेको छ ।

सर्वोच्च अदालत गएकी भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटा, गौरीगंगा नगरपालिका–४ की वडा अध्यक्ष भागरथी विष्ट तिमिल्सेना, गोदावरी नगरपालिका– १ का वडा अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया गाउँपालिका– ४ का अध्यक्ष पुरनसिंह बिसी सर्वोच्च अदालत गएका थिए । 

उनीहरूले पदबाट राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको एवं निज आफैंले वा निजसमेत संलग्न भई अर्को दल गठन गरेको यकिन अवस्था नदेखिएकाले कारबाहीमा रोक लगाइएको सर्वोच्चको आदेशमा उल्लेख छ । उनीहरूको पद अर्को आदेश नभएसम्म थमौती भएको हो ।

एमालेमा प्रवेश गरेको भन्दै माओवादीले गरेको सिफारिसमा निर्वाचन आयोगले सूचना प्रकाशित गरी कैलालीका चार जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको थियो । त्यसका विरुद्ध उनीहरू सर्वोच्च पुगेका थिए ।
 





  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १८:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया