बागमती प्रदेशसभा अवरुद्ध, बजेट पास हुन नदिन विपक्षी दल एकजुट

बागमती प्रदेशसभा बैठक अवरुद्ध भएको छ । विभिन्न माग राखेर विपक्षी दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संसद अवरुद्ध गरेका हुन् । 

सरकारले पक्षपाती ढंगले बजेट ल्याएको, बजेट पुस्तिकामा न्यायोचित वितरण नदेखिएको र प्रदेश सरकारले आफैँ सञ्चारगृह चलाउने विषय फिर्ता लिनुपर्नेलगायत विषय विपक्षीले उठाएका छन् । 

शनिबार  बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि बोल्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरेका हुन् । 

पूर्वाग्रही बजेट नसच्याए पास हुँदैन : माओवादी 

प्रदेशसभाको बैठक अवरुद्ध गर्नुअघि बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले स्थानीय तहमा जाने ससर्त अनुदान बजेटमा समेत पूर्वाग्रही ढंगले विनियोजन गरेको भन्दै आपत्ति जनाए । उनले सशर्त बजेट नसच्याउने भए बजेट छलफल अघि नबढ्ने बताए ।  

जम्मकट्टेलले सुरुङमार्ग र विद्युतीय बसबारेसमेत असन्तुष्टि व्यक्त गर्दै बजेटबाट ती कार्यक्रम हटाउन माग गरे । ऐन नै नभएको अवस्था र देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा प्रदेश सरकारले आफैँ सञ्चारगृह चलाउने विषय फिर्ता लिनुपर्ने उनले बताए ।



संघीय सरकारको एकाइजस्तो देखियो :  कांग्रेस 

यस्तै, विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशामा लागेको बताए । प्रदेश सरकारलाई संघीय सरकारको एकाइको रूपमा अघि बढाइएको उनको आरोप छ । 



उनले बजेट पुस्तिका नै दुई ढंगको आउनु गलत भएको भन्दै एउटै पुुस्तक बनाएर नआएसम्म संसद अघि बढ्न नसक्ने बताए । नेता बानियाँले विपद्मा परेका जिल्लालाई सरकारले व्यवस्था गर्न नसक्ने भए आफ्नो सेवा सुविधा कटाएर जनताको राहतमा खर्चिन कांग्रेस तयार रहेको बताए । सिन्धुपाल्चोकलाई सरकारले झुक्याएको उनको भनाइ छ । प्रदेश सरकार आफैँले सञ्चारगृह चलाउने कुराको पनि विरोध उनले गरेका छन् । 

साना दलको पनि विरोध 

बागमती प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेससहित साना दलहरु विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपाका सांसद पनि विनियोजन विधेयकविरुद्ध एक भएका छन् । प्रदेश सभामा बोल्दै विवेकशील साझाका सांसद रमेश पौड्यालले असार १ गते बजेट पेस गरेर लामो समयसम्म छलफल नभएकोमा आपत्ति जनाए ।

सिन्धुपाल्चोक क्षेत्रमा यातायात सुचारू गर्नुपर्नेमा उनले जोड दिए । उनले विधि र प्रक्रिया विपरीत समय नै नदिई बजेटका दुईवटा पुस्तक छापेर अनधिकृत काम भएको बताए । संसदको अवहेलना गर्दै भएको गलत कामबारे मुख्यमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए । 

यस्तै नेमकिपाका सुरेन्द्रराज गोसाईंले प्राकृतिक विपत्ति र कोभिड–१९ को मारमा परेका जनतालाई बजेटले सम्बोधन नगरेको बताए । 

सांसदहरुको विरोधपछि बागमती प्रदेशसभा आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
 

  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १८:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया