बजेट पास गराउन प्रदेश सरकारको जालझेल : फेल हुने सम्भावना बढ्यो

बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७८/७९ को बजेट पास हुनेमा शंका उत्पन्न भएको छ । नेकपा एमाले भित्रकै कलहका कारण बजेट पास हुनेमा आशंका देखिएको हो । प्रदेशमा रहेका एमालेका ५६ प्रदेश सभा सदस्यमध्ये एक जनाले मात्रै विपक्षमा हात उठाए पनि बजेट फेल हुने स्थिति रहेको छ ।

हाल रहेको १०९ प्रदेशसभा सदस्यमध्ये प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र २३ मत सहित बजेटको विरुद्धमा संसद अवरुद्ध गरिरहेको छ । यस्तै विपक्षी दल नेपाली कांग्रेस २२ सिट, विवेकशील साझाको ३, नेमकिपाको २, राप्रपाको २ र एक स्वतन्त्र सांसद सरकारले ल्याएको बजेटको विरुद्धमा छन् । यस्तो अवस्थामा संसदमा बजेट निर्णयार्थ पेस भएको खण्डमा सत्तारुढ नेकपा एमालेका कुनै एक सांसदले मात्रै विपक्षमा मत दिए बजेट फेल हुने देखिएको छ ।

प्रदेशको बजेट पास गर्न डोरमणि पौडेलको सरकारले प्रभावशाली नेताहरूको क्षेत्रमा बजेट ओइर्‍याउने गरी योजना बनाएको छ । नेकपा एमालेका सांसद राजेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका दलका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको क्षेत्रमा सरकारले विभिन्न शीर्षक र अबण्डामा रहेको रकम समेत खर्च गर्ने तयारी गरेर बजेट पास गराउन खोजेको एमालेकै एक सांसदले आरोप लगाएका छन् ।

निर्णायक मानिने ठूला नेताको क्षेत्रमा र अबण्डाको रकम प्रयोग गरेर भए पनि जालझेल गर्दै प्रदेश सरकारले बजेट पास गर्न खोजेको भन्दै उनले आक्रोश व्यक्त गरे । 

माधव पक्ष फकाउन बैठक सार्दै

संसदमा विपक्षीदलले गरेको अवरोधका कारण संसद चल्न सकेको छैन भने  सत्तापक्षकै माधवकुमार नेपाल समूहले बजेट फेल गराउने चेतावनी दिइरहेको अवस्थामा सत्तापक्षले माधव पक्षलाई फकाउन सभामुखमार्फत् बैठक सार्दै निरन्तर संवाद गरिरहेको छ । बजेट पास गर्नकै लागि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलेको अग्रसरतामा संसदीय दलको बैठक राखेर छलफल समेत गरेको थियो ।



असन्तुष्ट पक्षलाई फकाउन एमाले बागमती प्रदेश संसदीय बोर्डले माधव नेपाल पक्षका सांसदलाई गरेको कारबाही समेत फुकुवा गरेर बजेटलाई परामर्श दिन कार्यदल समेत गठन भएको थियो । एमालेको ओली पक्षका निरन्तर प्रयासको बाबजवुद पनि माधव नेपाल समूह अझै पनि बजेटलाई पास गराउन पूर्ण सहमत नभइसकेको जनाइएको छ । 

सुझाव ग्रहण भएन, यत्तिकै बजेट पास हुन्न  : माधव पक्ष सांसद



बागमती प्रदेशका सतापक्षकै सांसदहरूले एमाले संसदीय बोर्ड गठन गरेर बजेटमा सुझाव दिन बनेको कार्यदलको कुनै सुझाव ग्रहण नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । एमाले माधव पक्षका सांसदहरूले दलमा छलफल नै नगरी बजेटको दुईवटा किताब छापेको र बजेटमा कुनै पनि सुझाव नसमेटेको भन्दै बजेटलाई यही रूपमा पास गर्न नसकिने बताएका छन् ।

माधव पक्षकी सांसद मीना ज्ञवालीले कार्यदलको दिएको सुझाव अनुसार बजेट नभएको भन्दै दलको बैठकमा कुरा उठेको बताइन् । उनले भनिन्, ‘बजेट मन्त्रीमुखी, कनिका छरेको जस्तो आएको र कार्यदलले दिएको सुझावअनुसार नआएको भन्दै एमाले संसदीय दलमा छलफल भएको छ । तर, बजेट नै फेल गर्ने भन्ने कुरामा सत्यता छैन, हामी छलफलमै छौं ।’ यस्तै नेकपा एमाले माधव पक्षकी सांसद मुनु सिग्देलले सरकारले झुक्याउने काम गरेको बताइन् ।

‘संसदीय दलमा कार्यदल बनाएर योजना माग गरियो, अनि दुईवटा किताब छापेर हाम्रो योजना राखेर एउटा किताब हामीलाई दिइयो अर्को किताब बजेट कार्यान्वयन गर्न बनाइयो । यसरी सांसदहरूलाई झुक्याउने काम भयो’, उनले  भनिन् । सांसद सिग्देलले यही अवस्थामा बजेट निर्णयार्थ पेस भए पास गर्न नसक्ने प्रतिक्रिया दिएकी छन् ।

आवश्यक फेरबदल हुन सक्छ : मुख्य सचेतक

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बजेटमा आवश्यक केही फेरबदल हुन सक्ने सम्भावना रहेको बताएका छन् । उनले सोमबार बस्ने प्रदेशसभाको बैठकमा अवरोध नभए बजेटमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने, प्रतिपक्ष दलले उठाएको सरोकारको विषयमा स्पष्टीकरण दिने भन्दै सांसदहरूको भावनको कदर हुने बताएका हुन् । निरौलाको भनाइअनुसार बजेट पास गर्न ओली पक्ष लचक हुने देखिएको छ । निरौला मुख्यमन्त्री डोरमणि पौडेल निकट सांसद हुन् ।

बागमती प्रदेशसभाको आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो । दलहरूबीच संसद सुचारु गराउने बारे सभामुखसहितको बैठकमा सहमति नजुटेपछि सोमबारसम्मका लागि स्थगित गरिएको छ । बैठक स्थगितबारे सांसदहरूलाई एसएमएस गरिएको छ ।

  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १९:५६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया