नेपाली लोक संगीतका क्षेत्रमा लोकप्रिय गायकको नाम हो- पशुपति शर्मा । शर्माका थुप्रै गीत हिट छन् । उनी निकै व्यस्त गायकभित्र पर्दछन् । देशमा अहिले निषेधाज्ञा छ । पशुपतिको व्यस्तता पनि अलि कम भएको छ । यो फुर्सदको समय किताब पढेर बिताएका पशुपतिले आफूले पढेका ३ पुस्तक अरूलाई पनि पढ्न सुझाब दिएका छन्।
भागवत गीता
पशुपतिले आफूले पढेका पुस्तकमध्ये पहिलो नम्बरमा भागवत गीता सबैलाई पढ्न सिफारिस गरेका छन् । उनले भागवत गीताले जीवन के हो भन्ने राम्रोसँग बुझाउने बताए । उनी भन्छन्, ‘व्यवहार, जीवन र कर्म कस्तो हुनुपर्छ भन्ने कुरा यसमा दिइएको छ । सारा जीवनका लागि चाहिने कुराहरू यसमा छन् । त्यसैले गीता एकपटक पढ्नैपर्छ ।’
महाभारत
शर्माले भागवत गीतापछि महाभारत पढ्न सुझाव दिएका छन् । उनी भन्छन्, ‘संस्कृत भाषामा लेखिएकामध्ये महाभारत एक ठूलो ग्रन्थ हो । यो एक अद्भुत कथा हो, जसले जीवन दर्शनका कुरा सिकाउँछ ।’
घरमा फुर्सदको समयमा महाभारत पढ्दा धर्मकर्ममा मन जाने पशुपति बताउँछन् । भन्छन्, ‘महाभारतको अध्ययनले एक किसिमको शान्ति मिल्छ ।’
४३ कथा
पशुपतिले पढेका पुस्तकमध्ये निलम कार्की निहारिकाको कथा संग्रह ‘४३ कथा’ पनि अरूलाई पढ्न सिफारिस गरेका छन् । यस बारेमा उनी भन्छन्, ‘ ‘मैले पढेका उत्कृष्ट पुस्तकमध्ये यो कथा संग्रह पर्छ । ‘४३ कथा’ विभिन्न पुस्तक र फुटकर रूपमा प्रकाशित कथाहरूको एकमुष्ट संग्रह हो । यस पुस्तकले महिला, समाजसम्बन्धी थुप्रै कुरा समेटिएकाले एकपटक पढ्न सिफारिस गर्छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।