पहिलो पटक राष्ट्रियसभामा बोल्दै खिमलाल देवकोटाले सोधे ३ प्रश्न

राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सबै सांसदहरुलाई आफूले लिएको सपथ अनुसार काम गरेका छौँ भन्दै प्रश्न गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै देवकोटाले आफूसहितका सांसदलाई पद तथा गोपनीयताको सपथ याद दिलाएका हुन् । 

राष्ट्रियसभाको उपनिर्वाचनमा बागमतीबाट स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका देवकोटाले सांसदहरुले लिएको पद तथा गोपनीयताको सपथअनुसार काम नगरेको तर्फ संकेत गर्दै विभिन्न प्रश्न गरेका हुन् । 

पहिलो पटक संसद बैठकमा बोल्दै गरेका देवकोटाले आफूसहितका सांसदलाई पहिलो प्रश्न गरे, ‘हामीले पद तथा गोपनीयताको सपथको इमान्दारीताका साथ कार्यान्वयन गरेका छौँ ?’

देवकोटाले सांसदहरुले आफ्नो कर्तव्य पूरा नगर्दा अहिलेको अवस्था आएको भन्दै प्रतिनिधिसभाको २२ पटकको विघटन संविधान प्रतिको इमान्दारीता हो कि बेइमानी ? भन्ने प्रश्न गरेका छन् । 

यस्तै, देवकोटाले संविधानको धारा ७६ को उपधारा ३ अनुसार केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिने समयमा ‘त्यो पर्दैन’ भनेको विषयमा पनि प्रश्न उठाएका छन् । 

देवकोटाले सपथका क्रममा प्रधानमन्त्रीको अभिव्यक्तिका कारण फेरि सपथ दिलाउनुपर्नेमा उनैको सिफारिस जस्ताको तस्तै कार्यान्वयनमा लैजानुले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका माथिनै प्रश्न उठेको बताए ।



सपथनै फेरि लिनुपर्ने अवस्थाको प्रधानमन्त्रीको सिफारिसमा भोलिपल्टै सपथ अध्यादेश ल्याउने र रातारात संसद विघटनको सिफारिसमा ल्याप्चे लगाउने राष्ट्रपतिबाट कसरी संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा हुन्छ भनेर विश्वास गर्न सकिन्छ ? भन्ने प्रश्न पनि उनले राखेका छन् । 



  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १४:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया