गम्भीर अपराधका घटनामा चुक्दै प्रहरी, तर मौन छन् आईजीपी
बढ्दो लापरबाहीले गुमाउँदै नागरिकको विश्वास

पछिल्लो समय देशका विभिन्न भागमा गम्भीर प्रकृतिका अपराधका घटना बढ्दै गएका छन्। गम्भीर अपराधका घटना बढ्दै गएपछि शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी पनि विवादमा पर्न थालेको छ। 

समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्दै अपराध रोक्ने र अपराधी पत्ता लगाउने जिम्मेवारीसहित वि.सं. २०१२ सालमा प्रहरी ऐनद्वारा नेपाल प्रहरीको स्थापना भएको थियो।

संगठन स्थापनाको ६६ वर्ष पुग्दा नागरिकको जीउ धनको रक्षाका लागि बनेको यस संगठनमा अहिले ७० हजार ७९ जना प्रहरी कार्यरत छन्। कानुन कार्यान्वयन र पालना गराउने प्रमुख इकाइ नेपाल प्रहरीले पछिल्लो समय आफ्नो मूल ‘मन्त्र’बिर्सिँदै गएको गुनासो बढिरहेको छ।

नागरिकले ‘ज्यान बचाई देऊ’ भनेर गुहार माग्दा पनि प्रहरीले त्यसको सुनुवाइमा चुकिरहेको छ। प्रहरीले आफैं आफ्नो छविमाथि दाग लगाइरहँदा नागरिक तहमा भने चिन्ता बढाएको छ।

पछिल्लो केही महिनायता देशका विभिन्न भागमा भएका गम्भीर प्रकृतिका अपराधका घटनाले शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरी संगठन चलायमान हुन नसकेको पुष्टि गरेका छन्। एक दुई मात्रै नभएर कयौँ घटनाले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रहरीकै लापरबाहीले केही गम्भीर प्रकृतिका घटना यसबीचमा भएका छन्। 

प्रतिनिधि घटना 



आइतबार साँझको कुरा हो। पूर्वी चितवनको राप्ती नगरपालिका-३ स्थित जंगलमा एक जना महिलाको शव भेटियो। सनाखत गर्दा स्थानीय २३ वर्षीया सुजिता भण्डारीको पुष्टि भयो। 

भण्डारीको घरबाट करिब ३ किलोमिटर टाढा वनको बीच एउटा झाङमा अड्किएको अवस्थामा उनको शव च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 



ब्रम्हस्थानी सामुदायिक वनको झाडीमा भेटिएको शवलाई प्रहरीले आइतवार रातभर सुरक्षा दिएर राख्यो। गत असार ११ गते बिहान ६ बजे साथीको घर जान्छु भनेर हिँडेकी सुजिता त्यही दिनदेखि बेपत्ता थिइन्। उनले त्यही दिन १२ बजे दिदीलाई फोन गरेर आफू अपहरणमा परेको बताएकी थिइन्। 

जुन खबर उनका परिवारले प्रहरीलाई सुनाएका थिए। सुजिताले अपहरणको सूचना दिएपछि परिवारले प्रहरीमा जाहेरी नै दिएका थिए। तर प्रहरीले समयमा सक्रियता नदेखाउँदा उनको ज्यान गयो। यद्यपि उनको ज्यान कसरी गयो भन्ने कुराको पुष्टि पोस्टमार्टम रिपोर्टमा हुन सक्छ।

महोत्तरी घटना 

महोत्तरीमा अर्को जघन्य अपराधको घटना भएको छ।  गत २० जेठदेखि बेपत्ता सुजिता ठाकुरको शव २३ दिनपछि खेतमा गाडेको अवस्थामा बरामद भयो। अर्थात् २० जेठदेखि हराएकी सुजिताको शव १३ असारमा नजिकैको खेतमा शव प्रहरीले फेला पार्‍यो।

महोत्तरीको लोहरपट्टी नगरपालिका-७ भ्रमरपुराकी सुजिता बेपत्ता भएपछि आफन्तहरु प्रहरीमा उजुरी दिन पुगेका थिए। तर त्यहाँ पनि प्रहरीले घटनाको छानबिनमा चासो देखाएन। प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान अघि नबढाउँदा उनको पनि हत्यापछि सडेको अवस्थामा शव भेटियो। यो घटनामा पनि प्रहरीको उदासीनता देखियो। यस घटनापछि महोत्तरीमा प्रहरीको चौतर्फी आलोचना भयो।

बारा घटना

बारामा पनि ५ जेठमा दुई नाबालक दाजुभाइको हत्या भयो। आफन्तले उनीहरु हराएको केही घण्टामै प्रहरी ‘कन्ट्रोल’ मा जानकारी गराए। तर त्यहाँ प्रहरी समयमा सक्रिय नभएपछि उनीहरु दुवैको हत्या भएको हो। बारा प्रहरीका अनुसार ९ वर्षीय आमान अन्सारी र ७ वर्षीय उसमान अन्सारीको हत्या भएको थियो।

चितवन, महोत्तरी र बारामा प्रहरीको लापरबाहीले भएका यी घटना त केही उदाहरण मात्रै हुन्। पछिल्लो एक वर्षमा ७१ सय ४४ वटा ज्यानसम्बन्धी घटना भएको तथ्यांक नेपाल प्रहरीले नै राखेको छ। यी घटनामा हत्या मात्रै ६२५ जनाको भएको छ। 

अपराध अनुसन्धानमा कति प्रहरी ?

अहिले नेपाल प्रहरीमा ७० हजार ७९ जना जनशक्ति छ। जसको काम नै समाजमा शान्ति सुरक्षा कायम गर्दै अपराध रोकथाम गर्नु हो। तर अपराध अनुसन्धानमा थोरै मात्र दक्ष जनशक्ति खटाइएको गुनासो बढ्दो छ। अपराध अनुसन्धानमा सीमित जनशक्तिका कारण सम्भावित घटना रोक्न र अपराधीसम्म पुग्न प्रहरीलाई कठिन हुने गरेको छ।

अहिले नेपाल प्रहरीमा अपराध अनुसन्धानको लागि ७ प्रतिशत मात्रै प्रहरी खटाइएको छ। यो भनेको ४ हजार ९ सय मात्रै हो, जुन नेपाली समाजमा बढ्दो अपराधको घटनाबीच एकदमै कम हो। प्रहरीमा अपराध अनुसन्धानका लागि दक्ष जनशक्ति अभाव देशभर अपराधका घटनामा बढोत्तरी भएको बताइन्छ।
हुने गरेको छ।

प्रहरी कति दोषी ?

प्रहरी ऐन २०२१ को प्रस्तावना अनुसार प्रहरीको मुख्य काम-कर्तव्य हो, 'अपराध रोक्ने र पत्ता लगाउने अर्थात् अपराध अनुसन्धान र प्रचलित ऐन कानुनको कार्यान्वयन गर्दै समाजमा शान्ति र व्यवस्था कायम राख्नु।' 

यो ऐन अनुसार उजुरी या सूचना आएपछि सम्भावित घटना रोक्नु नै मुख्य काम हो-प्रहरीको। तर प्रहरी त्यसो गर्न सकेको छैन। यति हुँदा हुँदै पनि प्रहरी नेतृत्वले आफ्नो दोष नरहेको स्पष्टीकरण दिँदै आएको छ।

प्रहरी प्रवक्ताको दाबी

यस्तो गम्भीर मुद्दामा किन चुक्दै छ प्रहरी? यसबारेमा प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले आफूहरुको कमजोरी नरहेको बताए। उनले कुनै पनि घटनामा प्रहरी नचुकेको तर्क गरेका छन्। 

‘प्रहरीमा कुनै घटनाको खबर आउनासाथ सबै संयन्त्र खटाइन्छ, तत्कालै प्रहरी अनुसन्धानमा जुट्छ ', उनले भने, 'त्यसका बावजुद पनि विभिन्न कारणले हत्यासहितका जघन्य अपराध हुन पुग्छ। कसैको ज्यान जानेबित्तिकै त्यसको सबै दोष प्रहरीमाथि थुपारिन्छ। जुन ठीक होइन।’ 

कुँवरले प्रहरी अत्याधुनिक प्रविधिमा कमजोर रहँदा पनि यस्ता घटना हुने गरेको छ। 'नेपाल प्रहरीसँग सीमित स्रोतसाधन छ, त्यसैमा भर परेर काम गर्नुपर्छ', उनले भने, 'तर अपराधीसँग फरक खालको प्रविधि आइसकेको छ। हत्या जस्ता जघन्य अपराधका घटना न्यूनीकरणका लागि स्रोतसाधन बढाउनमा ध्यान दिनुपर्छ।’

अपराधको आयतन मापन नहुँदा घटना

तर यसबारेमा सुरक्षाविदहरु फरक धारणा राख्छन्। नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल कुनै पनि घटनाको आयतन मापन गर्न नसक्दा समस्या भइरहेको बताउँछन्।

‘कुनै घटना भएपछि प्रहरीमा नै पहिले खबर आउँछ, कतिपय घटनाको अपराधको आयतन मापन प्रहरीले गर्न सक्दैन', उनले भने, 'जसले गर्दा यस्ता घटना हुने गरेका छन्।’ 

यसका अलावा तत्काल गर्नुपर्ने काममा प्रहरी चुक्दा पनि हत्या जस्ता गम्भीर अपराध हुने गरेको उनी बताउँछन्। अर्कोतर्फ प्रविधिमा पनि प्रहरी कमजोर भएकाले हत्या जस्ता घटना बढ्न पुगेको उनले तर्क गरेका छन्। 

‘अहिले प्रहरीमा ठूलो जनशक्ति छ, तर अपराध अनुसन्धानका लागि खटाउने संख्या एकदमै कम छ', उनले भने, 'यस कारणले पनि अपराधका घटना बढोत्तरी भइरहेको छ।' 
मल्लले अपराध अनुसन्धानका विषय प्रहरीको प्राथमिकतामा नपरेर पनि घटना बढ्ने गरेको आँकलन गरेका छन्। 

आइजीपी चुप

पछिल्लो समय खबर आउँदा पनि तत्कालै प्रहरी सक्रिय नबनिदिँदा हत्यासहितका अपराधका घटना बढ्दै गएका छन्। प्रहरी अधिकारीहरुको एकपछि अर्को कमजोरीले घटना बढिरहँदा पनि यतिबेला आइजीपी शैलेश थापा क्षेत्री मौन छन्। 

कहाँ कसको कमजोरीले यस्ता घटना बढिरहेका छन्? त्यसलाई पत्ता लगाएर कारबाही गर्ने अधिकार आईजीपीसँग हुन्छ। तर पछिल्लो समय थापा क्षेत्री यस्ता घटनालाई लिएर प्राय मौन छन्। उनले कमजोरी गर्ने अधिकारीमाथि कारबाही या स्पष्टीकरण सोध्न सकेका छैनन्। एक महिनायताका केही गम्भीर घटनामा प्रहरीकै कमजोरी देखिएको छ। तर प्रहरी नेतृत्व यसबारे विवादमा पर्ने डरले मौन बसेको छ।

आफन्तले परिवारका सदस्य बेपत्ता भएको सूचना दिँदा पनि तत्कालै ‘एक्सन’ मा नजाँदा हत्यासम्मका घटना भएका देखिन्छन्। तर अहिलेसम्म प्रहरी महानिरीक्षकको सचिवालयले त्यसबारे कुनै ठोस कदम चालेको छैन। सर्वेन्द्र खनालकै शैलीमा चलेको भन्दै आलोचना भइरहेका बेला आइजीपी थापा मौन बसेका छन्।

  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १९:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया